७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

जन्मदर्ता हुने बित्तिकै बैंँक खाता

जुम्ला- जुम्लाको पातारासी गाउँपालिकाले हरेक नयाँ जन्मने बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ। जन्मदर्ता प्रमाण पत्र बन्ने बित्तिकै खाता खोलेर गाउँपालिकाले तीन हजार रुपैयाँ जम्मा गरिदिने गरेको हो।

बच्चा जन्मिएपछि जन्मदर्ता गराएलगत्तै गाउँपालिकाले ३ हजार रुपैयाँ बैंक खातामा जम्मा गर्छ, गाउँपालिका अध्यक्ष लछिमान बोहोरा भन्छन्, ‘त्यो खातामा अभिभावकले ३ हजार रुपैयाँ जम्मा गर्नुपर्छ। एकमुष्ट खातामा ६ हजार रुपैयाँ जम्मा हुन्छ। यो बालबालिकाको भविष्यको एउटा आधार बनेको छ। सबै जनतालाई बैंकको पहुँचमा पुर्‍याउन र वित्तिय साक्षरता अभिवृद्धि गराउन गाउँपालिकाले यो कार्यक्रम ल्याएको हो।

स्वास्थ्य संस्थामा नियमित गर्भ जाँच गराएका, स्वास्थ्यकर्मीले दिएको सुझाव अनुसार स्वास्थ्य संस्थामै जन्मिएका बच्चाको नाममा बैंक खातामा खोलिदै आएको छ। गत वर्षदेखि सुरु भएको यो कार्यक्रम निकै प्रभावकारी भएको स्थानीय बताउँछन्। बच्चाको बैंक खाता खोल्न स्वास्थ्य संस्थामा गएर सुत्केरी भएको प्रमाण गाउँपालिकामा पेश गर्नुपर्छ।  

पछिल्लो समयमा गाउँपालिकाले बच्चाको नाममा खाता खोलिदिएर रकम जम्मा गर्न थालेपछि यहाँका गर्भवती महिला नियमित गर्भजाँच गराउदै आएका छन्।

बालबालिकाको उच्च शिक्षा अध्ययनमा सहयोग पुगोस भनेर बालबालिकाको नाममा बैँक खाता खोलिदिने नीति तथा कार्यक्रमको सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा बताउँछन्। उनका अनुसार स्वास्थ्य संस्थामा बच्चा जन्मिएको प्रमाणसहित जन्मदर्ता गराएकै दिन बैँक खाता खोलेर रकम जम्मा गरिन्छ।

गत वर्षसम्म २ हजार ५ सय रुपैयाँ जम्मा गर्दे आएकोमा यो बर्ष पाँच सय रुपैयाँ थप गरेर तीन हजार पुर्‍याइएको हो।

अहिले विभिन्न उत्सवका नाममा खर्च गर्ने होडबाजी छ, अध्यक्ष बोहोरा भन्छन्,  ‘कम्तिमा बालबालिकाकै खाता भयो भने बचत गरिदिउँ भन्ने अभिभावकको मनमा पक्कै पर्छ'। यसले आर्थिक अवस्था बलियो बनाउँछ।
 

 

प्रकाशित: ६ पुस २०७६ ११:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App