अनशनरत डा. गोविन्द केसीका माग पुरा गर्न नेपालगन्जस्थित नागरिक समाजका अगुवाले सरकारलाई दवाव दिएका छन्। नेपालगन्जको विपी चोकमा उनीहरुले शुक्रबार अपरान्हतिर विभिन्न पोस्टरसहित सरकारलाई सांकेतिक रुपमा दवाव दिएका हुन्। नागरिक समाज बाँकेको संयोजनमा गरिएको दवाव मुलक कार्यक्रममा कानुन ब्यवसायी, समाजसेवी, सञ्चारकर्मी, ब्यवसायी, राजनीतिककर्मी लगायतको स्वतःस्र्फुत रुपमा सहभागिता रहेको थियो।
सो क्रममा बोल्दै अग्रज कानुन ब्यवसायी प्रह्लादबहादुर कार्कीले सरकार डा. गोविन्द केसीको मागप्रति गम्भीर नभएको बताए। केसीले स्वास्थ्य क्षेत्रमा भएका बिकृती, विसंगतीविरुद्ध पटक पटक अनसन बस्दै आएपछि सरकार उनको माग पुरा गर्न गम्भीर नबनेको नागरिक समाजले जनाएको छ। सरकारले तत्काल केसीका माग पुरा गरी उनको जीवन बचाउनुपर्ने नागरिक समाज बाँकेले आग्रह गरेको छ।
सरकारलाई दवाव दिन शनिबार पनि यहाँका नागरिक समाजले जिल्ला प्रशासन कार्यालय बाँके अगाडी धर्ना दिने भएका छन्। बिहान १० बजे प्रशासन अगाडी धर्ना दिने कार्यक्रम तय भएको उच्च अदालत बार नेपालगन्जका निर्वतमान अध्यक्ष एवम् अभियन्ता बलबहादुर चन्दले जानकारी दिए। सरकाले डा. केसीका माग पुरा नगरे यही असोज २५ गतेबाट बाँकेमा आमरण अनसन सुरु गर्ने पत्रकार एवम् अभियन्ता जयसिंह केसीले घोषणा गरिसकेका छन्।
प्रकाशित: २३ आश्विन २०७७ १४:०६ शुक्रबार