१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

लकडाउनमा बालबालिका : पहिले विद्यालय, अहिले खेतबारी

फाइल फाेटाे ।

पातारासी ४ का गणेश बोहोरा एसइई तयारीमा थिए । हिउँद महिना निकै मेहनतका साथ अध्ययन गरेका उनले एसइई दिन पाएनन् । कोराना भाइरसका कारण सरकारले एसइई परिक्षा गर्न नसकेपछि उनी अहिले घरको खेतबारीमा ब्यस्त छन् । अहिले उनी बाख्रा चराउन जंगल जाने गर्छन् । लकडाउनको पुरै समय बाख्रा संग बितिरहेको छ ।  

फुर्सदको समयमा रेडियो सुन्छु । यहाँ टिभी अनलाइनको सुविधा छैन् । सुविधा सम्पन्न ठाउँमा  टिभी, अनलाइनमा पढाइ भइरहेको सुन्दा निकै पश्चाताप हुने गरेको छ । उनले भने, ‘लकडाउनले दुर्गमका बालबालिकालाई पढाइबाट बञ्चित गराएको छ । सुगमकालाई राम्रो । ’

राम्रो संग फोन नलाग्ने, टिभी र इन्टरनेटले काम नगर्ने दुर्गम ठाउँमा जन्मिएर पछुतो भइरहेको उनी बताउँछन् । सरकार शिक्षा क्षेत्रमा नयाँ प्याकेज ल्याउँछ । त्योे दुर्गमका विद्यार्थीलाई आकाशको फल जस्तै छ । उनले दुख पोखे, ‘मनमा जति पढ्ने इच्छा भए पनि के गर्नु ? स्रोतसाधन केही छैन । मोबाइल चार्ज गर्न त सोलार खोज्दै दिनभरि समय खर्चिनुपर्छ ।’ उनी एक प्रतिनिधिमुलक पात्र मात्र हुन् । जिल्लाका आठ स्थानीय तहका बालबालिका पनि बन्दाबन्दी भएको समयदेखि घरायसी काममा जोतिनु परेको छ । अभिभावकले जे काम गर्छन्, त्यही काममा खटिनु पर्ने अवस्था छ । ’  

पाठ्यपुस्तक हातमा लिएर दैनिक विद्यालय जाने यहाँका अधिकांश बालबालिका बन्दाबन्दीका कारण घरायसी काममा व्यस्त भएका हुन् । कुटो, कोदालो, नाम्लो, डोको, हँसियाको साथमा घाँस, दाउरा संकलन गरी अभिभावकलाई सघाउने काममा रहेको यहाँका बालबालिकाहरू बताउँछन् ।

देशका अन्य सुविधासम्पन्न ठाउँमा इमेल, इन्टरनेट, टिभी र रेडियोबाट शिक्षा आर्जन भइरहेकोछ । दुर्गममा कुनै स्रोत साधन नहुँदा विद्यालयमा पढेको सबै बिर्षिसक्ने बेला भइसकेको छ,उनले भने,‘एकै नासको शिक्षामा समेत पढाईमा भेदभाव हुदाँ चित्त भक्कानिएर आउँछ । ’

महादेव आधारभुत विद्यालय तिर्खुका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हंसवहादुर बोहोरा बन्दाबन्दीले बालबालिकाको पढाई चौपट भइरहेको बताउँछन् । यो बीचको समय विद्यालय बन्द छ,त्यसैले यहाँका बालबालिका गाई, गोरु र भैँसीका लागि घास संकलन गर्नेदेखि घरवरीपरी लगाएको स्याउबारी गोडमेल गर्ने गर्छन् । विद्यालय बन्द हुँदा दिनभरि घरायसी काम गरेर समय बित्छ । बाबाआमालाई विभिन्न काममा सघाउने गरेको विद्यार्थीहरू बताउँछन्।

स्कूलभरि क्वारेन्टिन बनाएर भारतबाट आएका मान्छे बसेका छन्। अहिले विद्यालय प्रहरी, जनप्रतिनिधिको घेराबन्दीमा परेको छ । बिहानै बाख्रा चराउन जङ्गलमा जाने र उत्तैबाट भैँसीलाई घाँस संकलन गरेर ल्याउने काम गरेर दिन बित्ने गरेको महादेव आधारभुत विद्यालय कक्षा ३ मा अध्ययनरत छात्रा सीता बोहोरा बताउँछिन् ।

पहिले विद्यालयमा पढेर दिन बितिरहेको हुन्थ्यो, अहिले पशुचौपायसँग दिन बित्ने गरेको छ । उनले भनिन् ‘मकै गोडमेल देखि घरमा खाना बनाउने सम्मका काममा अधिकांश विद्यार्थीले अभिभावकलाई सघाइरहेका छन् । पढ्ने उमेरका बालबालिका यो समयमा सबैभन्दा प्रभावित छन् । ’

बन्दाबन्दीदेखि नै किताबसँग भेट हुन छाडिसकेको छ । गाउँ, गाउँमा रेडियोकोे समेत पहुँच नहुँदा कहाँ के भएको छ, सजिलै थाहाँ हुदैन् । स्थानीय गाउँलेहरूले बजारबाट फर्किएपछि त्यहाँ सुनेको जानकारी गाउँमा आएर बताउँछन् । यो दुर्गम ठाउँमा सूचना वा सन्देश हो ।  

बजार बन्द भएका कारण गाउँलेहरू सजिलै जान र आउनसक्ने अवस्था नहुँदा सामान्य जानकारी पाउन दुईदेखि तीन दिनसम्म पर्खनु पर्ने अवस्था दुर्गमका बालबालिकाको छ । नयाँ पाठ्यपुस्तक विद्यार्थीको हातमा परेको भए स्वअध्ययन गरेर ज्ञान आर्जन गर्न सकिने अवस्था हुन्थ्यो । सदरमुकाम खलङ्गा र अन्य स्थानीय तह नजिकको ठाउँमा मात्र इन्टरनेट सेवा उपलब्ध छ ।  

विद्यालयमा जोडिएका इन्टरनेटबाट जानकारी लिने विद्यार्थी त्यहाँ क्वारेन्टिन निर्माणपछि कोरोनाको त्रासले जान सकेका छैनन्। आधारभूत र मावि तह मात्र होइन, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई समेत हैरानी हुँदै आएको छ ।  

जुम्लाका अहिले तीन हजारभन्दा बढी बालबालिका घरायसी काममा अभिभावकसँग खटिने गरेका छन् । जुम्लामा मात्र होइन, छिमेकी जिल्ला डोल्पा, मुगु, हुम्ला र कालिकोट जिल्लाका अधिकांश विद्यार्थीको समय अहिले घरायसी काम गरेर बितेका छन् ।  

बन्दाबन्दीले दुई प्रकारका शिक्षाको विकास गरेको अभिभावकहरूको बुझाइ छ । पहुँच र प्रविधिसँग नजिक भएका विद्यार्थी दैनिक पढिरहेका छन् ।  दुर्गमका विद्यार्थी घरायसी काममा व्यस्त हुँदा शैक्षिक उपलब्धिमा घाटा भएको छ । कसैले घाँस दाउरा, पशु चौपायसँग दिन बिताएका छन् भने कसैले सधैँ इन्टरनेटको माध्यमले ज्ञान आर्जन गरिरहेका छन् । विद्यालय खुल्ने समय एकिन हुन नसक्दा विद्यार्थी निकै चिन्तित छन् ।

प्रकाशित: ६ असार २०७७ १३:१४ शनिबार

विद्यालय लकडाउन बालबालिका