२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

भारतबाट आँखा जाँच्न आउनेहरू विशेष निगरानीमा

सगरमाथा चौधरी आँखा अस्पताल लहानमा उपचारका लागि आउने बिरामीको जाँच गर्दै स्वास्थ्यकर्मी। तस्बिर: मिथिलेश/नागरिक

लहान – गृह मन्त्रालयले भारतीय सीमाक्षेत्रबाट नेवल कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम रहेको निष्कर्ष निकालेसँगै भारतबाट नेपालमा आँखा जँचाउन आउनेहरूमाथि विशेष निगरानी गर्न थालिएको छ। भारतबाट नेपालका आँखा अस्पतालहरूमा ठूलो संख्यामा बिरामी आउने गर्छन्। त्यस्ता अस्पतालहरूमा अहिले उच्च सावधानी अपनाइएको छ। भारतीय बिरामीको चाप बढी हुने लाहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले सरसफाइ, सावधानी र सहकार्यलाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ।

नेपालका अस्पतालमा आउने भारतीय बिरामीको पहिलो स्वास्थ्य जाँच भारततर्फ सीमावर्ती सहरमै गरिन्छ। दोस्रो जाँच नेपालतर्फ नाकामा गरिन्छ। तेस्रो जाँच आँखा अस्पतालको मूलगेटमै हुन्छ। यहाँ तापक्रम जाँच गर्ने व्यवस्थादेखि साबुनपानीले हात धुने, स्यानिटाइजर लगाउने, झोलाहरूमा औषधि छर्किने गरिएको छ। अस्पताल परिसरभित्र सञ्चालनमा ल्याइएको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले तापक्रम जाँच्नेदेखि कोरोनाको लक्षण र यसबाट बाँच्ने उपायबारे पूर्ण जानकारी दिने गरेका छन्।

उक्त अस्पतालका प्रबन्धक अभिषेक रोशनका अनुसार अस्पताललाई पूर्ण रूपमा सफा राख्ने कार्य भइरहेको। जाँच उपकरणहरूको सफाइमा विशेष ध्यान पु¥याइरहेका छौं। बिरामी वार्डदेखि परीक्षण वार्डलगायतमा सफाइ, सावधानी र सचेतनाका उपाय अपनाइएको उनले बताए। अस्पतालको दर्जनौं स्थानमा हात धुन सफा पानी, साबुन, स्यानिटाइजरको व्यवस्था गरिएको छ। काउन्टरमा स्यानिटाइजरले हात सफा गरेपछि मात्र पुर्जा लिने व्यवस्था गरिएको छ।

‘हामीले सीमादेखि अस्पतालसम्म बिरामीको विशेष निगरानी, जाँच तथा सावधानीका उपाय अवलम्बन गरिरहेका छौं,’ उनले भने, ‘शंकास्पद बिरामी भेटिए क्वारेन्टाइनमा राखी उपचार तथा थप जाँच गर्न सम्बन्धित निकायसँग सहकार्य गर्ने तयारीमा छौं।’ अहिलेसम्म उपचारका लागि आएका बिरामीमध्ये कसैमा पनि कोरोनाको लक्षण नदेखिएको उनको भनाइ छ।

घर फर्किनेको लर्को
भारतको दिल्लीमा मजदुरीको काम गर्ने भगवानपुर गाउँपालिका–४ ठाढीका २२ वर्षीय शिवा पासवान नयाँ वर्ष लागेसँगै घर फर्किने योजनामा थिए। उनको कमाइ र बसाइ राम्रो थियो। तर पछिल्ला केही दिनमा भारतका अधिकांश प्रान्तमा कोरोना संक्रमित बढ्दै गएपछि उनले तत्काल घर जाने निर्णय गरे। उनीसँगै अन्य करिब २० जना सीमावर्ती सिरहा र धनुषाका युवाहरू घर फर्केको उनी बताउँछन्। ‘ज्यान रहे जहान छ,’ घर फर्केका धिरत पासवान भन्छन्, ‘घर फर्केपछि चयनको सास फेर्न पाएको छु।’

पासवानद्वय मात्र होइन, भारतमा कोरोनाको संक्रमण विस्तार रूप लिन थालेपछि नेपाली कामदार घर फर्किने लर्को लागेको छ। सिरहाका सशस्त्र प्रहरी प्रमुख (एसपी) प्रवीण कँडेलका अनुसार यहाँका माडर र ठाढी सीमा नाकाबाट दैनिकजसो ठूलो संख्यामा युवाहरू फर्किरहेका छन्। उनीहरूलाई सीमामा सञ्चालित हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य जाँच गरेर मात्र आउन दिइरहेका छन्। खुला सीमा नाकाका कारण भारतबाट नेपालमा कोरोनाको संक्रमणको उच्च जोखिम छ। भारतमा तीव्र गतिमा फैलिरहेको कोरोनाको प्रभाव नेपालमा पनि पर्न सक्नेतर्फ सचेत रहनुपर्ने र सीमा नाकामा हुने चेकजाँचलाई थप कडा पार्नुपर्ने जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निष्कर्ष छ।

प्रकाशित: ७ चैत्र २०७६ ०२:३७ शुक्रबार

कोभिड–१९ सीमाक्षेत्र निगरानी