६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

वर्षा र हिमपातले जनजीवन कष्टकर

रामेछाप – शुक्रबार बिहानदेखि करिब २४ घण्टा भएको वर्षा र हिमपातले जिल्लाको उच्च भेगको जनजीवन कष्टकर बनेको छ। लेकका अधिकांश क्षेत्रका सडक हिमपातले अवरुद्ध बन्दा यातायात सेवासमेत प्रभावित बनेको छ। आवागमन सहज नहुँदा सर्वसाधारण मारमा परेका छन्।

जिल्लाको दोरम्बा, उमाकुण्ड र गोकुलगंगा गाउँपालिकाका उच्च क्षेत्रमा अत्यधिक हिमपात भएको स्थानीयले बताएका छन्। ती गाउँपालिकाका अग्ला डाँडाहरूमा यतिबेला हिउँले ढपक्क ढाक्नुका साथै घरआगनमै हिमपात भएपछि जनजीवन कष्टकर बनेको छ। हिमपातले अत्यधिक चिसो बढेको र घरबाट बाहिर निस्कन सक्ने अवस्था नै नरहेको कुभुकास्थलीकी अनिता बस्नेतले बताइन्।

दोरम्बा गाउँपालिकाको शैलुङ क्षेत्र, डडुवा र गोश्वारा, उमाकुण्ड गाउँपालिकाको गुम्देल, कुभुकास्थली, बाम्ती, प्रिती, गुप्तेश्वर र गोकुलगंगा गाउँपालिकाको बेताली, चुचुरे, रस्नालु र ठोसेका अग्ला भूभागमा बाक्लो हिमपात भएको छ। शैलुङ क्षेत्रमा ४/५ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन्।

हिउसँगै चिसो पनि अत्यधिक बढेको गुम्देलकी शिक्षिका सची कार्की बस्नेतले बताइन्। निरन्तरको वर्षाले सेर्दिङ, क्यामा र लाच्छोरका अग्ला भूभागमा बाक्लो हिमपात भएको उनले जानकारी दिइन्।चिसोका कारण लेकक्षेत्रमा शुक्रबारदेखि पठपाठनसमेत प्रभावित बनेको छ। निरन्तरको वर्षा र हिमपातका कारण जिल्लाको लेक क्षेत्रको जनजीवन प्रभावित भए पनि अप्रिय घटना भने नभएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरिक्षक सन्तोषकुमार भट्टराईले बताए।

ओखलढुंगामा हिमपात
ओखलढुंगाको माथिल्लो भेगमा शुक्रबार बेलुकादेखि हिमपात भएको छ। सिद्धिचरण नगरपालिका–६ जन्तरखानीको ठाँडेडाडा, खिजिदेम्बा गाउँपालिकाको खिजिफलाटे, पात्ले, काती, रावादोलु, भुसिंगालगायत क्षेत्रमा हिमपात भएको हो। हिमपातसँगै रातभर झरी भएकाले चिसो बढेको छ। चिसोका कारण जिल्लाको उच्च भेगका स्थानीयको जनजीवन कष्टकर बनेको छ।

अधिकांश बालबालिका, ज्येष्ठ नागरिक र विद्यार्थी चिसोले प्रभावित भएका छन्। विद्यार्थीलाई पठनपाठनमा समेत समस्या भएको ग्रेस एकेडेमी ठाँडेका अध्यक्ष हरिकुमार मगरले बताए। ठाँडे र पत्ताले सडक क्षेत्रमा हिउँ जमेकाले ओखलढुंगा हुँदै सोलुखुम्बु सल्लेरी चल्ने सवारीसाधन आवागमनमा समस्या भएको छ।

प्रकाशित: २९ मंसिर २०७६ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App