२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

मृतक महिलाको सम्पर्कमा रहेका ५३ मा कोरोना देखिएन

कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालमा पहिलो पटक ज्यान गुमाउने सुत्केरीका गाउँलेको थ्रोट स्वाब परीक्षण रिपोर्ट आउन थालेको छ । मंगलबार ५३ जनाको रिपोर्ट आएकोमा उनीहरुलाई कोरोना संक्रमण देखिएन ।  ‘रिपोर्ट आउन थाल्यो । ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ,’ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नागरिकसँग भने । उनका अनुसार राष्ट्रिय जनप्रयोगशाला टेकुमा मृतकका सम्पर्कमा रहेका स्थानीयको थ्रोट स्वाब परीक्षण गरिएको हो । आइतबार ५६ जनाको स्वाब संकलन गरी पठाइएकोमा तीनको मात्र रिपोर्ट आएन । पुनः परीक्षणका लागि उनीहरुको स्वाब संकलन गरिएको प्रजिअ ढकालले जनाए ।  

मृतकलाई बोक्ने एम्बुलेन्स चालकदेखि, उनको उपचारमा खटिने स्वास्थ्यकर्मी, आफन्त, छिमेकी र स्थानीयसम्म एक सय ९७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । अझै एक सय ४४ को रिपोर्ट आउन बाँकी छ । बुधबारसम्म सबैको रिपोर्ट आउन सक्ने प्रजिअ ढकालले बताए । यसअघि नै मृतक महिलाको प्रत्यक्ष सम्पर्कमा रहेका उनका नबजात शिशु, श्रीमान्, आमा, भाइ र बहिनीको रिपोर्ट नेगेटिभ आइसकेको छ ।  

महिलाले ज्यान गुमाएको धुलिखेल अस्पतालमा उनीहरु थ्रोट स्वाब परीक्षण गरिएको थियो । धुलिखेल अस्पतालमा बिहीबार ज्यान गुमाएकी बाह्रविसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको मृत्यु कोरोना भाइरसको कारण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको थियो ।  मृत्यु हुँदा महिला १० दिनको सुत्केरी थिइन् । महिलाको घर रहेको बाह्रविसे नगरपालिका–९ र माइती रहेको बलेफी गाउँपालिका–७ र ८ र सुरुमा उपचार गरिएको प्राथमिक स्वास्थ्य केन्द्र शुक्रबारदेखि नै सिल गरिएको छ ।  

स्वास्थ्य केन्द्र बन्द गरिएको छ भने स्वास्थ्यकर्मी सेल्फक्वारेन्टाइनमा छन् । उनीहरुको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा रिपोर्ट आइसकेको छैन । रिपोर्ट नआएसम्म केन्द्र बन्द रहने त्यहाँ कार्यरत डा। मिसान्ता शर्माले बताइन । उनले नै महिलाको प्रारम्भिक उपचार गरी धुलिखेल पठाएकी थिइन् ।  

स्वास्थ्य कार्यालय, धुलिखेल अस्पताल र विश्व स्वास्थ्य संगठनको समूह र बागमती प्रदेश सरकारको बिज्ञ चिकित्सकसहितको सहितको टोलीले आइतबार र सोमबार मृतकको सम्पर्कमा रहेकाहरुको कन्ट्राक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिएको थियो ।  

प्रकाशित: ६ जेष्ठ २०७७ ११:०७ मंगलबार

कोभिड १९ कोरोना सङ्क्रमण