कैलालीको चुरे गाउँपालिका–५ धव्रानीका ४० वर्षीया विश्नादेवी महरा काफल बिक्रीका लागि दैनिक दुई घण्टा हिँडेर भीमदत्त सडक छेउमा रहेको खानीडाँडा बजार पुग्नछिन् ।
आफ्नो बारीमा ६० वटा काफलका बोट फलेर लटरम्म भए पनि महरा भने लकडाउनकका कारण बिक्रीमा समस्या हुँदा निराश छिन् । “यहाँ लुकिछिपी दैनिक १५÷२० किलोग्राम बिक्री गरिरहेकी छु”, आर्थिक अवस्था कमजोर भएका महराले भनिन्, “यसपालि त वनको काफल वनकै चरीलाई हुने अवस्था आयो ।”
गत वर्ष ६० हजार रुपैयाँको काफल एक्लैले बिक्री गरेकी महराले यस वर्ष गाउँभरि फलेको काफल बारी र वनपाखामै सडिरहेको बताइन्। जेठ मसान्तसम्म बिक्री गर्न पुग्ने गरी काफल फलेको भन्दै उनले लकडाउन लम्बिँदै जाँदा समस्या बढ्दै जाने बताइन् ।
“लकडाउन थपिँदै गएर काफल बिक्री भएन भने हामीलाई खाद्यान्न किन्नसमेत यो वर्ष धौधौ पर्छ”, उनले भनिन्, “समस्याका बेला परेको दिने राहत पनि अनुहार हेरेर दिँदा रहेछन् ।” विगत वर्षमा धनगढी र अत्तरियाबाट ठेकेदार त्यहाँ पुगेर दुई सय ५० रुपैयाँ प्रतिकिलोसम्म खरिद गरेर तराई बिक्रीका लागि ल्याउने गरेका थिए । “यसपालि त खानीडाँडामै प्रतिकिलो ८० रुपैयाँमा बिक्री गर्दा पनि खपत भइरहेको छैन”, उनले भनिन्, “गाउँमा सयौँ क्विन्टल फलेको काफल खेर जाँदैछ ।”
चुरे गाउँपालिका–५ धव्रानीका अधिकांश स्थानीयवासीको आम्दानीको स्रोत काफल रहे पनि यसपालि समस्या रहेको स्थानीय ६० वर्षीया महामती धामीले बताएन्। “यतिका वर्षसम्म काफल बेचेर घर खर्च चलायौँ”, उनले भनिन्, “पैसाबाट पनि कोरोना सर्ने हल्लाले काफल बिक्री गर्न डराउने अवस्था रह्यो ।” उनले तराईका जिल्लाको तरकारी खपतको प्रबन्ध मिलाएजस्तै पहाडको काफल बिक्रीमा सहज गर्नुपर्ने माग गरिन्।
कैलालीको अत्तरिया बजारबाट झण्डै डेढ घण्टाको यात्रामा पुगिने खानीडाँडामा यसपालि तराईबाट समेत लकडाउनका कारण गर्मी छल्न जाने कमी रहेको धामीले बताइन् । विगतका वर्षहरुमा एउटै परिवारले डेढदेखि दुई लाख रुपैयाँसम्मको काफल बिक्री गर्ने उनको भनाइ छ । “अहिले त काफल बारीमा बिस्कुन भिजाएजस्तो भएको छ”, उनले भनिन्, “हाम्रो बारीमा ८० वटा रुखमा काफल पाकेको छ, तराईमा गर्मी हुने मौसम भएकाले यहाँ घुम्न आउने, भ्रमणमा आउने र पहाडी जिल्लाबाट तराई झर्नेहरुले धेरै किन्थे, यस पटक त सबैतिर लकडाउनले ठप्प नै भयो ।”
त्यसैगरी स्थानीय कला धामीले काफल बिक्री नभए घर खर्च चलाउने समस्या हुने बताइन् । “अन्यत्र त समस्यामा रहेका परिवारलाई राहत दिएको सुन्छौँ”, खानीडाँडामा काफल बिक्रीका लागि आउनुभएकी धामीले भनिन्, “हामी गरिबलाई कसले राहत दिने? ।” डडेल्धुरा भीमदत्त सडकको छेउछाउका धेरै स्थानमा बालबालिकासमेत काफल बिक्रीमा बसेका भेटिन्छन् । काफल बेचेर घरको वर्षभरिको अन्न खरिद गर्ने स्थानीय समस्यामा रहेको उनको भनाइ छ । “यो समय काफल बेचेर चामल, गहुँ किन्थ्यौँ”, उनले भनिन्, “यसपालि त न काफल बिक्री भयो न त गहुँ किन्न तराई जानसक्ने अवस्था नै छ ।”
अत्तरिया–डडेल्धुरा भीमदत्त सडक छेउको खानीडाँडा बजार छेउमै पसल सञ्चालन गरिरहनुभएकी स्थानीय पुर्णादेवी विकले पनि जङ्गलबाट टिपेर ल्याएको काफल बिक्रीलाई सहज बनाउनु पर्नेमा जोड दिइन्। “लकडाउनले पसल सबै भन्द छन्” उनले भनिन्, “बाटो छेउछाउमा काफल बिक्रीमा बस्दा पनि सजहता मिलोस् ।” उनले पहाडमा उत्पादन भएको तरकारी बिक्रीमा समस्या रहेको बताइन् ।
सडक छेउमा काफल बिक्री गरिरहेका खानीडाँडाको सूर्यज्योति बोर्डिङ स्कूलमा कक्षा–२ मा अध्ययनरत सन्देश विकले काफल बिक्रीबाट आएको आम्दानीले कापी, कलम खरिद गर्ने गरेको बताए। “लकडाउनले स्कूल कहिले लाग्ने भन्ने ठेगान छैन”, उनले भने, “यसपालि बनबाट ल्याएको काफल बजारसम्म पुर्याउन गाह्रो छ ।” कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोका मगरले गाउँपालिकाको सजहपुर, निगाँली, खानीडाँडा, खैराला क्षेत्रमा काफल व्यापक फलेको बताए । “काफल बिक्री वितरण सहजताका लागि प्रशासनसित समन्वय गरिरहेको छु”, उनले भने, “किसानले काफल बेच्न पाए हामीलाई राहत वितरण गर्न पनि सजिलो हुन्थ्यो ।”
प्रकाशित: ५ जेष्ठ २०७७ ०७:३९ सोमबार