१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

संस्कृतिभन्दा देश–जनता प्यारो

काठमाडौं - सामान्य अवस्था हुन्थ्यो भने यति बेला मध्यपुर बोडेका बुद्धिकृष्ण बाग श्रेष्ठआठौं पटक जिब्रो छेडाउने तयारीमा जुटेका हुन्थे। तर यसपटक स्थिति फेरिएको छ, उनी कोरोना संक्रमति बिरामीको सेवाका लागि व्यक्तिगत सुुरक्षा पोसाक (पिपिई) लगाएर तयारी अवस्थामा छन्।

कोरोना संक्रमितका लागि व्यवस्थापन गरिएको अत्याधुनिक एम्बुलेन्सको चालक भई सेवा दिन लागेका उनले संस्कृति जोगाउन पटकपटक जिब्रो छेडेको सुनाए। ‘हो, संस्कृति जोगाउन विगतमा सातपटकसम्म जिब्रो छेडें,’ उनले भने, ‘देश र जनतालाई जोगाउन अहिले एम्बुलेन्स चालकका रुपमा अहोरात्र खटिएको छु।’ ठिमीक्षेत्रको सांस्कृतिक धरोहरका रुपमा समेत परिचित श्रेष्ठ मध्यपुर ठिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा एम्बुलेन्स चालकका रुपमा कार्यरत छन्।

बिस्केट जात्राका अवसरमा वैशाख २ गते हुने जिब्रो छेड्ने जात्रा यस क्षेत्रको प्रमुख जात्रा मानिन्छ। तेलमा डुबाइएको १० इन्च लामो फलामको सुइराले जिब्रो छेडेर बजार परिक्रमा गर्दा श्रेष्ठलाई हजारौंले श्रद्धापूर्वक नियाल्थे। ‘अबजात्रा देखाउने र हेर्ने सबै मिलेर कोरोनालाई हराउनु पर्छ,’ श्रेष्ठले नागरिकसँग भने, ‘समुदाय सकुशल रहे जात्रा फेरिफेरि  मनाउनेछौं।’

‘अब जात्रा देखाउने र हेर्ने सबै मिलेर कोरोनालाई हराउनु पर्छ। समुदाय सकुशल रहे जात्रा फेरिफेरि  मनाउनेछौं।’

कोरोना भाइरसको सम्भावित संक्रमणका कारण उपत्यकाका सबैजसो जात्रा प्रभावित भएका छन्। कोरोनाका कारण काठमाडौंका सेतो मच्छीन्द्रनाथको जात्रा र घोडेजात्रा प्रभावित भइसके भने भक्तपुरको बिस्केट जात्रापनि औपचारिकतामासीमित गरिने भएको छ। ‘जात्राका सामान्य नियममात्र पूरा गरेर अगाडि बढ्ने समय हो यो,’ श्रेष्ठले भने, ‘जात्रा मनाउने तिथि फेरिफेरि आउनेछन्।’

श्रेष्ठले कोरोना संक्रमणबाट जोगिन घरभित्रै बस्न सुझाए।  कसैलाई कोरोनाले संक्रमण गरेमा उपचारस्थलमा पु¥याउने जिम्मा आफूले लिएको उनले बताए। ‘तपाईंहरु कसैलाई कोरोनाको शंका  लागेको छ भने मलाई फोन गर्नुस्,’ उनले भने, ‘तपाईंहरुलाई अस्पताल पु¥याउन म सधैं तयार छु।’ उनले  उपत्यकाका धेरै ठाउँमा आफ्नो सम्पर्क नम्बर दिइसकेको बताए।

मध्यपुर ठिमी नगरपालिकाकामेयर मदनसुन्दर श्रेष्ठपनि बुद्धिकृष्णको सोचको कदर गर्छन्। ‘उनी आँटिला र बुद्धिमान छन्,’ मेयर श्रेष्ठले भने, ‘त्यसैले कोरोना संक्रमितलाई बोक्न तयार गरिएको मुख्यएम्बुलेन्स हामीले उनैलाई चलाउन दिएका हौं।’

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरसको परीक्षण गर्ने मेसिन ‘पोलिमराइज चेन रिएक्सन’ ल्याइसकेको र सोमबारबाट  परीक्षण सुरु गरिने मेयर श्रेष्ठले बताए। नगरपालिका र इन्टरपेड नेपालको समन्वयमा अस्पतालमा मलेकुलर ल्याब र हिस्टो ल्याबसमेत सञ्चालनमा आएको उनले जानकारी दिए।

नगरका टोलटोलमा पुगेर सर्वसाधारणको स्वास्थ्यबारे जानकारी लिइरहेका मेयर श्रेष्ठले अहिलेको प्राथमिकता जात्रापर्व र संस्कृतिभन्दा पनि नगरवासीको स्वास्थ्य रहेको बताए।‘हामी नगरवासीलाई महामारीबाट जोगाउन लागिपरेका छौं,’ उनले भने, ‘यसमा सांस्कृतिक धरोहर बुद्धिकृष्णलगायत सबैले आ–आफ्नो ठाउँबाट साथ दिनुभएको छ।

प्रकाशित: १७ चैत्र २०७६ ०१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App