२७ पुस २०८१ शनिबार
image/svg+xml
समाज

सडकको बास छुटाएर आश्रय

बेसहारालाई सडकपेटीबाट उद्धार गरिँदै। तस्बिर सौजन्य : नरेन्द्र केसी

दाङ – केही दिनअघि जिल्लाका मुख्य बजार क्षेत्रमा मानसिक सन्तुलन गुमेका नागरिकलाई खोज्दै एउटा समूह खटियो। त्यस्ता नागरिकको खोज अभियान देखेर सर्वसाधारण पनि अचम्मित भए। यो समूहले सडकपेटीलाई आश्रय बनाएर बसेका मानसिक सन्तुलन गुमेका कुनै नागरिकलाई पनि छोडेन। सम्झाइबुझाई गाडीमा राख्यो। उनीहरूलाई सडकबाट उठाउनुको प्रमुख कारण थियो– उनीहरूको उद्धार। यो समूहले सबैलाई सिसहनियाँस्थित सेफ हाउसमा पु-यायो। उनीहरूको अहिले त्यहीँ राखेर खानपानसहित उपचार भइरहेको छ।

‘निलसागर असहाय अशक्त तथा ज्येष्ठ नागरिक केन्द्र’ले थालेको यो अभियानका कारण अहिले जिल्लाका बजार क्षेत्रमा त्यस्ता नागरिक भेटिन छोडेका छन्। स्थानीय सरकारको समन्वयमा सो संस्थाले सडकमा रहेका बेसहाराको उद्धार गरेर न्यानो घरमा पु¥याउने गरेको छ। ‘हामीले मानसिक सन्तुलन गुमाएर सडकमा जीवन बिताइरहेका नागरिकको उद्धार गर्ने अभियान चलाएका हौं,’ केन्द्रका अमन सुवेदीले भने, ‘यो विशुद्ध मानव अधिकार संरक्षणका लागि थालिएको अभियान हो।’ उनका अनुसार जिल्लाको सिसहनियाँस्थित सेफ हाउसमा मानसिक सन्तुलन गुमाएका तथा अन्य बेसहारा गरी ३३ जनालाई आश्रय दिइएको छ। सडकबाट उद्धार गरी सेफ हाउस पु¥याउँदै आएको यो अभियानको प्रमुख उद्देश्य भनेको उनीहरूलाई उपचारपछि परिवारमा पुनस्र्थापित गर्नु हो। मानसिक रोगको उपचारपछि आफ्नो परिवार पहिचान गर्न सकेका ३ सय ३ जनालाई पुनस्र्थापित गरिसकिएको सुवेदीले बताए।

नेपालगन्जमा मुख्य कार्यालय रहेको सो केन्द्रले बाँके, बर्दिया, दाङ, पाल्पा र पोखरामा यस्ता सेफ हाउस खडा गरी मानसिक सन्तुलन गुमाएकाहरूलाई आश्रय दिइरहेको छ। यी सबै आश्रय स्थलमार्फत ६ सय ६ जनाको उद्धार गरिएको सुवेदीले बताए। ‘हामीले अहिलेसम्म प्रदेश ५ का विभिन्न जिल्लामा थालिएको अभियानका क्रममा ६ सय ६ जनाको उद्धार गरिसकेका छौं,’ उनले भने, ‘यीबाहेक भारतको दिल्लीमा भारतीयबाट ठगिएका तथा कुटिएका २ सय ७ जनालाई उद्धार गरेर घर पठाएका छौं।’

यस्तो अभियान बाँकेकी सरिता खनालले २०७२ सालदेखि सुरुवात गरेकी थिइन्। आफूसँगै जापान जाने तयारी गरिरहेका भाइ बिदुर खनालको सवारी दुर्घटनामा निधन भएपछि विक्षिप्त बनेकी सरिताले आफ्नो तथा मानसिक सन्तुलन गुमाएका अन्य नागरिकको मनोपरामर्शका लागि निलसागर असहाय अशक्त तथा ज्येष्ठ नागरिक केन्द्र सञ्चालनमा ल्याइन्। उनको अभियानको सुरुवाती चरणमा बाँकेको बागेश्वरी मन्दिर क्षेत्रबाट ८ जना यस्ता नारिकको उद्धार भएको थियो। मानव अधिकारका लागि थालिएको सो अभियानले २०७२ असोज १२ गते औपचारिकता पायो। बाँके जिल्ला प्रशासन कार्यालयले त्यो बेला यो संस्था दर्ता गरेको थियो।

उद्धार गरिएका नागरिकको निरन्तर उपचार व्यवस्था गरिएको छ। मनोरोग विशेषज्ञ तीनजनाले उनीहरूको उपचार गर्दै आएका छन्। ‘तीनजना मनोरोग विशेषज्ञ चिकित्सकले पालैपालो उपचार दिँदै आउनुभएको छ,’ सुवेदीले भने, ‘उहाँहरूले पनि उपचार गरेबापत कुनै शुल्क लिनुभएको छैन, उहाँहरूले पनि यो अभियानलाई सहयोग गर्नुभएको छ।’
बाँकेमा तीनवटा सेफ हाउस सञ्चालनमा ल्याएको सो केन्द्रले बर्दियामा पनि तीनवटा सेफ हाउस सञ्चालनमा ल्याएको छ। यसैगरी दाङ, पोखरा र पाल्पामा एक÷एकवटा सेफ हाउस सञ्चालित छन्। अहिले जिल्ला जिल्लामा पुगेर बेसहाराको उद्धार गरिरहेको सो केन्द्रकै पहलमा केही स्थानीय तहले आफ्नो क्षेत्रलाई ‘सडक मानवमुक्त क्षेत्र’का रूपमा समेत घोषणा गर्दै आएका छन्। अहिलेसम्म सरकारी सहयोग प्राप्त नभएको यो अभियानलाई सामाजिक विकासमन्त्री सुदर्शन बरालले तीन लाख रूपैयाँ सेफ हाउस निर्माणका लागि सहयोग गरिदिने आश्वासन दिएको सुवेदीले जानकारी दिए।

प्रकाशित: २७ पुस २०७६ ०३:३६ आइतबार

आश्रय सडक_बास