दोलखा - चरिकोट–खाडीचौर सडकमा ढिलाई गर्ने ठेकेदार कम्पनीले दुई तर्फी काम सुरु गरेर पुस महिना भित्र ग्राभेल बिच्छ्याउने सहमती भएपनि चरिकोटबाट एक तर्फी मात्र आशिंक काम सुरु गरेको छ। ५ वर्षदेखि अलपत्र परेको चरिकोट–खाडीचौर सडकमा ठेकेदारको ढिलासुस्ती र लापरबाही विरुद्ध जिल्लामा नागरिक आन्दोलन चर्किएपछि दुई साताअघि ठेकेदार कम्पनी, सडक आयोजना र नागरिक आन्दोलनका अभियान्ताबिच सिन्धुपाल्चोकको मुडेमा भएको वार्तामा दुबै तर्फबाट काम सुरुगर्ने सहमति भएको थियो।
सिन्धुपाल्चोकको खाडीचौर बजारदेखि मुडेभन्दा तल्लो मोडसम्मको पहिलो र उक्त स्थानदेखि चरिकोटसम्म दोस्रो गरेर दुई खण्डमा छुट्टा छुट्टै निर्माण व्यवसायी मार्फत भइरहेको विस्तारको काम मध्ये दोस्रो खण्ड कामको जिम्मा पाएको शंकरमाली निर्माण सेवाले चरिकोट र मुडे गरेर दुबै तर्फबाट काम सुरुगर्ने सहमति भएपनि एकतर्फी मात्रै काम सुरु भएको हो। कम्पनीले चरिकोट बजारबाट संसारी डाँडा भन्ने स्थानसम्म सडकको सतह मिलाएर ग्राभेल गर्ने सुरु गरेको छ।
‘मुडेदेखि चरिकोटसम्मको खण्डका ठेकेदार कम्पनीले पुसमा ग्राभेल सक्ने प्रतिवद्धता गरेपनि कामले तिव्रता पाउन नसकेको सडक निर्माण आयोजनाका प्रमुख दिप बाराहीले बताए। उनले भने–‘उक्त कम्पनीलाई चरिकोटसँगै मुडेबाट समेत काम सुरु गर्न निर्देशन दिएका छौं’। उनका अनुसार काममा ढिलासुस्ती भएका कारण यो खण्ड बढी अलपत्र परेको छ।
दोस्रो खण्डका ठेकेदारले पुसभित्र ग्राभेल बिच्छ्याउने काम नसके पुनः आन्दोलनमा उत्रिने चरिकोटका नागरिकका स्थानीय चिरञ्जीवी मास्केले बताए। यता खाडीचौर बजारदेखि मुडेसम्मको २५ किलोमिटर खण्डमा काम गरिरहेको गौरीपार्वती निर्माण सेवाले भने १६ किलोमिटरसम्म कालोपत्रे सकाएको छ। अहिले उसले बाँकी ठाउँमा ग्राभेल बिच्छ्याउने काम गरिरहेको आयोजना प्रमुख बाराहीले बताए।
अरनीको राजमार्ग अन्तर्गत खाडीचौर बजारदेखी दोलखा सदरमुकाम चरिकोट हुँदै जिरीसम्मको लामोसाँघु सडकलाई दोहोरो लेनको बनाउने भन्दै भारितय एक्जीम बैंकको ऋण अनुदानमा सडक विभागले पहिलो चरणमा दुई वटा खण्डमा बाडेर खाडीचौर चरिकोट सडकको टेण्डर ५ वर्ष अघि निकालेको थियो। यहाँको काम गर्ने जिम्मेवारी लिएको सुनौला खिम्तीका सञ्चालक कर छली सम्बन्धी मुद्दामा तानिएपछि अलपत्र परेको यो सडकमा अर्को साझेदार गौरीपार्वती निर्माण सेवाले काम गरिरहेको छ। ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक अलपत्र परेपछि दोलखावासीले दुई महिनादेखी आन्दोलन चर्काउँदै आएका थिए।
प्रकाशित: ६ पुस २०७६ ०३:१५ आइतबार