७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कालिकोटको पलाँतामा स्थानीय सरकारविरुद्ध प्रदर्शन

जुम्ला- कालिकोट जिल्लाको पलाँता गाउँपालिकामा स्थानीय सरकारविरुद्ध प्रदर्शन गरिएको छ । गाउँपालिकाको  खिन र धौलागोहका स्थानीय नागरिकले स्थानीय सरकारकाविरुद्धमा नाराबाजी गरेका हुन् । पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम, नेकपा गाउँकमिटीका अध्यक्ष ईन्द्र रोकाया र १ वडाका अध्यक्ष मानबहादुर भण्डारीबीच कुटाकुट भएपछि गाउँपालिकामा अशान्ति मच्चिएको छ ।  

कुटाकुटमा गाउँपालिका अध्यक्ष, उनकी पत्नी गोरीकला बम र उनका भतिज गजेन्द्र बम घाइते भएका थिए । सो घटनामा नेकपा पालिका अध्यक्ष र वडा अध्यक्ष पनि सामान्य घाइते भएको थिए । घाइते गाउँपालिका अध्यक्ष बमकी पत्नी गोरिकलाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।  

अध्यक्ष लक्ष्मण बम माथि वडाध्यक्ष भण्डारीले हातपातको सुरुवात गरेपछि दोहोरो झडप भएको थियो । गाउँपालिका अध्यक्ष बममाथि आकर्मण गर्ने नेकपा गाउँपालिका अध्यक्ष बिष्णु रोकाया र वडा अध्यक्ष मानबहादुर भण्डारीलाई ज्यान मार्ने उद्योग मुद्धामा प्रहरीले पक्राउ गरेको छ ।  

घटनामा संलग्न नेतासहित दुईजना युवालाई प्रहरीले पक्राउ गरेपछि पलाँतामा ती नेताको रिहाइको माग गर्दै विरोध प्रद्धर्शनका साथै तीन वडा कार्यालयमा ताला लगाइएको छ । पलाँता गाउँपालिका १, २ र ३ मा ताला लगाउनुका साथै गाउँपालिका अध्यक्षको पुत्ला जलाइएको नेकपाका स्थानीय नेता मनरुप न्यौपानेले जानकारी दिए । उनका अनुसार जनताको पक्षमा बोल्ने नेतालाई झुटो मुद्धा लगाइएको बताउँदै उनीहरु रिहा नभए थप आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन् ।  

गाउँपालिका अध्यक्षको पुत्ला दहन गर्नुका साथै वडा कार्यालयल र शाखा कार्यालयमाथि ढुंगामुडा समेत गरिएको छ । विवादले चर्को रुप लिएको छ भने, सुरक्षा निकाय मौन देखिएको छ । कोरोना कहरका बेला पलाँतामा नेकपाको सरकार र पार्टीबीच भएको विवाका कारण लकडाउनको पनि पालना भएको छैन ।

स्थानीयले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पलाता गाउँ कमिटी अध्यक्ष बिष्णु रोकाया र सोही गाउँपालिका(१) का वडाध्यक्ष मानबहादुर भण्डारीका समर्थकले झुट्टा मुद्धा खारेज गर, भ्रष्ट सरकार चाहिदैन, पलाँता गाउँपालिकाबाट खीन र धौलागोह अलग गर, खाडाका अग्नी पीडितको राहत सार्वजानिक गर, पलाँताको खाता बन्द गर, नेता किन्न पाइदैन जस्ता नाराजुलुस गरेका थिए ।

उनीहरुले गाउँपालिका अध्यक्ष बमले पार्टीका नेताहरु किनेर नेकपा पलाँताका अध्यक्ष बिष्णु रोकाया र वडा अध्यक्ष मानबहादुर भण्डारीलाई मुद्धा लगाइएको आरोप लगाएका छन् । घटनाको सत्यतथ्य छानविन गर्न समेत माग गरिएको छ । नेकपा कालिकोटले गाउँपालिका अध्यक् बिरुद्ध हातपात गर्ने दुबै जनालाइ निलम्बन गरेको छ । घटनाको छानविन गर्न समिति समेत गठन गरेको छ । समितिलाइ १५ दिनको समय उपलब्ध गराइएको छ । 

प्रकाशित: २ जेष्ठ २०७७ ११:४७ शुक्रबार

प्रदर्शन भाइरस