४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

नाकामा कडाई, हात्ती रुङ्ने टावरमा पनि प्रहरी

काठमाडौं- कोरोना भाइरस नियन्त्रणका लागि बोर्डर सिल भएपछि सरकारले भारत-नेपाल सीमामा थप कडाई गरेको छ। सशस्त्र प्रहरी र नेपाल प्रहरीले सीमा सुरक्षा र आवातजावतलाई ठप्प बनाएका छन्। तराईका अधिकांश क्षेत्रहरुमा सरकार र स्थानीय तहहरुले सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छन्।

पूर्वी नाका मेचिनगर नगरपालिका अन्तर्गतको काकभिट्टादेखी उत्तर क्षेत्रमा स्थानीय वडाहरुको समन्वयमा सुरक्षाकर्मी र स्वयंसेवकहरुको बाक्लो उपस्थिति छ। पूर्वी भन्सार काकडभिट्टामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् भने सो भन्दा उत्तरी क्षेत्रको करिब १६ किलोमिटर सीमामा स्थानीय सहितको गस्ती छ।  लकडाउन अघिसम्म व्यापक चहलपहल हुने राइसिङ,प्रधानगाउँ,प्रसाद गौडा, तिरिङ,नकलबन्दा लगायत स-सना प्रबेश मार्गहरु यति बेला ठप्प छन्।

प्रत्येक ५०० मिटरको अन्तरमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले गस्ती गरिरहेका छन्। मेचि खोला कटानले बनाएको बगरमा वारीपारी गरि चरन गर्ने चौपाय र तिनका गोठाला समेत यतिबेला वारिपारी गर्न मिल्दैन। "हामीले चौपाय चराउन आउने गोठाला र उनिहरुका बस्तुभाउलाई समेत वारीपारी गर्न दिएका छैनौ", गस्तीमा खटिएका प्रहरी अधिकारीले भने। मेचिनगरपालिका वडा न.४ का वडाध्यक्ष नवीन बरालले हात्ती रुङ्न बनाइएका टावरहरु समेत सीमा निगरानीका लागि प्रयोग गरेको बताए। बरालका अनुसार उक्त क्षेत्रमा ९ वटा टहराहरु छन्। उनले भने,"हामीले हाम्रो क्षेत्रमा कसैलाई पनि प्रवेश गर्न दिएका छैनौं,हात्ती रुङ्ने सबै ९ वटा टावरहरुमा प्रहरी र स्थानीय युवाहरु २४ सै घण्टा खटिरहनु भएको छ।" भारतको नक्सल,सिमलतला,खुवाटार,तारावारी हुँदै झापाको मेचिनगर,बुद्धशान्ती र इलामको रोङ गाउँपालिकासम्म भन्सार छलेर कृषीजन्य र अन्य सामाग्रीहरु नेपाल प्रबेश गराउने भएकाले पनि थप कडाई गरिएको अधिकारीहरु बताउँछन्।

प्रकाशित: ४ वैशाख २०७७ १३:०१ बिहीबार

कोरोना_भाइरस कोभिड_१९ सीमाना