४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

‘लकडाउन’को मारमा परेका दुई सय २० परिवारलाई खाद्यान्न

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकाले ‘लकडाउन’को मारमा परेका विपन्न परिवारलाई खाद्यान्न प्रदान गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको ‘लकडाउन’का कारण ज्यालादारीको काम गर्न नपाउँदा समस्यामा परेका असंगठीत क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई पहिचान गरेर गाउँपालिकाले खाद्यान्नका सामग्री प्रदान गरेको हो ।

गाउँपालिकाका ४९ जना जनप्रतिनिधिबाट विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको एक महिनाको सेवा सुविधावापतको ५ लाख ७६ हजार रकमबाट ९ वडाका २२० असहाय परिवारलाई खाद्यान्न वितरण गरेको हो । वडाबाट सिफारिस भएको आधारमा प्रतिपरिवार ३० केजी चामल, २ थान पाल, ४ डल्ला सावुन, २ पोका तेल र २ पोका नुन प्रदान गरिएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीका २१ परिवार, खोटेहाङ गाउँपालिका–२ वाप्लुखाका २२ जना, खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका २७ परिवार, खोटेहाङ गाउँपालिका–४ बड्कादियालेका २५ परिवार, खोटेहाङ गाउँपालिका–५ चिप्रिङका १५ परिवार, खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका २५ परिवार, खोटेहाङ गाउँपालिका–७ खोटाङबजारका २० परिवार, खोटेहाङ गाउँपालिका–८ सिम्पानीका २८ परिवार र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेका ३७ परिवारलाई खाद्यान्न प्रदान गरिएको हो । त्यसमध्ये गाउँपालिकाभित्र आएर ज्यालादारीका काम गरिरहेका अन्यत्रका १७ परिवार छन् । असंगठीत क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायलाई उपलव्ध गराइने राहत सम्बन्धी मापदण्ड २०७६ अनुशार राहत राहत वितरण गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

लिकुवापोखरी, वाप्लुखा र सावाकटहरेमा गाउँपालिकाकी उपाध्यक्ष कविता राई नेतृत्वको टोलीले, बड्कादियाले, चिप्रिङ र खोटाङबजारमा प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई तथा इन्द्रेणीपोखरी, सिम्पानी र लिच्कीराम्चेमा गाउँपालिका अध्यक्ष राई नेतृत्वको टोलीले राहत वितरण गरेको हो । सम्बन्धित वडाका वडाध्यक्ष, प्रशासन, सुरक्षा निकाय, राजनैतिक दलका प्रतिनिधि, कर्मचारी लगायतको उपस्थितिमा राहत बाँडिएको हो ।

‘हामीले राहत सम्बन्धी मापदण्डलाई हुवहु पालना गरेर राहत बाँडेका छौँ । मापदण्डलाई आधार मान्ने हो भने गाउँपालिकामा राहत पाउने परिवार एकाध मात्र हुँदा रहेछन्,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘मापदण्डभन्दा फरकलाई राहत वितरण गरेको पाइएमा सिफारिस गर्नेबाट असुल उपर गर्ने व्यवस्था पनि छ । तर अहिले राहत बाँड्न होडबाजी गरेको देखिन्छ ।’

प्रकाशित: २ वैशाख २०७७ १२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App