४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जहाँ बिरामी खोज्दै गाउँ पुग्छन् डाक्टर

तस्बिरःगाउँमा पुगेर बिरामी जाच गर्दै डा. प्रकृती भट्टराई।

रोल्पा - अन्यत्र अस्पतालहरुमा कोरोना त्रासले डाक्टरहरुले बिरामी नहेरेको वा बिरामीप्रति राम्रो ब्यबहार नगरेको गुनासो आइरहदा रोल्पा अस्पतालमा भने चिकित्सकहरुले कोरानासंग मिल्दो लक्षण देखिएमा तुरुन्त अस्पताल आउन सुझाइरहेका छन्। अस्पताल आउने कुनै पनि बिरामीको डाक्टरसंग सहज पहुच हुने गरेको छ।
 
यहाँ उपलब्ध ओपिडी, प्रयोगशाला, एक्स–रे, अप्रेशन, भिडियो एक्सरे र ईन्डोर लगायतका सेवा कुनै पनि दिन बिरामीका लागि बन्द गरिएनन्। अस्पतालको तथ्याङ्क अनुसार लकडाउन यता सय बढि ज्वरोका बिरामी जाचिएको छ। १ सय ४६ जनाको रगत, ७ जनाको खकार परीक्षण गरिएको अस्पताल प्रमुख धनमायाँ घर्तीले बताइन्। 

अस्पतालका मेडिकल अफिसर डा. अनिल केसीका अनुसार लकडाउनको अबधिमा अस्पतालले ७ जना जटिल अबस्थाको प्रसूती शल्यक्रिया गरेको थियो। ‘यो बिचमा १५ जनालाई सुरक्षित गर्भपतन सेवा दियो भने ७ जनाको सफल अप्रेसन पनि भयो। तीन जनालाई रगत पनि दिएका छौ।’ डा. केसीका अनुसार अस्पतालमा ३० जनाको नर्मल डेलिभरी समेत भएको थियो।

बिहानै अस्पताल परिसरमा भेटिने रोल्पा अस्पतालका डाक्टरहरुले जिल्लाका बिभिन्न रेडियो वा अन्य छलफल बैठकहरुमा बिरामीलाई अस्पताल पठाउन भनिरहेका हुन्छन्। ‘हामीसंग पीपीई छ। बच्ने सामान्य ज्ञान छ भने बिरामीप्रति नकारात्मक बन्न जरुरी छैन।’ केसीले भने ‘यस्तो बेलामा मानबिय धर्म भुल्नु हुदैन। आफुसंग भएको ज्ञान र सीप लुकाउने होइन बिरामी सेवामा लगाउने हो।’ 

डा. धनमाया घर्ती, डा. अनिल केसी, डा. प्रकाश बुढा, डा. सपना कर्ण र डा. दिपक मकाजु निरन्तर अस्पताल अनि बिरामी कै वरपर देखिन्छन्। पछिल्लो समय त डा. अनिल केसी सरकारले सुरु गरेको कोरोनाको ¥यापिड टेष्टका लागि प्रयोगशाला प्राबिधिकसंगै गाउँका क्वारेन्टाईन तिर लागेका छन्।

अस्पतालमा मात्र होइन गाउँमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर पनि बिरामी सेवामा उत्तिकै खटिरेका छन्। अन्यत्र अस्पतालमा बिरामी नहेरेको खबरहरु आइरहदा सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रका डा. प्रकृती भट्टराई गाउँ गाउँ पुगेर बिरामी हेरिरहेकी छिन्। नियमित बिरामी स्वास्थ्य सस्था आउन नसक्ने अबस्था आएपछि उनि आफै गाउँ पुग्ने गरेकी हुन्। ‘भारत र अन्यमुलुकबाट आएर क्वारेन्टाईनमा बसेका तथा अन्य बिरामी जाचका लागि गाउँ तिर हिड्ने गरेको हु।’ उनिसंग गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती पनि संगै हिडिरहेका छन्। 

स्थानीय सरकारले पनि यसपालि डाक्टरसंग सामीप्यता बढाउने अबसर पाएको छ। स्वास्थ्यकर्मीको नियमितता र सेवा प्रति नतमस्तक जनप्रतिनिधि डाक्टरहरुको उच्च मुल्याङ्कन गरिएको बताउछन्। ‘रोल्पाका स्वास्थ्यकर्मी र चिकित्सकको प्रशंसा जति गरेपनि पुग्दैन।’ रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसीले भने ‘बिषेश गरि डाक्टरहरु दिनरात खटिनु भएको पाएका छौ। रोल्पालीको सेवामा हुनुहुन्छ। हामी त खुसी छौ।’

जिल्लामा कर्मचारीको अभिभाबकका रुपमा रहेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल पनि डाक्टरको सकृयता प्रति दंग छन्। ‘यहाँका डाक्टरहरुले स्थानिय श्रोत साधनको प्रयोग गरेर अत्यन्त चुस्त सेवा दिइरहनुभएको छ। अन्य जिल्लामा भन्दा यहाँ राम्रो सेवा छ।’ ढकालले भने ‘त्यसो त जिल्ला स्वास्थ्य प्रमुख अनिल केसी पनि उस्तै सकृय भएको पाएको छु। जे होस रोल्पा अस्पतालको सेवा प्रबाहमा कतै कन्जुस्याई गरिएको छैन।’

नागरिक समाजका तवरबाट यसपाली अस्पताल पढ्ने काम भएको छ। अस्पताललाई त्यति प्राथमिकतामा नराख्नेहरु अब भने आबस्यकता पहिचान भएको बताउछन्। ‘यो समयमा डाक्टरहरुको कर्तब्य पनि हो तर रोल्पामा राज्यको गतिलो साथ सहयोग नपाउदा पनि चिकित्सकले दायित्व पुरा गरिरहनु भएको छ।’ नेपाल पत्रकार महासंघका अध्यक्ष महेश न्यौपाने भन्छन् ‘यतिबेला रोल्पाको स्वास्थ्य सेवा सन्तोष जनक छ। गाउँतिर पनि स्वास्थ्यकर्मी उत्तिकै सकृय छन्।’

स्वास्थ्य र शिक्षालाई कहिल्यै प्राथमिकतामा नराख्ने रोल्पाली नेतृत्वलाई यो पटक कोराना संक्रमण महामारीको त्रासले गतिलो पाठ सिकाएको छ। अनौपचारिक छलफलमा जनप्रतिनिधिहरुले आगामी वर्षहरुमा स्वास्थ्यमा लगानी लगाउनु पर्ने बताउन थालेका छन्। एक जनप्रतिनिधिले भने ‘अस्पताल के चिज रैछ भन्ने कोरोनाले सिकायो।’

प्रकाशित: १ वैशाख २०७७ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App