३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

बराहताल ‘कोरियन ग्रुपद्वारा’ पार्वतीको उपचारमा सहयोग

कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार गराइरहेकी बराहताल गाउँपालिकाकी पार्वती श्रेष्ठ । नगेन्द्र उपाध्याय/नागरिक

सुर्खेत - गोरुले हानेर घाइते भएकी बराहताल गाउँपालिका–५ बड्डीचौरकी ६९ वर्षीया पर्वती श्रेष्ठको उपचारका लागि बराहताल कोरियन ग्रुपले आर्थिक सहयोग गरेको छ । बैशाख २० गते गोरुले हान्दा श्रेष्ठको बायाँ खुट्टा भाँचिनुका साथै शरिरका विभिन्न ठाउँमा चोट लागेको छ । श्रेष्ठको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

बराहताल कोरियन ग्रुपले श्रेष्ठको उपचारका लागि अभियान चलाएको थियो । तीन दिनमा संकलन भएको तीस हजार पाँच सय रुपैयाँ गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेत र समाजसेवी भिमराज जोल्मीले अस्पताल पुगेर घाइतेका आफन्तलाई हस्तान्तरण गरे ।

सहयोग रकम हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष बस्नेतले हरेक दुःख सुखमा कोरियामा रहेका बराहतालबासी साथमा रहेको बताए । ‘गाउँपालिकाका हरेक नागरिकहरुको दुःख, सुखमा कोरियामा कार्यरत गाउँपालिकाबासी र सम्पूर्ण नेपालीहरुले गर्नुभएको सहयोग र साथ हाम्रा लागि महत्वपूर्ण छ,’ अध्यक्ष बस्नेतले भने, ‘यस्तै साथ र सहयोग आगामी दिनहरुमा पनि निरन्तर भइरहोस् ।’

घाइते पार्वतीकी छोरी विमला श्रेष्ठले उपचारमा आर्थिक समस्या परिरहेका बेला बराहताल कोरियन ग्रुपले गरेको सहयोग आफूहरुका लागि महत्वपूर्ण भएको बताइन् ।

‘बन्दाबन्दी (लकडाउन) का कारण हामीहरु आर्थिक समस्यामा थियौं, भाँचिएको खुट्टाको अप्रेशन गर्न पनि समस्या थियो,’ उनले भनिन्, ‘यो सहयोगले आमाको उपचार गर्न सहज भएको छ ।’ पार्वतीको बुधबार खुट्टाको सफल अप्रेशन गरिएको छ । अझै केही हप्ता अस्पतालमा बस्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।

बराहताल कोरियन ग्रुपका लक्ष्मीनारायण बस्नेतले आर्थिक अभावमा उपचारमा समस्या भएको जानकारी पाएपछि सहयोग गरिएको बताए । ‘बराहतालका नागरिकहरुलाई आइपर्ने समस्यामा सहयोग गर्नका लागि कोरियन ग्रुप गठन गरेका हौं,’ उनले भने, ‘आवश्यकता हेरेर अप्ठ्यारोमा परेका नागरिकहरुलाई सहयोग गर्दै आइरहेका छौं ।

तीन सय माक्स वितरण
रोजगारीका लागि दक्षिण कोरियामा कार्यरत बराहताल गाउँपालिकाका लक्ष्मीनारायण बस्नेत र तुलस गुरुङले गाउँपालिकाका नागरिकहरुका लागि तीन सय माक्स वितरण गरेका छन् । उनीहरुले साढे सात हजारका माक्स खरिद गरेर सामाजिक कार्यकर्ता मुना अधिकारीमार्फत गाउँमा वितरण गरेका हुन् ।

प्रकाशित: २५ वैशाख २०७७ ०५:२० बिहीबार

कोरियन_ग्रुप उपचार सहयोग