बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट क्वारेन्टिनमा किरियापुत्री बसेका छन् । बुवाको मृत्यु भएपछि उनी क्वारेन्टिनमै किरियामा बसेका हुन् । चार दिन अघि रतको दिल्लीबाट फेर्कर गाउँकै भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा किरिया बसिरहेका छन् ।
बुबा चिन्तामणिको ६ दिनअघि निधन भएपछि उनले क्वारेन्टिनमै किरिया सुरु गरेका छन् । किरियापुत्रीलाई पनि घरमै बस्न नदिएको दुखेसो उनले पोखे । घरमै बस्ने व्यवस्था मिलाउन गाउँपालिकालाई अनुरोध गरे पनि घर पठाउन नमानेको स्थानीयबासी केशव भट्टले जानकारी दिए ।
भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने निर्देशनअनुसार नै उनलाई क्वारेन्टिनमा राखिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए । उनको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए ।
यसअघि गत जेठ दोस्रो साता मेलौली नगरपालिका–७ पच्कोराका रामसिंह रावत पनि आफ्ना बुवाको किरिया क्वारेन्टिनमा बसिसकेका थिए ।
प्रकाशित: ६ असार २०७७ ०७:१२ शनिबार