९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

बाँकेको नरैनापुरमा कोरोना संक्रमित भेटिएपछि त्रासमा सर्वसाधारण

संक्रमित आठ जनालाई दाङ लैजाँदै

भारतबाट केहीदिन अघि आएका ब्यक्तिलाई क्वारेन्टाइनमा राखिदै । तस्बिर : नागरिक

भारतीय सिमासँग जोडिएको जिल्लाको नरैनापुरका आठ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । नरैनापुरको ६ वटै वडा नेपाल–भारत सिमासँग जोडिएका छन् । खुल्ला सिमाका कारण संक्रमित ब्यक्ति भारतबाट भित्रिने जोखिम रहेको स्थानीयको भनार्ई छ ।

नरैनापुरसँग जोडिएका छिमेकी गाउँपालिकामा पनि सर्बसाधारण त्रसित भएका छन्। नरैनापुरसँगै जिल्लाको राप्तीसोनारी र डुडुवा गाउँपालिका जोडिएको छ । नरैनापुरका विभिन्न नाकाबाट विगत चार दिनदेखी ठुलो संख्यामा नेपाली नागरिक भित्रिएका थिए । नरैनापुरमा बिहीबार बेलुकीसम्म मात्र ४ सय ४१ जना भारतबाट प्रवेश भएका थिए । काम गर्न भारत पुगेका उनीहरू कोरोना भाइरसका कारण फर्किएका हुन्। भारतबाट फर्केका ब्यक्तिलाई गाउँपालिकाले विभिन्न विद्यालयको क्वारेन्टाइनमा राखेको छ ।

नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाका उप–संयोजक नगेन्द्रकुमार शाहका अनुसार अहिलेसम्म ४५ जनाको स्वाबको पिसिआर परिक्षण गर्दा ८ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो । ‘अहिलेसम्म ४५ जनाको मात्रै पिसिआर टेस्ट भएको छ, अझै धेरै जनाको परिक्षण गर्न बाँकी नै छ,’ उनले भने । कोरोना भाइरस पोजिटिभ भएका ब्यक्ति नरैनापुर गाउँपालिका वडा नम्बर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२, ३६ बर्षका छन् । भेरी अस्पतालमा रहेको प्रयोगशालामा पिसिआर परिक्षण गर्दा पोजिटिभ देखिएको हो । संक्रमित ब्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

संक्रमित भएका मध्ये ६ जना तीन दिनअघि(वैशाख ३० गते) र बाँकी दुई जना एक हप्ता अगाडी भारतबाट अवैध नाका हुँदै नरैनापुरमा प्रवेश गरेका थिए । ‘कोरोना संक्रमित ८ जना मध्ये ६ जना बैशाख ३० गते र दुई जना एक हप्ता पहिले आएका हुन्, उनीहरू सबै क्वारेन्टाइनमा बसिरहेका थिए,’ शाहले भने । संक्रमित आठै जनाको ‘कन्ट्रयाक्ट टे«सिङ’ गरिने उनले बताए । यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी एक जना र वडा नम्बर ८ का २४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको थियो । उनीहरु सबैको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँकेको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।  

संक्रमित आठ जनालाई दाङ लैजादै

नरैनापुरमा देखा परेका कोरोना संक्रमित आठ जनालाई दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको छ । नरैनापुर गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाहले बाँकेमा आइसोलेसन कक्ष खाली नभएपछि दाङको अस्पतालमा लैजान लागिएको जानकारी दिए । ‘नेपालगन्जबाट एम्बुलेन्स पठाएका छन्, दाङ लैजाने तयारी भइरहेको छ,’ उनले भने ।

प्रकाशित: २ जेष्ठ २०७७ ०९:३६ शुक्रबार

प्रदेश ५ लकडाउन कोरोना सङ्क्रमण