१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

डोल्पाको विकट गाउँ रंगमा पुग्दै मोटरबाटो, स्थानीयमा छाउदै खुसी

ग्रामिण सामुदायिक पूर्वधार विकास कार्यक्रम अन्तरगत निर्माण गरिएको बाटो। स्थलगत अवलोकन गर्दै सञ्चारकर्मीसहितको प्राविधिक टोली ।

डोल्पा- त्रिपुरासुन्दरी नगरपालिका-४ रंग गाउँका स्थानीयको वर्षौदेखिको गाउँमा मोटरवाटो पुर्याउने सपना पूरा हुने भएको छ। ग्रामिण सामुदायिक पूर्वाधार विकास कार्यक्रमको सहयोगमा सेपीधारादेखि माथिल्लो रंग गाउँसम्मको १ एक किलोमिटर मोटरबाटो निर्माण कार्य सुरु गरिएपछि रंगेलीको लामो समयदेखिको मोटरवाटोको सपना पूरा हुने भएको हो।

ग्रामिण सामुदायिक पूर्वाधार विकास कार्यक्रमको सहयोगमा ११ लाखको लागतमा उक्त मोटरवाटोको निर्माण थालनी गरिएको छ। आर्थिक वर्ष २०७५/०७६ मा ३५ लाख ७५ हजारको लागतमा ठाटीखेलादेखि रंग गाउँसम्मकै १ किलोमिटर ८ सय मिटर मोटरबाटो निर्माण गरिसकेको ग्रामिण सामुदायिक पूर्वाधार विकास कार्यक्रमले आर्थिक वर्ष ०७६/०७७ मा सेपीधारादेखि गाउँसम्मको मोटरबाटो निर्माण गर्न थालेको हो। मोटरबाटो निर्माण गरिएपछि रंग गाउँका बासिन्दालाई त्रिपुरासुन्दरी नगरकेन्द्रमा आवतजावत गर्न सहज भएको छ।

स्थानीय विमला बुढाले भनिन् विगतमा बाटो नहुँदा जोखिम मोलेर भीर बाटोमा आवतजावत गर्दा समस्या थियो। अहिले मोटरबाटो नै बनेपछि आवतजावतमा सहज भएको छ। मोटरबाटो बनेपछि त्रिपुरासुन्दरी नगरपालिकाको केन्द्र कोटबजारसम्म गाउँमा उत्पादित स्याउ ओखर तरकारी लगायतका दैनिक उपभोग्य वस्तु लिएर बिक्री वितरण गर्न सहज भएको बुढाको भनाई छ। अर्का स्थानीय वलराम बोहराले आफूहरुको लागि ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम सहयोगी बनेर आएको बताए।

मोटरवाटो निर्माण मात्र होइन फलफूल खेती विकास तथा संरक्षणको लागि घेरावार र सिँचाइ जस्ता कार्यक्रम प्रभावकारी बनाउन सामुदायिक पूर्वाधार विकास कार्यक्रम प्रभावकारी रहेको पनि बोहराले बताए। स्थानीय युवा दत्त बुढाले गाउँमा भित्रीएका र भित्रदै गरेका अन्य विकास कार्यक्रमहरु पारर्दशिता नबनिरहेको बेला सामुदायिक पूर्वाधार विकास कार्यक्रमले सञ्चालन गरेका कार्यक्रम स्थानीयको हितमुलुक जीवनउपयोगी रहेको बताउदै रंग गाउँका बासिन्दाको जीवनस्तर माथि उठाउने कार्यमा सहयोगी रहेको बताए।

ग्रामिण सामुदायिक पूर्वाधार विकास कार्यक्रमका संयोजक तथा इन्जिनिएर मुनेश्वर ठाकुुरले कार्यक्रम सञ्चालन गर्नु अगाडि स्थानीयसंग बसेर कार्यक्रमको अभिमुखिकरण कार्यक्रमको उद्देश्य सञ्चालन अवधि विनियोजित बजेट, स्थानीयको सहभागिता र प्रतिवद्दता सम्बन्धि सामूहिक छलफल समेत गरिने भएकाले पनि योजना सञ्चालन तथा बजेट पारदर्शितामा अन्य निकायको भन्दा फरक रहने बताए।

उनका अनुसार रंग गाउँमा मोटरवाटोको अतिरिक्त स्थानीयको लागि फलफूल खेती प्रोत्साहन घेरावार तथा सिँचाइका लागि विभिन्न कृषक समूहलाई ६ लाख बराबरको सहयोग उपलब्ध गराएको पनि संयोजक ठाकुरले जानकारी दिए। रंग गाउँमा निर्माण गर्न थालिएको र गत वर्ष निर्माण गरिएको मोटरबाटो तथा सञ्चालित कार्यक्रमको प्रभावकारिता र उपलब्धी बुझ्न सञ्चारकर्मी र प्राविधिकसहितको टोलीले स्थलगत अवलोकन तथा निरीक्षण गरि कामको प्रगतिको बारेमा समुदायस्तरमा बसेर जानकारी लिएको थियो।
 

प्रकाशित: २१ फाल्गुन २०७६ ०८:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App