सुरुङ्गा - जिल्ला प्रहरी कार्यालय झापाले सीमा निगरानी समिति गठन गरी लुकीछिपी नेपाल प्रवेश गर्नेलाई पूर्णरूपमा रोक लगाएको छ। खुला सिमानाको फाइदा उठाउँदै प्रहरीलाई छक्याएर कोही पनि नेपाल प्रवेश गर्न नसकुन् भन्ने उद्देश्यले स्थानीयवासीको सहकार्यमा सीमा निगरानी समिति बनाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए।
कोरोना भाइरसको सङ्क्रमणको समस्या भारतमा बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले तीन प्रहरी निरीक्षकको कमाण्डमा १६ स्थानमा गरी थप १५० प्रहरी सीमाक्षेत्रमा परिचालन गरिएको छ। सीमाक्षेत्रको निगरानीका लागि अहिले कचनकवल गाउँपालिकाको पथरीया, झापा गाउँपालिकाको टाघनडुब्बा र गौरीगञ्ज गाउँपालिकाको कोरोबारीमा प्रहरीले अस्थायी बेसक्याम्प निर्माण गरेको छ।
झापाको पूर्वीउत्तर सिमाना तिरिङखोलाबाट पश्चिम–दक्षिण सीमावर्ती क्षेत्र गौरीगञ्जसम्मको १४४ किलोमिटरको बोर्डरमा प्रहरीले अहिले सीमा निगरानी समितिसँग सहकार्य गर्दै सीमाको निगरानी गरिरहेको छ। अहिले सीमावर्ती क्षेत्र काँकडभिट्टा, कुमरखोद, गौरीगञ्ज, राजगढ, कुञ्जीबारी, भद्रपुरलगायतका क्षेत्रमा सीमा निगरानी समिति निर्माण गरिएको छ। यता सशस्त्र प्रहरी बल झापाले पनि जिल्लाका विभिन्न स्थानमा सीमाक्षेत्रको निगरानीका लागि १०० थप प्रहरी परिचालन गरेको छ। रासस
प्रकाशित: २७ चैत्र २०७६ १४:५० बिहीबार