१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

विद्यार्थी पुर्‍याउन गएका अभिभावक तीन घण्टा थुनिए

-यागिङपीडित विद्यार्र्थीका अभिभावक थुनिएपछि तनावग्रस्त बिपी प्रतिष्ठानको पुरुष छात्रावास। तस्बिर : रोहित/नागरिक

धरान – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अन्डर ग्र्याजुएट तहमा भर्ना भएका पहिलो वर्षका विद्यार्थीहरूलाई सिनियर विद्यार्थीले चिनजान गर्ने माध्यम भन्दै -यागिङको नाममा चरम यातना दिने गरेका छन्।

-यागिङ कानुनी रूपमा नै बन्देज भए पनि पीडित विद्यार्थीहरू सिनियर विद्यार्थीविरुद्ध उजुरी गर्न डराउँछन्। हरेक वर्ष नयाँ शैक्षिक सत्र सुरु भएपछि नयाँ विद्यार्र्थीहरूलाई -यागिङ हुने गरेको प्रतिष्ठानका अधिकारीहरूलाई थाह छ तर कसैले पनि उजुरी नगर्ने भएकाले आवश्यक कारबाही गर्न नसकिएको उनीहरूको भनाइ छ। मंगलबार राति -यागिङकै घटनाले गर्दा प्रतिष्ठानको पुरुष छात्रावास तनावग्रस्त बन्यो। छात्रावासमा उत्पन्न तनाव प्रहरी पुगेर साम्य बनाएको थियो।

धरानका व्यवसायी महेन्द्र अग्रवालले आफ्नो सालाको छोरालाई सोमबार दिउँसो प्रतिष्ठानको पुरुष छात्रावासमा पुर्‍याएका थिए। भारतको सिलगुडी घर भएका सालाको छोरा यो वर्ष अन्तर्राष्ट्रिय कोटामा एमबिबिएस प्रथम वर्षमा नाम निकालेर भर्ना भएका थिए। अघिल्लो दिन छात्रावास गएका ती विद्यार्थी मंगलबार दिउँसो होस्टलबाट निस्केर अग्रवालको घर पुगे। बेलुकी भेट भएपछि ती विद्यार्थीले पहिलो रातमा नै सिनियरहरूले -यागिङ गरेको र आफू पढ्न नजाने भनेर रुन थाले। महेन्द्र अग्रवालका दाजु अनिल अग्रवाल सुनसरी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष छन्। महेन्द्र, अनिलसहित चार जना ती विद्यार्र्थीलाई होस्टल छोड्न बिपी पुगेपछि मंगलबार राति प्रतिष्ठानको वातावरण तनावग्रस्त हुनपुग्यो।

सामान्य चिनजान गर्ने, नयाँ विद्यार्थीहरूलाई अनुशासन सिकाउने भनेर दिइएको छुटले प्रतिष्ठानमा भने विकृतिको रूप लिएको छ।

होस्टलमा रहेका सिनियर विद्यार्थीले अग्रवाल दाजुभाइसहित चार जनालाई नियन्त्रणमा लिएर कोठामा थुनेका थिए। त्यस क्रममा उनीहरूमाथि कुटपिटसमेत भएको थियो। प्रतिष्ठानबाट घटनाबारे जानकारी आएपछि इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपाने आफैं होस्टलमा पुगेका थिए। सिनियर विद्यार्थीहरूले अनधिकृत व्यक्तिहरू होस्टलमा छिरेर धम्की दिएको भन्दै अग्रवाल दाजुभाइलाई निस्कनै दिएनन्। ‘-यागिङ भयो भनेर आफन्तको छोरा होस्टल जान नमानेपछि उहाँहरूले लिएर जानुभएको रहेछ, त्यहाँ के कसो भयो थाह भएन। बिपीबाट खबर आएपछि हामी गएर उहाँहरूलाई निकालेर ल्याएका हौं,’ डिएसपी न्यौपानेले भने। करिब सात बजेतिर थुनिएका उपाध्यक्ष अग्रवालसहित चार जनालाई प्रहरीले बुधबार छलफल गराउने सर्तमा राति साढे १० बजे मात्र होस्टलबाट निकाल्न सफल भएको थियो।

सिनियर विद्यार्थीले अनधिकृत व्यक्तिहरू होस्टलमा प्रवेश गरेर धम्की दिएको आरोप लगाएका छन्। तर ती पीडित विद्यार्थीका स्थानीय अभिभावक एवं उपाध्यक्ष अग्रवाल भने आफूहरूले होस्टलमा गएर यातना हुने गरी -यागिङ नगर्न मात्र सम्झाएको बताउँछन्। ‘हामी होस्टलभित्र गयौं, त्यसमा गल्ती भयो होला तर जुन किसिमले -यागिङ भएको थियो, त्यसरी नगर। बरु चिया लिन पठाऊ, कपडा धुन लगाऊ, यसरी पढ्नै मन नलाग्ने गरी नगर मात्र भनेका हौं,’ अग्रवालले भने, ‘त्यहीबेला एक जना विद्यार्थीले हतियारसहित गुन्डाहरू आए भनेर हल्ला गरेपछि समस्या भएको हो।’

अग्रवालका अनुसार पीडित विद्यार्थीलाई पहिलो दिन राति करिब एक बजेतिर सिनियर विद्यार्थीहरू कोठामा आएर पेन्ट खोल्न लगाएर घोप्टो पारेर उठबस गर्न लगाएका थिए। तथानाम गालीगलौज पनि गरेका थिए। यो घटनापछि ती विद्यार्र्थी दोस्रो दिनदेखि होस्टल नै जान नमानेको उनले बताए। ‘आमा, दिदी, बहिनीको उमेर सोधेर तथानाम गाली गरेछन्। पेन्ट खोल्न लगाएर घोप्टी भनेछन्,’ उनले भने, ‘होस्टल नै जाँदिन बरु पढ्दिन, झुन्डिएर मर्छु भनेपछि सम्झाउन गएका हौं। यसरी -यागिङको नाममा हुने यातना, ज्यादती बन्द हुनुपर्छ।’

प्रतिष्ठानका पूर्वविद्यार्थीहरूका अनुसार एमबिबिएस, बिडिएस, बिएमआइटीलगायत सबै नयाँ विषयका विद्यार्थीहरूमाथि हरेक वर्ष -यागिङ हुन्छ। -यागिङ कुन हदसम्म हुन्छ भने झन्डै दुई महिनासम्म त डरले विद्यार्थीहरू होस्टलमा नै बस्दैनन्। ती विद्यार्थीहरू बाहिर डेरा लिएर बस्छन्। सामान्य चिनजान गर्ने, नयाँ विद्यार्र्थीहरूलाई अनुशासन सिकाउने भनेर दिइएको छुटले प्रतिष्ठानमा भने विकृतिको रूप लिएको छ। ‘सुरुको एक–दुई महिना त -यागिङको डरले नयाँ विद्यार्थीहरू मानसिक रूपमा एकदमै विक्षिप्त हुन्छन्। अर्को वर्ष त्यही विद्यार्थी सिनियर भएर नयाँलाई -यागिङ गर्छन्। यो विकृतिलाई अन्त्य गर्नुपर्छ,’ नाम नखुलाउन आग्रह गर्दै एक सिनियर विद्यार्थीले भने।

‘छानबिन र कारबाही हुन्छ’
मंगलबार रातिको घटनाको विषयमा बुधबार पीडित विद्यार्थीका अभिभावकसँग डिन कार्यालयमा छलफल भएको थियो। सिनियर विद्यार्थीले आफूहरूको सुरक्षाको कुरा उठाएका थिए भने अभिभावकहरूले पनि -यागिङ नहुने ग्यारेन्टी हुनुपर्ने माग गरेको प्रतिष्ठानका डिन सिबि झाले जानकारी दिए। ‘केही विद्यार्थीले हामीलाई धम्की दिइएको छ, बाहिर निस्किँदा केही भयो भने हाम्रो सुरक्षाको जिम्मा कसले लिने भनेर कुरा उठाए,’ डिन झाले भने, ‘बाहिर त्यस्तो घटना नहुने तर भित्र -यागिङ पनि नगर्ने कुरा भयो।’

डिन झाका अनुसार -यागिङ गैरकानुनी भएकाले कसैले गरेको उजुरी परेमा छानबिन र कारबाही हुने बताए। विगतमा पनि कारबाही भएको उल्लेख गर्दै उनले प्रतिष्ठान -यागिङ हुन नदिन प्रतिबद्ध भएको पनि दाबी गरे। ‘-यागिङ विकृति हो। हामी हुन नदिन सचेत छौं। यो घटनाको बारेमा पनि छानबिन र कारबाही हुन्छ,’ डिन झाले भने, ‘अभिभावकहरूले पनि प्रशासन वा वार्डेनलाई कम्प्लेन गर्नुपर्छ, एक्कासी होस्टलभित्र प्रवेश गर्न मिल्दैन, यही कुरा सम्झाएका छौं।’

प्रकाशित: २४ माघ २०७६ ०२:३७ शुक्रबार

अभिभावक थुनिए बिपी_कोइराला_स्वास्थ्य_विज्ञान_प्रतिष्ठान