११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

अपहेलित बन्दै कोरोना संक्रमित

रोगभन्दा समाजको डर

बिरामीको उपचार गर्दागर्दै एक वरिष्ठ बालरोग विशेषज्ञ कोरोना संक्रमित भए। पिसिआर रिर्पोटपछि उनी घरभित्रै बसे। तर, आफंै सजग र जिम्मेवार भएर घर बसेका उनलाई छिमेकीहरूले हौसला दिनुको साटो उल्टै निरुत्साहित बनाए। उनको घरबाहिर टोलकै केही व्यक्ति आएर ‘कोरोना संक्रमितको घर’ लेखिएको बोर्ड टाँसिदिए।

एउटा डाक्टरमाथि वरपरकोे समाजले संक्रमित भएपछि हेर्ने दृष्टिकोण नै बदलियो। भौतिक नभएर भावनात्मक र सामाजिक दूरी ढाटा बनायो। हौसला दिनुपर्ने समाजले झन्् घृणा गरेको भान भएपछि उनले ट्विटमा लेखेका छन्, ‘हामी घरको मूल ढोकाबाट चावी लगाएर, आफैं सिल भएर बसेका छौं। हामीलाई हौसला दिनुको साटो ‘कोरोना संक्रमितको घर’ भनेर फ्लेक्स ब्यानरसहित एक झुण्ड समाजसेवी मेरो घरबाहिर आएको देख्दा म अचम्मित छु। यस्तो मानसिकता भएका छिमेकी हुनुभन्दा नभएकै जाती।’

ललितपुरको महालक्ष्मीस्थानमा डेरामा बस्ने एक युवा पनि यसैगरी समाजको दुव्र्यवहारमा परे। एक साताअघि पिसिआर रिर्पोट पोजेटिभ आएपछि उनी कोठामै बसे। वरपरका कसैलाई भेटेनन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फोन गरेर उनले सुझाव मागे। अस्पतालका कर्मचारीले घरमै बस्नुस््, पर्सि आउँछौं भने। त्यसपछि उनलाई कसो गरौं र के गरौं भन्ने भयो।

एकजना चिनजानका छिमेकी दाइलाई उनले फोन गरे। ती व्यक्ति उनको कुरा सुन्दाबित्तिकै आतंकित भए। उनले छिमेकीलाई वरपरका सबैलाई संक्रमितको बारेमा सुनाए। त्यसपछि टोलका मानिस आएर उनलाई तुरुन्तै आइसोलेसनमा लैजानुपर्छ भन्न थाले। उनी कोठामै बसेका थिए। घरबेटी माथिल्लो तलाबाट तल झरेनन्। घरबाहिर छिमेकीहरूले ठूलो ब्यानर टासिँदिए। तीन दिनसम्म ती युवा डेरामै बसे।

संक्रमित घरमा सावधानीपूर्वक बसिरहेको अवस्थामा घरबाहिर पुगेर ब्यानर टास्ने र उनीहरूलाई कमजोर पार्ने किसिमका कार्य नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। 

हारगुहारपछि अस्पतालको आइसोलेसनमा पठाइएको उनका दाजुश्याम बहादुर थापो बताए। उनले भने, ‘कोरोना संक्रमित भएपछि रोगसँगको डर त छँदैछ, समाजसँग पनि निकै डराउनुपर्ने अवस्था रहेछ, समाजका मानिसले अस्पताल लैजानुस् भनेर निकै कराए, हौसला दिने कार्य गरेनन्।’

कोरोना संक्रमण देखिएपछि सरकारले ठाउँ ठाउँमा सिल गरेको छ। काठमाडौंको कोटेश्वर, न्युरोड, महाबौद्धलगायत क्षेत्र सिल ा छन्। सरकारले टोलभित्र दुईभन्दा बढी व्यक्ति संक्रमित भएपछि टोलको प्रवेशद्वारमै कोरोना संक्रमित क्षेत्र लेखिएका व्यानर टाँगेको छ। सरकारले सजग बनाइरहेको बेला स्थानीय र टोलका समाजसेवीले संक्रमितको घरमै लगेर व्यानर टाँस्ने र उनीहरूलाई निरुत्साहित गर्ने कार्य गरेका छन्।

गृह मन्त्रालयले ठाउँ ठाउँमा यसरी संक्रमितलाई निरुत्साहित र कमजोर पार्ने कार्य भएको जानकारी पाएपछि त्यसो गर्नेलाई कारबाही गरिने सूचना जारी गरेको थियो। तर, कोरोना संक्रमित भएपछि हेर्न समाजको दृष्टिकोणमा भने रुढीवादी परम्परा देखिएको छ। समाजका अगुवा र समाजसेवीले नै संक्रमितलाई निरुत्साहित पार्ने कार्य गरेका छन्। यसले कोरोना संक्रमितको मानसिकता खस्कने देखिएको छ। उनीहरूलाई हौसला र शुभेच्छा प्रकट गर्ने बेलामा यसो गर्दा उनीहरूमाथि दुव्र्यवहार हुने मानसिक रोग विशेषज्ञहरू बताउँछन्।

संक्रमित घरमा सावधानीपूर्वक बसिरहेको अवस्थामा घरबाहिर पुगेर ब्यानर टास्ने र उनीहरूलाई कमजोर पार्ने किसिमका कार्य नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। अझ फ्रन्टलाईनमै खटिएर काम गर्नेमाथि त्यस्तो व्यवहार गरे तुरुन्तै कारबाही हुन्छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितलाई समाजले हेला गर्ने र हेप्ने कार्य कदापि गर्न नहुने बताए। उनले सुरुदेखि नै गलत दृष्टिले हेर्दा भोलि यसले समाजमा ठूलो असर पार्ने उनको भनाइ छ। ‘संक्रमितलाई माया गरौं, आफू जोगिएर सक्दो सहयोग गरौं, तर निरुत्साह, कमजोर र मनोबल गिराउने कार्य नगरौं यसो गरेका सूचना पाउनेबित्तिकै सरकारले कारबाही गर्छ,’ उनले भने।

त्रिवि शिक्षण अस्पतालका डाक्डर सन्तोष केसीले कोरोनाबारे चेतना भएका व्यक्तिहरूले नै संक्रमितहरूलाई अपमान र घृणा गर्ने गरेको बताए। उनले अरूले गर्ने व्यवहारका कारण पनि बिरामीमा ठूलो असर पर्ने भएकाले त्यसरी निरुत्साहित पार्ने कार्य गर्नेलाई सरकारले नै सजायको व्यवस्था गर्नुपर्ने जानकारी दिए। ‘कोही पनि जानेर संक्रमित भएको होइन, समुदायस्तरमै संक्रमण फैलँदो छ, आफूले जस्तो व्यवहार गरिन्छ भोलि त्यस्तै व्यवहार पाइन्छ, त्यसैले घृणाजन्य कार्य नगरौं,’ उनले भने।

जनस्वास्थ्यविद् डाक्टर रवीन्द्र पाण्डेले संक्रमितलाई कमजोर बनाउने र मनोबल खस्कने कार्य नगर्न आग्रह गरे। ‘कोरोना संक्रमण बढ्दैछ, समाजमा डर पनि उत्तिकै छ, दूरी कायम राखेर संक्रमितलाई सक्दो रेखदेख गरौं, घृणा र अपमानजनक व्यवहार नगरौं,’ उनले भने।

प्रकाशित: ३१ श्रावण २०७७ ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App