९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

किसानलाई ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गर्दै वाग्मती प्रदेश सरकार

हेटौँडा- ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ। प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो।

प्रत्येक कृषकको समेत ५० प्रतिशत लगानी हुनेगरी ढुवानी ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गरिने जनाइएको छ। त्यसरी अनुदान प्राप्त गर्ने प्रदेशभरका १३ कृषकको नाम छनोट कार्यसमेत सम्पन्न गरिएको बताइएको छ। कृषि निर्देशनालयका अनुसार त्यसरी छनोट गरिएका प्रदेशका १३ किसानमध्ये आठले पिकअप गाडी, दुईले ट्र्याक्टर र तीन जनाले ढुवानी ट्रक प्राप्त गर्नेछन्।

प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन कृषकलाई प्रोत्साहन गर्नका लागि उनीहरुलाई कृषिमा प्रयोग हुने उपकरण उनीहरुको समेत थप लगानीमा वितरण गर्न लागिएको निर्देशनालयका निर्देशक रवीन्द्रबहादुर प्रधानले जानकारी दिए। उनका अनुसार त्यस्ता कृषि उपकरण प्राप्त गर्न ती किसानले कम्तीमा ४०० रोपनी जग्गामा तरकारी, फलफूल तथा अन्नबाली लगाएको हुनुपर्ने छ।
 
प्रदेश सरकारले कृषि उपजको वृद्धिका लागि साना किसानलाई पनि अलग्गै कार्यक्रममार्फत प्रोत्साहन गरिरहेको मन्त्रालयले जनाएको छ। आधुनिक कृषि प्रणाली अपनाई पशुपालन तथा कृषि उत्पादन गर्ने व्यावसायिक कृषकलाई सरकारले सहयोग गर्ने प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा बताउँछन्। त्यसरी गरिने कृषिमा जैविक कृषि प्रणाली अपनाउने कृषकलाई सरकारले प्रथमिकता दिने उनको भनाइ छ।

प्रकाशित: ६ फाल्गुन २०७६ ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App