९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

गाउँपालिका अध्यक्ष कुटपिटको छानबिन गर्न समिति गठन (अपडेट)

जुम्ला- कालिकोटको पलाता गाउँपालिका अध्यक्षमाथि कुटपिट भएको घटना छानबिन गर्न समिति गठन भएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कालिकोटले जिल्ला सचिवालय सदस्य तथा पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालको नेतृत्वमा नेकपाका नेता चन्द्रबहादुर शाही र अग्रबहादुर विष्ट सदस्य रहनेगरी तीन सदस्य छानबिन समिति गठन गरेको हो ।  

सडक निर्माणको बिषयमा विवाद हुँदा गाउँपालिका अध्यक्ष र पार्टीका नेताहरुबीच भएको कुटपिटको घटनाको छानबिन गर्नका लागि छानबिन समिति गठन गरेको नेकपा कालिकोटले जानकारी दिएको छ । पलाँतामा भएको कुटपिटको घटनाको १५ दिनभित्र छानबिनन गरी सत्यतथ्य प्रतिबेदन सार्वजनिक गर्न पार्टीले समितिलाई जिम्मेवारी दिइएको नेकपा कालिकोटका सचिव नगिन्द्र शाहीले बताए ।

सडकको बिषयमा उत्पन्न बिबादका कारण पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, उनकी पत्नी गोरीकला बम र भतिज गजेन्द्र बमलाई कुटपिट गर्ने नेकपा पलाँता गाउँपालिका अध्यक्ष बिष्णु रोकाया र नेकपा जिल्ला कमिटि सदस्य तथा पलाँता गाउँपालिका १ का वडाध्यक्ष मानबहादुर भण्डारीलाई नेकपाले निलम्वन पनि गरेको सचिव शाहीले बताए । छानबिनमा सहज होस भनी घटनासँग सम्बन्धित दुवै जनालाई पार्टीको जिम्मेबारीबाट १५ दिनका लागि निलम्वन गरिएको हो ।

पलाँता गाउँपालिकाका जनप्रतिनिधि र पार्टीका नेताहरुबीच गत शनिबार कुटाकुट भएको थियो । उक्त घटनामा घाइते भएको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम, उनकी पत्नी गोरीकला बम र भतिज गजेन्द्र बमको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।  

गाउँपालिका अध्यक्ष बमका दाजु लंकबहादुर बमले नेकपा पार्टीको बलमा प्रहरीले आफुले दिएको उजुरी नै दर्ता नगरेको दुखेसो पोखे । प्रहरीले मुद्दा दर्ता नगरेको भन्दै प्रहरी चौकी थिर्पुमा स्थानीय नागरिकहरुले नाराबाजी गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी श्यामबाबु ओलीयाले पलाँताको घटनाको बिषयमा अनुसन्धान भइरहेको बताउँदै राजनीतिक केस भएकाले मुद्धा दर्ता नभएको स्पष्ट पारे ।  उनले प्रक्रिया पुगेपछि मुद्दा दर्ता हुने बताए । 

प्रकाशित: ३१ वैशाख २०७७ १२:०२ बुधबार

विविध