१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
समाज

उपत्यकामा पानीको उत्पादन बढेसँगै वितरण बढ्यो

काठमाडौँ उपत्यकामा पानीको उत्पादन बढेसँगै यसको वितरण बढाइएको छ। सुख्खा मौसममा उपत्यकामा दैनिक नौ करोड लिटर पानी उत्पादन हुन्छ। त्यतिबेला नौ दिनकोे अन्तरालमा पानी वितरण हुने गरेकामा अहिले तीनदेखि चार दिनको अन्तरालमा पानी वितरण भइरहेको छ। त्यस्तै सार्वजनिक ट्याङ्की र  धारामा पनि उपलब्ध भएअनुसार पानी वितरण गरिँदै आइएको छ।  

विगतका वर्षहरुमा जस्तै सुख्खा मौसमभन्दा वर्षायाममा बढी परिमाणमा पानी उत्पादन हुने र उपत्यकाका अरु स्रोतबाट पनि पानी थप भएकाले पानीको उत्पादन बढेको बताइएको छ। यो वर्ष केही पुरानो ट्युववेलको मर्मत र केही नयाँ निर्माण गर्दा दैनिक दुई करोड लिटर पानी थप भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका कार्यकारी निर्देशक मिलन शाक्यले बताए। “अहिले दैनिक १७ करोड लिटरसम्म पानी उत्पादन भइरहेको छ”, उनले भने, “ वर्षाका कारणले पनि भदौसम्म पानी उत्पादन बढी हुन्छ।”

लिमिटेडले उपत्यकाका विभिन्न स्रोतका पानी सङ्कलन गरेर वितरण गर्दै आएको छ। उपत्यकाका स्रोतबाट मात्रै पानी पर्याप्त नहुँदा उपत्यकामा सधैँ पानीको हाहाकार भइरहेको छ। दुई दशकभन्दा लामो समयदेखि निर्माणाधीन मेलम्ची खानेपानी आयोजनालाई काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका उपायका रुपमा हेरिएको थियो। मेलम्ची खानेपानी आयोजनाले सुरुङ परीक्षण गर्दा भएको दुर्घटनापछि मेलम्चीको पानी आउन अझै ढिलाइ हुने देखिएको छ।  

लिमिटेडले विभिन्न स्थानमा ट्युबवेल खन्ने, पुरानाको मर्मत र उपत्यका नजिकै स्रोतको समेत पहिचान गरिरहेको छ। उपत्यकामा दैनिक पानीको माग ४० करोड रहेको छ। उपभोक्ताले लिमिटेडले पूर्ति गर्न नसकेको पानी आकाशे पानी सङ्कलन गरेर र ट्याङ्करमार्फत खरिद गरेर प्रयोग गर्दै आएका छन्। शहरी क्षेत्रमा एउटा घरमा धेरै परिवारको बसोबास भएपनि उपत्यकामा कोभिड–१९ का कारण धेरै उपत्यका बाहिर गएकाले पानीको समस्या कम भएको उपत्यकाबासी बताउँछन्। 

प्रकाशित: ४ भाद्र २०७७ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App