काठमाडौं - बिस्केट जात्राका अवसरमा भक्तपुरको भेलुखेलमा उठाइने लिंगोबारे विभिन्न मिथकमध्ये एउटा यस्तो छ– परापूर्वकालमा राजकुमारीको नाकको प्वालबाट निस्केर डस्न आउने विषालु नागलाई मारेर राजकुमारले जीवन जोगाएकाले जात्रा मनाइँदै आएको हो। नेपाल संवत् २६८ अर्थात् लिच्छविकालभन्दा अगाडिदेखि नै जात्रा मनाउँदै आएको मानिन्छ।
कोरोनाको महामारी नभएको भए सांस्कृतिक नगरी भक्तपुर यतिबेला त्यही उत्सवको निरन्तरतामा जात्रामय हुन्थ्यो। चैत २७ गते रथ तानेसँगै सुरु हुने बिस्केट पर्वसँगै प्राचीन नगरीका गल्लीगल्लीमा खुसी छरिन्थे। टोलटोलमा नाचगान, घरघरमा छरिएको जात्राको रौनकले नगर झनै जीवन्त बन्थ्यो। स्थिति फेरिएको छ। नगर बन्द छ। गल्लीहरू सुनसान छन्। पाटीमा सुस्ताउने वृद्धवृद्धाहरू कोठामै सीमित भएका छन्। सांस्कृतिक नगरीका सर्वसाधारण कोरोनामाथि विजयको पर्खाइमा छन्। विजयोत्सवका रूपमा ५५ हात लामो लिंगोमा विश्वध्वजा फरफराउने यो जात्राको पूर्वसन्ध्यामा अहिले विश्व महामारीको संक्रमणमा परेको छ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सर्वपक्षीय छलफल गरी अहिलेको विषम परिस्थितिमा जात्रापर्वलाई औपचारिक पूजामा मात्रै सीमित गर्ने निर्णय भएको जानकारी दिएका छन्। जात्रा मनाउन नपाए पनि कोरोनासँगको सामूहिक लडाइँमा रहेका सर्वसाधारणको उत्साह भने घटेको छैन। ‘बिस्केटको लिंगो नठडिएर के भयो त सर्वसाधरणले मनमा आत्मविश्वासको लिंगो ठडाएका छन्,’ सस्कृतविद ओम धोभडेल भन्छन्, ‘यही आँट र विश्वास मनमा लिएर सामाजिक दूरी कायम राख्दै कोरोनाविरुद्धको सामूहिक लडाइँमा जुटेका छन्।’ जात्रा मनाउन नपाएकोमा उदासी होइन, कोरोना सकिएपछि फेरि रमाउने आशामा भक्तपुरवासी रहेको धौभडेल सुनाउँछन्।
तल्लो टोल र माथिल्लो टोलकाले डोरी तानातान गरेर यो जात्रा मनाउँदै आएका थिए। अष्टमातृकाका रूपमा आठवटा डोरीको सहायताले विजयको प्रतीक यो विस्केटको लिंगो ठडिँदै आएको थियो। इतिहासविद् प्राध्यापक पुरुषोत्तम लोचन श्रेष्ठ विस्केटलाई नागनागिनको कथाभन्दा पनि माहामारीमाथिको विजय जात्राका रूपमा मान्छन्। संसारको रक्षा गर्ने विश्वनाथ र भद्रकालीको पूजासँगै सुरु हुने यो जात्रा मानव जातिको रक्षाका लागि मनाइँदै आएको उनको बुझाइ छ। त्यसैले होला विगतमा प्लेग, बिफरजस्ता महामारीबाट जोगिएको समाज यसपटकको कोरोनाबाट पनि जोगिने उनको बुझाइ छ।
उनी जात्रालाई भक्तपुरको ढुकढुकी मान्छन् अनि जात्रा चलुन्जले भक्तपुर बाँच्ने सुनाउँछन्। ‘त्यसैले ससाना केटाकेटीदेखि वृद्धवृद्धा सबै कोरोनाविरुद्धको जात्रामा उत्साहित हुन्छन्,’ उनी भन्छन्, ‘यस्तो लाग्छ विगतदेखि नै जात्राले यहाका मानिसलाई बाँच्न सिकाएको छ।’ किनकि यहाँका जात्रासँग विभिन्न किंवदन्ती र मिथक जोडिएको सस्कृतिविद् तेजेश्वर बाबु गोंग सुनाउँछन्। ‘कतै कथा जोडिएका छन् कतै इतिहास,’ उनी भन्छन्, ‘यहाँको जीवन जात्रासँग जोडिको छ ।’ उनी भक्तपुरमा मनाइने जात्राले थुप्रै सन्देश दिने सुनाउँछन्। बिस्केटको लिंगो उठाउने र ढाल्ने प्रक्रियालाई प्रकृति र पुरुषका समागमनको अवस्था बुझाउँछन्। सरकारको आग्रहलाई मानेर घरभित्रै बसेका सर्वसाधरणले कोेरोनालाई हराउँदै फेरि विजयी लिंगो उठाउने उनको विश्वास छ।
जात्राको नेतृत्व गर्दै आएको नगरपालिकाले यसपटक कोरोनाविरुद्धको अभियानको नेतृत्व गर्दैछ। नगरका मानिस बढी निस्केको ठानेर उसले एक घर एक पासको व्यवस्थासमेत गरेको छ। नगरपालिकाको आग्रहलाई नगरवासीले मानेका छन्। विगतमा जात्राको नियम र महत्व बुझाउदै हिँड्ने नेता–कार्यकर्ता अहिले कोरोनाबाट कसरी बच्न सकिन्छ भन्दै सिकाउन थालेका छन्। दतात्रयका ७४ वर्षीय श्यामभक्त प्रजापतिले बाल्यकालदेखिनै जात्रा नियाल्दै आएका छन्। भूकम्प र नाकाबन्दीमा समेत उत्साहका साथ मनाइएको यो जात्रा कोरोनाका कारण रोकिए पनि फेरि जात्रा मनाउन पाउनेमा आशावादी छन्। कथाका राजकुमारले विषालु सर्पलाई मारेजस्तै कसैले कोरोनालाई पनि समाप्त पार्ने आशा अरूमा जस्तै उनमा पनि छ।
प्रकाशित: २८ चैत्र २०७६ ११:४५ शुक्रबार