९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

संक्रमित क्षेत्रबाट पाँचजना आएपछि चन्द्रनगरमा त्रास

सर्लाही - दुई देशले लागू गरेको कडा लकडाउनलाई छिचोल्दै सर्लाहीको चन्द्रनगर गाउँपालिकामा भारतबाट पाँचजना नेपाली आएपछि त्रास फैलिएको छ। भारतको उत्तरप्रदेशमा काम गरिरहेका चन्द्रनगर–६ कामतका पाँचजना बुधबार राति आइपुगेका हुन्। गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले भारतको उत्तरप्रदेशमा मजदुरी गर्दै आएका पाँचजना राति आइपुगेको जानकारी दिए। ‘कामतमा रहेको क्वारेन्टाइनमा उनीहरूको चेकजाँच गरिएको छ,’ उनले भने, ‘शंका लागे तुरुन्त काठमाडौं पठाइहाल्छौं ।’

दुवैतर्फ कडा लकडाउनका बीचमा उनीहरू कसरी सीमाक्षेत्रबाट कट्न सफल भए भन्नेमा आफूहरू अचम्ममा परेको अध्यक्ष महतोले बताए। कोरोना संक्रमण बढी भएको उत्तर प्रदेशबाट स्थानीय लुकिछिपी आइपुगेपछि गाउँलेमा त्रास बढेको उनको भनाइ छ। ‘सर्लाहीको विभिन्न गाउँबाट मजदुरीमा गएका दुई सय २५ जनाको समूहमध्ये यी पाँचजना छुट्टिएर चन्द्रनगर आइपुगेको र बाँकी सबै हिँडेर आइरहेको खबर छ,’ अध्यक्ष महतोले भने, ‘अब बाँकी सबैलाई भारततिरै रोकेर क्वारेन्टाइनमा नराखे गाह्रो हुन्छ, ती सबैलाई उतै रोक्ने प्रयास भइरहेको छ।’ त्यस्तै भारतको विभिन्न ठाउँबाट आएका ३० नेपालीलाई बिहीबार बिहानदेखि भारतीय बजार सोनवर्षास्थित क्वारेन्टाइनमा राखिसकेको प्रजिअ मोहन जिसीले जानकारी दिए।

‘अझै थुप्रै नेपाली सर्लाही भित्रिन भारतका विभिन्न ठाउँबाट हिँडिरहेका छन् भन्ने सुनिएको छ,’ उनले भने, ‘सबैजनालाई भारतीय पक्षले सीमाक्षेत्रमा निर्माण गरेको क्वारेन्टाइनमै राख्न भारतीय पक्षसँग कुराकानी भइरहेको छ।’ खुला सिमानाका कारण लकडाउनको अवस्थामा पनि सर्वसाधारणको ओहोरदोहोरमा पूर्ण रूपले नियन्त्रण गर्न कठिनाइ भइरहेको प्रहरी उपरीक्षक विश्वमणि पोखरेल बताउँछन्। ‘सुरक्षाकर्मी दिनरात सीमाक्षेत्रमा खटिरहेका छन्, अहिले पनि म आफैं त्रिभुवननगर, संग्रामपुरलगायत सीमा क्षेत्रमा निरीक्षण गर्दै हिँडिरहेको छु,’ पोखरेलले भने, ‘उखुबारी, धानखेतजस्ता सुनसान स्थान बढी भएको र दसगजामै गाउँ भएकाले पनि कतिपय सर्वसाधारण लुकिछिपी नेपालतर्फ छिर्न सफल हुने गरेका छन्।’ यद्यपि सीमाक्षेत्रमा अत्यन्त कडाइका साथ निगरानी बढाइएको उनले दाबी गरे।

प्रकाशित: २८ चैत्र २०७६ ११:५६ शुक्रबार

लकडाउन त्रास गाउँपालिका