१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

पम्पिङ आयोजनामा चरम ढिलासुस्ती, मन्त्रालयको चासो

खोटाङ– खानेपानी मन्त्रालयले हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काम आगामी असारसम्ममा सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएको छ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी निकाल्नका लागि सुरु गरिएको ९६ करोड बढिको पम्पिङ खानेपानी आयोजनाको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएपछि अनुगमनमा आएका मन्त्रालयका सचिव माधव बेलबासेले आगामी असारसम्ममा जुनसुकै हालतमा आयोजनाको सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएका हुन्। सोमबार हलेसीमा आयोजित ठेकेदारसहितको सर्वपक्षीय भेलामा सचिव बेलबासेले तोकिएको समयमा खानेपानी आयोजनाको काम सम्पन्न नगरे ‘एक दिन पनि म्याद थप नहुने’ चेतावनी दिएका छन्।

आयोजनाको काममा ढिलासुस्ती भएको र काम पनि गुणस्तरहिन भएको लिखित निवेदन परेपछि योजना अनुगमन गर्न हलेसी आइपुगेका सचिव बेलबासेले असारसम्ममा काम सक्नेगरी दैनिक कार्य तालिका निर्माण गरेर पेश गर्न ठेकेदारलाई भनेका छन्। बृहत पम्पिङ खानेपानी आयोजनाको काम गुणस्तरहिन भएको गुनासो आएको उल्लेख गर्दै सचिव बेलबासेले अनुगमन समिति गठन गरेर नियमित अनुगमनको व्यवस्था मिलाउन खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासलाई निर्देशन दिए।

गत मंसिर १६ गते गरिएको सर्वदलीय अनुगमनका क्रममा बृहत पम्पिङ खानेपानी आयोजनाको कामको प्रगती निरासाजनक र गुणस्तरहिन देखिएपछि हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी तथा सरसफाई उपभोक्ता समितिले ठेकेदारलाई कारवाहीका लागि भोलीपल्टै खानेपानी मन्त्रालय समक्ष सिफारिस गरेपछि टोली आयोजनास्थल आइपुगेको हो।

दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मुख्य लाईनको ठेक्का लिएको ठेकेदार कम्पनी दिवा–महादेव खिम्ती जेभी, वितरण लाईनतर्फको काम गरिरहेको लामा कन्ट्रक्सन प्रालि र रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीको काममा चरम ढिलासुस्ती देखिएको छ।

तोकिएको समयमा काम सम्पन्न नभए आमरण अनसन नै बस्नुपर्ने अवस्था आउने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

 

प्रकाशित: १ पुस २०७६ १४:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App