६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

प्रदेश राजधानीमा चोरीका घटना बढ्दै

जिल्ला प्रहरी कार्यालय सुर्खेत। तस्विरः नागरिक

बिहीबार राति कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा तीनवटा चोरीका घटना घटे। दुईवटा मदिरा पसल र एउटा घरमा खसी चोरी भयो। यति मात्र होइन पछिल्लो समय कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा चोरीका घटना बढ्दै गएका छन्।

पछिल्लो समय वीरेन्द्रनगरभित्र संगठित रूपमा चोरीका घटना हुन थालेका छन्। कोरोना भाइरसका कारण युवाहरू बेरोजगार भएको र खर्च व्यवस्थापन नहुँदा उनीहरू चोरी जस्तो अपराधिक कार्यमा संलग्न हुने गरेका छन्। दिनानुदिन चोरीका घटना घट्दै गएपछि व्यापारी र स्थानीयहरू त्रसिद हुँदै आएका छन्। चोरीका घटनामा संलग्नहरू पक्राउ नपर्दा पनि चोरीका घटना बढ््दै गएको व्यापारीहरू भनाइ छ। ‘रातिको समयमा सुनसान हुन्छ,’ व्यापारी तीर्थ सुनारले भने, ‘सोही समयमा चोरीका घटना हुने गरेका छन्।’ प्रहरीलाई झुक्याएर पनि चोरी हुने गरेको उनले बताए।

बन्दाबन्दी (लकडाउन) कार्यान्वय गराउन सर्वसाधारण घरभित्रै हुँदाको मौका छोपेर केही व्यक्तिले चोरीका घटना घटाइरहेको अर्का व्यापारी मदन खड्काले बताए। मुख्य बजारभन्दा भित्रका पसलहरू धेरै चोरीमा पर्ने गरेका छन्। आवश्यकताअनुसार बजारमा सीसीटीभी जडान नहुँदा पनि प्रहरीलाई चोरीमा संलग्नलाई पक्राउ गर्न हम्मेहम्मे भएको छ। ‘पर्याप्त सीसीटीभी छैन,’ खड्काले भने, ‘सीसीटीभी भए चोरीमा संलग्न सहजै पत्ता लाग्ने र कानुनी दायरामा आउँदा घटनामा कमी आउन सक्थ्यो।’

प्रहरीले भने पहिलाभन्दा अहिले घटना कमी आएको दाबी गर्छ। पछिल्लो समय चोरीका घटनामा कमी आएको छ तर शून्य अवस्थामा नभएको नगर प्रहरी इन्चार्ज दानसिंह भाटले जनाए। ‘पहिला दैनिक चोरीका घटना हुन्थ्ये,’ उनले भने, ‘अहिले त्यस्तो छैन। सातामा फाट्टफ्ट्ट भइरहेका छन्।’ चोरीमा संलग्न बालबालिकालाई बालगृहमा राखेपछि चोरीका घटनामा कमी देखिएको उनको भनाइ छ। उनका अनुसार पछिल्लो एकसातामा चारवटा चोरीका घटना घटेका छन्। अहिले लागूऔषध सेवनकर्ताहरू चोरीमा संलग्न देखिएको प्रहरीले जनाएको छ। ‘लागूऔषध सेवन गर्न आमाबुवाले पैसा दिँदैनन्, दिनु पनि भएन,’ उनी भन्छन्, ‘त्यसपछि चोरी गर्न थाल्छन्।’ चोरीका घटना घटाउन लागूऔषध सेवन कमी गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: २० भाद्र २०७७ ०९:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App