२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

दुई हजार ८०० घरधुरीलाई राहत वितरण

वीरगञ्ज -  विगत लामो समयदेखि जारी रहेको लकडाउनका कारण दैनिक ज्यालादारी गरी गुजारा चलाइरहेका दुई हजार ८०० घरधुरीलाई पर्सागढी नगरपालिकाले राहत सामग्री वितरण गरेको छ। नगरपालिकाको वडा नं १ देखि ८ सम्मका अति विपन्नका प्रतिपरिवार चामल २० केजी, दाल दुई केजी, खाने तेल एक लिटर, नुन दुई पोका, हात धुने तथा लुगा धुने साबुन चार थान गरी दुई हजार ८०० घरधुरीलाई सो राहत वितरण गरिएको उक्त नगरपालिकाका अध्यक्ष लोकनारायण यादवले बताए। 

करिब ४५ हजार जनसङ्ख्या रहेको सो नगरपालिकाभित्र ४० प्रतिशत जनता गरिबीको रेखामुनि रहेका छन्। राहत वितरणमा कुनै किसिमको अनियमितता नहोस् भनेर अध्यक्ष यादवले वडास्तरमा गठन भएको सर्वदलीय समितिले सिफारिस गरेको गरिब तथा निमुखा परिवारलाई मात्र राहत वितरण गरिएको दाबी गरिएको छ। वितरण भएको राहतबाट प्रतिपरिवारलाई एकहप्तासम्म खान पुग्ने राहत लिएका उनीहरुले बताएका छन्। 

प्रदेश नं २ सरकारबाट राहत वितरणका लागि प्राप्त भएको १५ लाख रुपैयाँ तथा नगरपालिका कोषबाट  ३० लाख रुपैयाँ गरी हालसम्म ४५ लाख रुपैयाँ मूल्यबराबरको राहत सामग्री वितरण गरिएको बताइएको छ। नगरपालिकाभित्र कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन हरपुर तथा बागेश्वरीमा क्वारेन्टाइन चेक पोष्ट खडा गरिनाका साथै नगर क्षेत्रभित्र सेनिटाइजर र मास्कसमेत वितरण गरिएको छ। पर्सा जिल्लामा रहेका १४ स्थानीय तहले समेत राहत वितरण गरेको सम्बन्धित स्थानीय निकायले जनाएको छ। कतिपय स्थानीय तहमा राहत वितरणमा अनियमितता भएको समेत देखिन्छ। 

यसैबीच प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरका अनुसार हालसम्म आठ जिल्लामा एक लाख ८० हजार ५३३ घरधुरीलाई राहत वितरण गरिएको र सोबाट आठ लाख २३ हजार ५२८ परिवार लाभान्वित भएको सो कार्यालयका प्रहरी निरीक्षक तिलक सुनारले बताए। प्रदेश नं २ मा हालसम्म सात जनामा कोरोना पोजेटिभ देखिएको छ। आइसोलेशनमा २५, क्वारेन्टाइनमा एक हजार ३८० तथा होम क्वारेन्टाइनमा ८७८ रहेको बताइएको छ। लकडाउनको अवधि बढ्दै जाँदा सोबाट दिक्क भएर लकडाउन उल्लङ्घन गर्नेको सङ्ख्या बढ्दै जाँदा सुरक्षाकर्मी कडाइका साथ प्रस्तुत हुँदा हालसम्म लकडाउन उल्लङ्घन गर्ने ६१९ जनालाई तथा लकडाउन उल्लङ्घन गर्ने पाँच हजार ४१६ सवारी साधनलाई नियन्त्रणमा लिएको प्रदेश नं २ प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रकाशित: १४ वैशाख २०७७ ०८:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App