४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

नेपालीबाटै ठगिन्छन् बिरामी नेपाली

बिरामी भएकी रुकुमपश्चिम चौरजहारी नगरपालिकास्थित नुवाकोटकी शशिकला सार्की अचेत थिइन्। गाउँकै एकजनाले उनलाई उपचारका लागि भारतको लखनउ जान सुझाउँछन्। सोहीअनुसार लखनउ पुग्दा नेपालीभाषीजस्ता देखिनेसँग भेटघाटसँगै चिनजान हुन्छ। दाङ घर बताउने नेपालीभाषीले शशिकलाको उपचारमा सहयोग गर्ने बताउँछन्। त्यसपछि शशिकलाका पति भीम विश्वास गर्छन् र उनलाई सहयोगीका रूपमा लिन्छन्। पछि स्वास्थ्य परीक्षण गर्दादेखि सुत्दा र खाँदासम्म भीम ठगिन्छन्। उनी ठगिनुको प्रमुख कारण थियो, नचिनेको व्यक्तिलाई छिट्टै विश्वास गर्नु।

यदि उनले ती नेपाली भनिनेलाई विश्वास नगरी सिधैं अस्पतालको सम्पर्कमा गएको भए ठगिनुपर्ने स्थिति कमै हुन्थ्यो। डाक्टरले भनेअनुसार स्वास्थ्य परीक्षण हुनुपर्ने हो तर शशिकलालाई सिधैं ल्याबमा लगियो र विभिन्न स्वास्थ्य परीक्षण गरियो। उक्त स्वास्थ्य परीक्षण कामयाबी भएन। अन्ततः उनी उक्त दलालीबाट उम्किएर आफैं अस्पतालसम्म पुगे। ‘दलालीले स्वास्थ्य परीक्षण त परको कुरा खाना र सुत्नमा समेत ठग्यो,’ उनी भन्छन्, ‘नेपाली भनेर छिनभरमै विश्वास गरे। पछि आफैं ठगिए।’ लखनउका आश्रममा एक रात सुतेको एक सयदेखि दुई सय रुपैयाँ लाग्छ तर भीमबाट उक्त दलालीले तीन सय रुपैयाँ असुल गरे तर भीम एक सय रुपैयाँ लाग्ने कोठामा बास बसेका थिए।

उनीजस्तै दाङका सन्तोष चौधरी पनि लखनउमा उपचार गराउन जाँदा ठगिए। अस्पतालले होइन लखनउमा बसेर दलाली गर्ने नेपालीबाट सन्तोष पनि ठगिन पुगे। ‘म पनि अस्पतालभन्दा पहिला नेपाली दलालको सम्पर्कमा पुगें,’ उनले भने, ‘त्यहाँ मलाई दुई हजारसम्म भारतीय रुपैयाँ ठगी गरे।’ उनीहरू मात्र होइन, उपचारका लागि नेपालबाट लखनउसम्म उपचार गर्न आउने नेपाली नेपालीबाटै ठगिने गरेका छन्। भारतमा नेपालीपन देखाएर सहयोग माग्न खोज्दा आफूहरू ठगिने गरेको उनीहरू बताउँछन्। लखनउमा विशेषगरी कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बासिन्दा उपचार गराउन आउने गर्छन्। उपचार भरपर्दाे हुने विश्वासले उनीहरू उपचारका लागि लखनउसम्म पुग्छन्।

लखनउका कतिपय अस्पतालमा नेपालीले क्यान्टिन (चमेना गृह) समेत सञ्चालन गरेका छन्। ‘नेपालीपन देखाएर गलत धन्दा चलाउनेबाट नेपाली ठगिने गरेका छन्,’ उपचारका लागि लखनउ पुगेका बाँकेका सोहराब अली भन्छन्, ‘नेपाली भन्नासाथ विश्वास गर्नु हुँदैन।’ सिधैं सम्बन्धित ठाउँ जानु पर्ने र सोधपुछ गरेर काम गर्दा ठगीबाट जोगिन सकिने उनको भनाइ छ। दैनिक दर्जनौं ठूला उपचार गर्नुपर्ने बिरामी लखनउ पुग्ने गर्छन्। नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको राजधानी लखनउ पश्चिम नेपालको उपचारको भरपर्दाे सहर मानिन्छ। कुन अस्पतालमा उपचार गराउने भन्ने एकिन नहुनु, उपचार गराउने अस्पतालबारे पूर्वजानकारी नराख्नु र भाषाको समस्याले पनि नेपाली नेपालीबाटै ठगिने गरेका छन्। कतिपय नेपालीले लखनउमा बसेर नेपालीलाई ठगी गर्ने धन्दा चलाउँदै आएका छन्। तिनीहरूको सम्पर्कमा पुग्दा जोकोही नेपाली पनि ठगिन्छन्। अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्नुको साटो उल्टै ठग्नु दुःखद भएको नेपालबाट उपचार तथा अन्य कामका लागि लखनउ आएकाहरू बताउँछन्।

प्रकाशित: ८ मंसिर २०७७ ०२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App