११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

कोरोना संक्रमित बाँकेका ६२ वर्षिय वृद्धको मृत्यु

कोरोना भाइरस संक्रमणबाट बाँकेमा एक वृद्धको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ निवासी ६२ वर्षिय पुरुषको मृत्यु भएको हो।  

स्वास्थ्यमा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका वृद्धको सोमबार राति ११ ः४० बजे मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले जानकारी दिए। मृतककोे फोक्सोमा निमोनिया भएको थियो।  

उनको स्वास्थ्यमा गत साउन ३० गतेबाट लक्षण देखिएकोमा साउन ३२ गते मेडिकल कलेजमा भर्ना गरिएको थियो। भर्ना लगत्तै उनलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा पिसिआर जाँचका लागि स्वाब लिइएको थियो।  

भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर जाँचबाट सोमबार दिउँसो ३ बजे उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। राति दुबै साइडको फोक्सोमा निमोनिया भएर मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले बताए।

यो सँगै बाँकेमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४ पुगेको छ। यसअघि बाँकेको नरैनापुर गाउँपालिका, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिका निवासी ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

प्रकाशित: २ भाद्र २०७७ ०४:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App