१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सामाग्रीहरु एकै दिन बिक्री भएपछि खुसी भए राउटे

स्टलमा राखिएका सामाग्री बिक्री गर्दै राउटे युवा । तस्बिर: नागरिक

वीरेन्द्रनगर- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शुक्रबारदेखि जारी प्रथम राष्ट्रिय औद्योगिक व्यापार, कृषि नविनतम् प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सवमा राउटे समुदायले राखेका सामाग्री एकै दिनमा सबै बिक्री भएका छन्। उनीहरूले बनाएका सामाग्री दर्शकको रोजाइमा पर्न थालेको छ।

नागरिक दैनिकमा ‘बिकेनन् राउटेले बनाएका सामाग्री’ भन्ने शीर्षकमा समाचारसमेत प्रकाशित भएको थियो। राउटे समुदायले राखेका कोसी, पिर्का, मधुस सबै बिक्री भएको स्टल सञ्चालनमा सहयोग गरिरहेको राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष सत्यदेवी खड्काले बताइन्।

‘हिजो(सोमबार) सम्म सामग्री बिक्री भएको थिएन,’ उनले भनिन्, ‘मंगलबार स्टलमा राखिएका सबै सामाग्री सकिए।’ सबै सामाग्री सात हजार रूपैयाँमा बिक्री भएको उनको भनाइ छ। ‘अरु धेरै सामाग्रीको पनि माग थियो,’ उनले भनिन्, ‘तर समयमै सकियो।’ उक्त सामाग्री दिउँसोसम्म सबै बिक्री भइसकेको थियो। बिक्रीका लागि राखेका सबै सामाग्री बिक्री भएपछि राउेट समुदाय खुसी भएका छन्।

‘हामीले बनाएका सबै बिक्री भए,’ राउटे युवा शिवराज शाहीले भने, ‘अब अरु पनि ल्याउँछौं।’ सामाग्री सकिएपछि उनीहरू आफ्नो बस्तीमा फर्किएका छन्। बस्तीबाट थप सामाग्री ल्याउने उनीहरूको भनाइ छ। आफूले बनाएका सामाग्री बिक्री भएपछि उनीहरू थप उत्साहित भएका छन्। यसले उनीहरूको व्यापार व्यवसायमा प्रोत्साहन हुने अपेक्षा गरिएको छ।

मेला महोत्सवमा उनीहरूले राखेको सामाग्री खरिद गर्दा उनीहरूमा सकारात्मक प्रभाव पर्ने राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपाल कर्णाली प्रदेशकी अध्यक्ष कृष्णादेवी ओलीले बताइन्। ‘एक होटेल व्यापारीले एक हजारवटा राउटे समुदायले बनाएका थालीको माग गरेका छन्,’ उनले भनिन्, ‘यो उनीहरूलाई व्यावसायिक बनाउन राम्रो अवसर भयो।’

कर्णाली प्रदेशसभाकी उपसभामुख पुष्पा घर्ती (विष्ट)ले पनि उनीहरूको चिनोस्वरुप सामाग्री खरिद गरेकी थिइन्। यहाँ स्टलमा केही फुटेका सामाग्री मात्रै बाँकी रहेको बताइएको छ। राउटे बस्तीबाट महोत्सवस्थलसम्म उनीहरूका सामाग्री ल्याउन समस्या भएको अध्यक्ष राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष खड्काले बताइन्।

 

 

प्रकाशित: ८ पुस २०७६ १२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App