९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

बयान गरेर नसकिने शब्द ‘आमा’

काठमाडौं - आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्न दिन। सेलिब्रेटी होस् या आमसाधारणहरु। आफूलाई जन्मदिने माताप्रति श्रद्धा, सम्मान र माया व्यक्त गरेर मनाएका छन्।

देशमा जारी लकडाउनका कारण भेट हुन नपाएका कतिपयले फोन र सामाजिक सञ्जालको सहायतामार्फत शुभकामना दिएर आमाको मुख हेरेका छन्। त्यस्तै केही नेपाली सेलिब्रेटीहरुले  सामाजिक सञ्जालमा स्टाट्समार्फत आफ्नी आमालाई श्रद्धा र माया व्यक्त गरेका छन्।

नायिका पूजा शर्माले आफ्नी आमासँगको तस्बिर सार्वजनिक गर्दै स्टाट्समा लेखेकी छन्, ‘संसारमा तपाईं एउटी आमा हुनुहुन्छ तर मेरा लागि तपाईं संसार हुनुहुन्छ। यदि प्रेम फूलको जस्तो मीठो छ भने मेरी आमा त्यो मायाको फूल हुनुहुन्छ, आमा नै हुनुहुन्छ जसले तपाईंको हृदयलाई पहिलो स्थानमा राख्नुहुन्छ। आमा तपाईं मेरा लागि सबै चीजहरू हुनुहुन्छ, म तपाईंलाई धेरै माया गर्छु म तपाईलाई छोड्न सक्तिन।’

नायिका केकी अधिकारी लेख्छिन्, ‘यो परिस्थितिमा आमालाई केही दिन नसके पनि मुखै आगाडि भन्न गाह्रो हुने भावनालाई नाटकीय नै लागे पनि चिठीको स्वरुपमा व्यक्त गर्ने कोसिस गरेको , साच्चै खुशी हुनु भो अरु बेला भन्दा पनि, प्रयास गर्नुस त खुशी मिल्छ। आखिर संसार नै ल्याएर आमाको अगाडि राखी दिए पनि आमाले दिएको देनको एक छेउ नि हुन्न।’ उनले यो स्टाट्ससँगै आजको दिनमा आमालाई माया र सम्मानस्वरुप लेखेको चिठ्ठी पनि सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन्। 

त्यस्तै नायक आर्यन सिग्देलले सम्पूर्ण माताहरुमा नमन छ भन्दै आफ्नी आमासँगको तस्बिर राखेका छन्। नायक पल शाहले आमा र बहिनीसँगको तस्बिर सार्वजनिक गर्दै लेख्छन्, ‘संसारकै महत्वपूर्ण माया, आमाको माया।’ त्यस्तै नायिका वर्षा सिवाकोटीले ‘आमा’ लेखेर राखेको तस्बिर पनि सामाजिक सञ्जालमा देख्न सकिन्छ। 

नायिका रेखा थापाले पनि आमाको मुख हेर्ने दिनको शुभकामना भन्दै तस्बिर सार्वजनिक गरेकी छन्। महानायक राजेश हमालले आमासँगको बाल्यकालको तस्बिर राख्दै लेखेका छन्, ‘प्यारी आमा, सधैं मेरो मुटुमा।’ त्यस्तै नायिका सञ्चिता लुइँटेलले पनि आमा र छोराछोरीको तस्बिर सार्वजनिक गर्दै मातातीर्थ औंसीको शुभकामना व्यक्त गरेकी छन्।

निर्देशक प्रदिप भट्टराईले ‘हजारौं किताब लेखे पनि बयान गरेर नसकिने शब्द आमा’ लेख्दै मातातीर्थ औंसीकोशुभकामना दिएका छन्। मातातीर्थ औंसी तथा आमाको मुख हेर्नै दिन, सम्पूर्ण आमाहरु तथा बुवाहरुलाई पनि शुभकामना। मातृ देवो भवः

प्रकाशित: ११ वैशाख २०७७ १५:१८ बिहीबार

आमा मातातीर्थ_औंसी