४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना त्रास : कारागारमा कोरोनाको उच्च जोखिम

केन्द्रिय कारागारबाट कोरोना संक्रमित महिलालाई आइसोलेसन सेन्टरमा लैजाँदै स्वास्थ्यकर्मी। तस्बिर : दिपेश श्रेष्ठ

केन्द्रीय कारागार सुन्धारामा राखिएका दीर्घरोगी कैदीबन्दीहरुको नियमित स्वास्थ्य जाँच नगराउँदा समस्या देखिएको छ। कारागार प्रशासनले पछिल्लो समय कारागार क्षेत्रमा संक्रमण देखिएपछि नियमित स्वास्थ्य जाँच गराउन छाडेको थियो। सोमबार राती र मंगलबार बिहान गरी मृत्यु हुने ४ जना कैदीबन्दी पनि नियमित उपचारमा गइरहनु पर्ने विरामी थिए। उनीहरु किड्नी, सुगर प्रेसरका विरामी थिए। मृत्यु भएका मध्ये एक जनामा कोरोना पुष्टि भएको छ।  

देशभरका सबै जसो कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ। जसका कारण पनि काराकार अहिले कोरोना संक्रमणको उच्च जोखिममा रहेको विज्ञहरु बताउँछन्।

मृत्यु हुनेमध्ये एकजना ४० वर्षीय र अन्यको उमेर ५० वर्षभन्दा माथि छ। कारागार प्रशासनका जेलर लक्ष्मी प्रसाद बाँस्कोटाले पछिल्लो समय कोरोना संक्रमणका कारण कैदीहरुमा त्रास बढेको बताए। उनले अस्पताल लैजाने अवस्था सहज नभएकाले कारागारभित्रै रेखदेख गरिएको बताए। ‘हामीले भित्री रुपमा राम्रोसँग ख्याल राखेकै थियौं, मृत्यु हुनेमध्ये सबै दीर्घरोगी छन्, पछिल्लो समय उपचार गराउन लैजाने अवस्था सहज छैन, उपचार गराउन लैजाँदा सुरक्षाकर्मीमै संक्रमण देखियो,’ उनले भने।  

केही गम्भीर रोगीहरुलाई अस्पताल लैजाने क्रममा सुरक्षाकर्मीमा समेत कोरोना देखिएपछि अन्य रोगीहरुलाई अस्पताल लैजान छाडिएको छ। उनीहरुको स्वास्थ्य नियमित जाँच गराउनुपर्ने भएता पनि कोरोना फैलिएपछि ती विरामीहरुले उपचार पाएका थिएनन्। मृत्यु भएका एकजनाको कोरोनो पोजेटिभ देखिएको छ। अन्यको स्वाव संकलन गरिएको छ।  

त्यस्तै, कारागारभित्र ३० जना कैदीबन्दीमा ज्वरोको लक्षण देखिएको छ। कारागारमा ८५ जना दीर्घरोगी रहेका छन्। मानसिक तथा अन्य रोग लागेर औषधि सेवन गर्नुपर्ने अवस्थाका ४ सय विरामी रहेका छन्। कारागार क्षेत्रमा संक्रमण बढेपछि त्रास बढेको छ। सुरक्षाकर्मी र कैदीबन्दी गरी हालसम्म १ सय ९ जना संक्रमित भएका छन्। ३ सय ६५ जनाको स्वाब संकलन गर्दा १ सय ९ जनामा संक्रमण देखिएपछि कारागारभित्र उच्च सावधानी अपनाइएको छ। हाल कारागारमा ३ हजार २ सय ७१ जना कैदीबन्दी रहेका छन्।  

 

 

प्रकाशित: १६ भाद्र २०७७ ०९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App