२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

अवैध रुपैयाँ र सुनसहित एक भारतीय नागरिक पक्राउ

सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट एक भारतीय नागरिकलाई अवैध रुपैयाँ र सुनसहित बिहीबार साँझ पक्राउ गरेको छ।  

नेपालभारतको सीमा बन्द रहे पनि तस्करीमा संलग्नहरू खुला सीमाको फाइदा उठाउँदै विभिन्न बाटो प्रयोग गरी तस्करी गरिरहेका छन्। प्रहरीले गस्ती बढाए पनि तस्करले प्रहरीलाई छलेर सामान वारपार गर्ने गरेको प्रहरीले जनाएको छ।  

विराटनगर–१७ स्थित इस्लामपुरबाटविहारको अररिया जिल्ला जोगबनी–१३ का २५ वर्षीय दीपककुमार भगतलाई नेपाली रुपैयाँ ६ लाख ६२ हजार ६ सय ५० र २ सय ९० ग्राम बराबर सुनका गहनासहित सशस्त्र प्रहरीले पक्राउ गरेको जनाएको छ।  

‘भगत बारम्बार नेपाल–भारत ओहोरदोहर गरेको देखेर शंका लागी चेक गर्दा उनको साथबाट स्रोत नखुलको नेपाली रुपैयाँ र सुन फेला पार्‍यौं,’ सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले भने, ‘तस्करहरू विभिन्न बाटो प्रयोग गर्ने गरेकाले गस्ती टोली पनि बढाएका छौं। अझ यस जिल्लासँग जोडिएको छिमेकी देशको विद्यानसभाको शनिबार चुनाव हुँदैछ, चुनावका समय सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधिको नियन्त्रणका लागि गस्ती बढाएका छौं।’

सशस्त्र प्रहरीका अनुसार भगतले खुट्टामा टेपले बाँधेर नेपाली रुपैयाँ र कटुभित्र प्लाष्टिकको पोकामा लुकाएर ल्याइएको २४ लाख १२ हजार मूल्य बराबरका सुनका गहना बरामद गरेको हो। भगतका साथबाट सुनका ३७ पिस लकेट, ४ पिस ब्रासलेट, १० पिस झुम्का र २ पिस चुरा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।  

‘भगत हुण्डी कारोबारको पैसा र सुनका गहना बोक्ने भरिया मात्रै हुन सक्छन्,’ एसपी पौडेलले भने,‘फेला परेको रकम र सुनको स्रोत खोल्न नसकेपछि आवश्यक काराबाहीका लागि विराटनगर भन्सार कार्यालय बुझाएका छौं।’

सशस्त्र प्रहरी यस अघि पनि ठूलो मात्रामा अवैध भारतीय र नेपाली रुपैयाँका साथै सुन सीमा क्षेत्रबाट बरामद गरेको छ।

प्रकाशित: २१ कार्तिक २०७७ १४:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App