१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

अन्नपूर्ण पदमार्गमा हिमपहिरो, पर्यटक हराएको आशंका

पोखरा- हिमपहिरोमा परेर अन्नपूर्ण आधारशिविर (एबिसी) को पदमार्गमा केही विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समूह हिमपहिरोमा परेको प्रहरीले बताएको छ। पर्यटकलाई लिएर पदयात्रामा गएका गाइड पनि हिमपहिरोमा परेका छन्।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार शुक्रबार दिउँसो ती पर्यटक हिमपहिरोमा परेका हुन। उक्त क्षेत्रमा लगातार हिमपात भईरहेको र सञ्चारसम्पर्क नभएकोले पनि सम्पर्कविहीन भएका पर्यटकको अवस्थाबारे जानकारी पाउन नसकेको कार्कीले बताए। कार्कीका अनुसार पाँचजना कोरियन पर्यटक हिमपहिरोमा परेका थिए। ती मध्ये एकजनाको घाइते अवस्थामा उद्धार भएको छ। अरु चारजना कोरियन पर्यटक सुरक्षित रहेको उनले बताए। तर, चिनियाँ पर्यटकको बारेमा भने जानकारी नआईसकेको उनले बताए।

‘केही पर्यटक हिमपहिरोमा परेर हराएको आशंका गरिएको छ। सञ्चार सम्पर्क नभएको र उद्धारका लागि खटिएको प्रहरी टोली घटनास्थलतर्फ गइरहेकोले यकिन जानकारी आएको छैन,’ उनले भने, ‘लगातार हिउँ परेकोले पनि उक्त क्षेत्रमा उद्धारमा पुग्न कठिनाई भएको छ।’ घान्द्रुकबाट प्रहरी घटनास्थलतर्फ गईरहेको उनले बताए। स्थानीयबासीसँग सम्पर्क गर्ने प्रयास भईरहेको कार्कीले जानकारी दिए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का घान्द्रुकस्थित संरक्षण अधिकृत बिदुर कुइकेलले भने एकजना नेपाली गाइड मात्र हिमपहिरोमा परेर बेपत्ता भएको जानकारी दिएका छन्। ती गाइडको पहिचान खुलेको छैन। ‘पर्यटक लिएर हिडिरहेको बेला एकाएक माथिबाट हिमपहिरो झरेको हो,’ कुइँकेलले भने, ‘एकजना गाइड सम्पर्क विहीन भएका छन्। तर, उनीसँगै रहेका अर्का एकजना पोर्टर भने सुरक्षित छन्।’ पदयात्रामै रहेका कोरियन पर्यटक पनि हिमपहिरोको चपेटामा परेको उनले बताए। पदयात्रामै रहेका चिनियाँ पर्यटकको बारेमा जानकारी नपाएको उनले बताए।

कुइकेलका अनुसार शुक्रबार दिउँसो १२ बजेतिर देउराली र हिङ कु केभको बीचमा हिमपहिरो झरेको थियो। उनका अनुसार अरुबेला पनि त्यो ठाउँमा हिमपहिरो आउने गर्छ। ‘हरेक वर्ष यो सिजनमा त्यो ठाउँमा हिमपहिरो झर्छ। त्यसैले जोखिमयुक्त ठाउँ हो,’ कुइकेलले भने, ‘हामीले एबिसी पदयात्राका पर्यटकलाई सुरक्षित हुन सुचित गरेका छौ। सावधानी अपनाएर मात्र पदयात्रामा जान आग्रह गरेका छौ।’ शुक्रबार पहिरो झरेको स्थानबाट एबिसी पुग्न कम्तिमा एकदिन लाग्ने उनले बताए। अफसिजन भएकोले यतिबेला पदयात्रामा जाने विदेशीको संख्या कम छ। दैनिक ५० जनाको हाराहारीमा पर्यटक पदयात्रामा गएको उनले बताए। हिउँ परेपछि कतिपय पर्यटक दोभानबाट फर्केको पनि उनले बताए। देउराली भन्दा अघि नबढ्न पर्यटकलाई अनुरोध गरेको उनले जानकारी दिए।

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघको विपद् व्यवस्थापन संयोजक दीपक अधिकारीका अनुसार पदयात्रामा रहेका केही विदेशी पर्यटक र उनीहरुका साथमा रहेका गाइड र पोर्टर हिमपहिरोमा परेपनि क्षतिको विवरण पुष्टि हुन सकेको छैन। अत्यधिक हिमपात भईरहेको र सञ्चार सम्पर्क पनि नभएकोले त्यस क्षेत्रमा भएको घटनाबारे पुष्टि हुन नसकेको उनले बताए। अधिकारीका अनुसार पदयात्राका क्रममा एबिसी पुगेर फर्किने क्रममा पर्यटक र उनीहरुका नेपाली सहयोगी हिमपहिरोमा परेका हुन्।

तर, कतिजना हिमपहिरोमा परेको भन्ने यकिन नभएको उनले बताए। ‘एकजना नेपाली गाइड सम्पर्कविहीन भएको जानाकारी पाएका छौ। विदेशी पर्यटक पनि हिमपहिरोमा परेको आशंका छ। तर, पुष्टि हुन सकेको छैन,’ अधिकारीले भने, ‘यतिबेला बढी हिउँ परेकोले त्यो क्षेत्रमा कुनैपनि बेला हिमपहिरो झर्न सक्ने जोखिम छ।’

हिमपहिरोले मोदी नदीबाट करिब १ सय ५० मिटर दुरीमा रहेको पदमार्गमा हिडिरहेका पर्यटक र गाइड परेको उनले बताए। ‘साह्रै जोखिमपूर्ण ठाउँ हो। त्यो ठाउँबाट चिप्लिँदा पनि मोदीमा खसिन्छ  नियमित हिमपहिरो आउने ठाउँ पनि हो,’ उनले भने। अधिकारीले पनि उद्धारका लागि प्रयास भइरहेको बताए। ‘सञ्चार सम्पर्क नभएकोले पनि यकिन विववरण आउन नसकेको उनले बताए।

अन्नपूर्ण गाउँपालिका–११ का अध्यक्ष हिमबहादुर गुरुङले पनि हिमपहिरो आएको बताए। उनले पनि क्षतिको विवरण आउन नसकेको जानकारी दिए। ‘हिमपातले सञ्चार सम्पर्क हुन सकेको छैन,’ उनले भने,‘हिमपहिरो आएको खबर पाएका छौ। तर पुरै विवरण आइसकेको छैन।’

 

 

 

 

प्रकाशित: ३ माघ २०७६ ११:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App