१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

अवैध क्रसर ‘प्रहरी सेटिङ’मा सञ्चालन

फाईल तस्बिर

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंसिरमा गरेको अनुगमका क्रममा आठवटा क्रसर उद्योगहरू मापदण्डविपरीत सञ्चालनमा रहेको पाइयो। सहायक प्रमुख जिल्ला अधिकारी रोम महतको अनुगमन समितिको प्रतिवेदनका आधारमा प्रशासन कार्यालयले पुस १ गते आठवटा क्रसर उद्योग बन्द गराउन प्रहरीलाई पत्राचार गर्‍यो।  

प्रहरीले भने प्रशासन कार्यालयको निर्देशन अटेर गरिरहेको जनाइएको छ। अवैध क्रसरहरू निर्वाध सञ्चालन भइरहेका छन्। प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मी अनुगमनका क्रममा मापदण्डविपरीत सञ्चालित क्रसर उद्योगहरू बन्द गराउन प्रहरीलाई पत्राचार गरिएको बताउँछन्। ‘मापदण्डविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगको नाम–ठेगानासहित बन्द गराउन र अन्य आवश्यक कारबाही गर्न प्रहरीलाई पत्राचार गरेका हौं,’ प्रजिअ रेग्मीले भने, ‘अझै पनि त्यस्ता क्रसर उद्योगहरू सञ्चालनमा रहेका खबरहरू आइरहेका छन्।’  

पूर्वी सुर्खेतको लेकबेंसी नगरपालिका–१ स्थित खहरेखोला किनारमै भेरी एग्रिग्रेड एन्ड रिफाइनरी उद्योग छ। बालुवा प्रशोधन उद्योगको अनुमति पाएको त्यसले क्रसर उद्योग पनि सञ्चालन गरिरहेको छ। उद्योगबाट एक किलोमिटरको दूरीमा दुईवटा प्रहरी चौकी छन्। उद्योगको आवाज यी दुवै प्रहरी चौकीसम्मै सुनिन्छ।  

प्रशासन कार्यालयको निर्देशनअनुसार उक्त क्रसर उद्योग बन्द गराउनुपर्ने प्रहरी नै त्यो उद्योग नदेखेझैं गरिरहेको छ। क्रसर उद्योगीसँग प्रहरीको मिलेमतो रहेका कारण प्रशासनको निर्देशन पालना नभएको बताउँछन्। ‘क्रसर उद्योगनजिकै सडक छ, दैनिक प्रहरीको ओहोरदोहोर हुन्छ,’ एक स्थानीयले भने, ‘क्रसर उद्योगीसँग प्रहरी मिलेको भएकाले प्रशासनको निर्देशन कार्यान्वयन भएको छैन।’

यस्तै भेरीगंगा र गुर्भाकोट नगरपालिकाको सिमाना गोचेखोलामा हाम्रो निर्माण सेवाले क्रसर उद्योग सञ्चालन गरिरहेको छ। छिन्चु–जाजरकोट सडकबाटै यो अवैध क्रसर उद्योग देखिन्छ। नजिकैको बजार जहरे र मेहलकुनामा प्रहरी चौकी छ। खोलासँग जोडिएको क्रसरका कारण यहाँका तीन गाउँको खानेपानीको मुहानै धमिलो हुन्छ। स्थानीयले खोला किनारबाट क्रसर उद्योग हटाउन स्थानीय सरकार र प्रहरीलाई पटकपटक अनुरोध गरेका छन्।

 प्रशासनले नै क्रसर उद्योग बन्द गराउन र अटेर गरे अन्य आवश्यक कारबाही गर्न पत्राचार गरिसकेको छ। यो क्रसर उद्योग पनि निर्वाध सञ्चालनमै छ। पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–२ स्थित भेरी नदीकिनारमा चारवटा अवैध क्रसर उद्योग छन्। प्रशासन कार्यालयले नामसहित क्रसर उद्योगहरू बन्द गराउन पत्राचार गरेको छ। वडाध्यक्षको अध्यक्षतामा भएको स्थानीयको भेलाले सबै सरोकारवाला निकायमा बस्ती नजिक र नदी किनारका क्रसर उद्योग बन्द गराउन पत्राचार गरेको छ।  

क्रसर उद्योगदेखि एक सय मिटर दूरीमै प्रहरी चौकी छ। प्रहरीकै आँखा अगाडि अवैध क्रसर उद्योगहरू निर्बाध सञ्चालन भइरहेका छन्। रानीघाट प्रहरी चौकीमा कार्यक्रम एक प्रहरी जवानका अनुसार जिल्लाबाटै क्रसर बन्द नगराउन निर्देशन आएको छ। ‘हाकिमले बन्द गराउन निर्देशन दिए एकैछिनमा हामी बन्द गराउन सक्छौं,’ ती प्रहरी जवानले भने, ‘माथि नै सेटिङ मिलेकाले हामीलाई बन्द गराउने आदेश छैन।’ 

प्रशासन कार्यालयले भेरीगंगा नगरपालिका–८ स्थित गोचेखोलामा हाम्रो निर्माण सेवा, लेकबेंसी नगरपालिका–१ मा भेरी एग्रिटेक एन्ड सेन्ड रिफाइनरी, लेकबेंसी नगरपालिका–८ स्थित लामा–राजेन्द्र–श्याम एन्ड शंकर जेभी, लेकबेंसी बालुवा प्रशोधन उद्योग, बराहताल गाउँपालिकामा सञ्चालित देउतीमाता बालुवा प्रशोधन उद्योग, महालक्ष्मी किरातेश्वर–केएसके जेभी, केसी बालुवा प्रशोधन उद्योग र सपना–आशिष–श्याम एन्ड शंकर जेभीले सञ्चालन गरिरहेका क्रसर उद्योगहरू बन्द गर्न प्रहरीलाई निर्देशन दिएको थियो।

प्रकाशित: १८ माघ २०७७ ०२:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App