प्रदेश ५ मा ६ महिनासम्मका लागि खाद्यान्नको प्रयाप्त मौज्दात रहेको प्रदेश सरकारले जनाएको छ । लकडाउन लम्बिँदै र संक्रमितको सख्या थपिदै जाँदा खाद्यान्न अभाव हुन सक्नेप्रति सरोकारावालाले चिन्ता व्यक्त गरेका छन् । तर प्रदेश सरकारले भने ६ महिनाका लागि खाद्यान्नको अभाव नहुने जनाएको छ । प्रदेशमा खाद्यान्नको अवस्था र आपूर्ति व्यवस्थापनका सम्बन्धमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीको संयोजकत्वमाा उच्चस्तरीय संयन्त्र गठन भएको थियो ।
उच्चस्तरीय संयन्त्र र सो मातहतको समिति तथा प्राविधिक समितिले गरेको अध्ययनअनुसार प्रदेशमा कम्तीमा ६ महिनाका लागि खाद्यवस्तुको अभाव नहुने बताइएको छ । समितिले निजी तथा व्यावसायिक संघसंगठन तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलगायतका सरोकारवाला निकायसँगको छलफल र तथ्यांकको आधारमा ६ महिनालाइ पुग्ने खाद्यान्न मौज्जात रहेको निष्कर्ष निकालेको हो ।
उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले ६ महिना सम्मका लागि प्रदेशमा खाद्यान्न अभाव नहुने बताए । ‘हामीले गरेको प्रारम्भिक सर्वेक्षणले प्रदेशमा कम्तीमा ६ महिना पुग्ने खाद्यान्न मौज्दात छ र प्रदेशका बाह्रवटै जिल्लामा खाद्यान्नको सहज आपूर्तिको व्यवस्था पनि गरिरहेका छांै,’ मन्त्री गिरीले भने ।
उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव राधा वाग्लेका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बुटवल, दाङको तुलसीपुर, बाँकेको नेपालगञ्ज र बर्दियाको राजापुर डिपोमा गरी ५३ हजार क्विन्टल धान मौज्दात छ । कम्पनीको नेपालगञ्ज डिपोमा ३० हजार क्विन्टल चामल पनि मौज्दात रहेको सचिव वाग्लेले जानकारी दिइन् । प्रदेशका व्यावसायिक संघसंगठनका अनुसार अहिले व्यापारीका गोदाम र चामल उद्योगमा धान चामलको स्टक रहेकाले तत्काल खाद्यान्न अभाव हुनेछैन । तर ढुवानी समस्याका कारण पहाडी जिल्लामा निर्यातका लागि समस्या भइरहेको व्यवसायीले बताएका छन् ।
उत्पादनका हिसाबले प्रदेश ५ खाद्यान्नमा आत्मनिर्भर छ । यहाँ उत्पादित अन्नमध्ये करिब ४० प्रतिशत अन्य प्रदेशमा निर्यात हुने गरेको प्रदेशको कृषि मन्त्रालयका सचिव तेजबहादुर सुवेदीले बताए । सचिव सुवेदीका अनुसार प्रदेशमा पौने २० लाख मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । कुल माग चाहिँ १२ लाख मेट्रिक टन छ । प्रदेशका रोल्पा रुकुमलगायतका पहाडी जिल्ला आफैंमा आत्मनिर्भर नभए पनि तराइका ६ जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु, बाँके बर्दिया र दाङ भने खाद्यान्न तेलहन र दलहन बाली उत्पादनका लागि उर्बर जिल्ला हुन् ।
तत्कालाका लािग खाद्यान्न अभाव नभए पनि प्रतिकूल समयले कृषि कर्मलाई असर गर्दा त्यसको प्रभाव आगामी उत्पादनमा पर्नेप्रति सचिव सुवेदीले चिन्ता व्यक्त गरे । समयमै मकै र धानबाली लगाउन सकेनाैं, मल बिउ अभाव भयो र त्यसको व्यवस्थापन गर्न सकेनाैं भने त्यसको असर आगमी बर्ष पर्नेछ’ सचिव सवेदीले भने । त्यसोत प्रदेशमा रुपन्देहीको भैरहवा, नेपालगञ्ज र कपिलवस्तुका मुख्य नाकाबाट अहिले भारतबाट खाद्यान्न आयात भइरहेको छ । भैरहवा देशमै सबैभन्दा धेरै चामल आयात हुने नाका पनि हो ।
प्रकाशित: १ जेष्ठ २०७७ १७:४७ बिहीबार