७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

स्वास्थ्य शाखा र स्वास्थ्य चौकीमा मोबाइल हटलाइन सेवा सुरु

रसुवा - रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा रहेको स्वास्थ्य शाखा र गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकीहरूमा मोबाइल हटलाइन सेवा सुरु भएको छ।

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम जोखिम न्यूनीकरण नभएसम्मका लागि आवश्यक परामर्श दिनका लागि बुधबारदेखि सेवा सुरु गरिएको हो।  गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिमलकुमार घिमिरेले गाउँपालिकाभित्र रहेका स्वास्थ्य शाखा र ६ वटा स्वास्थ्य चौकीबाट सेवा सुरु भएको बताए।

स्वास्थ्य शाखाबाट घिमिरे आफैंले परामर्श दिने छन्। थुमनमा सतेन्द्रकुमार यादव, टिमुरेमा गणेशप्रसाद मिश्र, बृद्धिममा छिरिङ लामा, लाङटाङमा खुम्बु बोहोरा, स्याफ्रुमा सबिना श्रेष्ठ र रसुवा स्वास्थ्य चौकीमा ईनफ स्योङदोनलाई परामर्शदाता तोकिएको छ।

गाउँपालिकाको तीन स्थानमा हेल्थ डेक्स सञ्चालन भइरहेको छ। स्वास्थ्य संस्थाहरूमा आवश्यक औषधि अभाव नरहेको उनले बताए। ‘स्वास्थ्य संस्थाहरूमा आवश्यक स्वास्थ्य सामग्रीको अभाव भएको छैन’, उनले भने, ‘सबै स्वास्थ्य संस्थाहरू खुलेका छन्।’

 

प्रकाशित: १९ चैत्र २०७६ ०७:५७ बुधबार

स्वास्थ्य_शाखा स्वास्थ्य_चौकी मोबाइल_हटलाइन काेराेना