१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

हलेसीमा बन्ने भयाे सुविधासम्पन्न धर्मशाला

त्रि–धार्मिकस्थल हलेसीमा धर्मशाला शिलान्यास गर्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र नेपाल आयल निगमका ट्रेड युनियन अध्यक्ष देवी न्यौपाने। तस्बिर : नागरिक

खोटाङ – खोटाङको धार्मिक तथा पर्यटकीय स्थल हलेसीमा सुविधायुक्त धर्मशाला बन्ने भएको छ। किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा नेपाल आयल निगमको सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमबाट धर्मशाला शिलान्यास गरिएको हो। आयल निगमको आयोजनामा त्रि–दिवसीय वैद्धिक विधि गर्दै हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र नेपाल आयल निगमका ट्रेड युनियन अध्यक्ष देवी न्यौपाने (बाबुराम) ले धर्मशाला शिलान्यास गरेका छन्। शिलान्यासका लागि निम्त्याइएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अनुपस्थितिमा मेयर राई र ट्रेड युनियन अध्यक्ष न्यौपानेले संयुक्त रूपमा धर्मशाला शिलान्यास गरेका हुन्।

दैनिक स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्ने हलेसीमा निगमको आर्थिक सहयोगमा करिब १६ रोपनी क्षेत्रफलमा धर्मशाला निर्माण गर्न लागिएको हो। सुविधा सम्पन्न भवन, सुविधा सम्पन्न कोठा, पार्किङ स्थल, बगैंचा, योगस्थललगायत संरचनासहितको धर्मशाला निर्माणका लागि निगमले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्ष गरी दुई चरणमा रकम उपलव्ध गराउने सम्झौता गरिएको मेयर राईले बताए।

हलेसीभन्दा केही माथि रहेको गुराँसेस्थित सार्वजनिक जग्गामा सामान्य नागरिकदेखि भिआइपीलाई राख्न मिल्ने किसिमको धर्मशाला बनाउने तयारी थालिएको हो। धर्मशाला निर्माणका लागि पुस पहिलो हप्ता टेन्डर खुलाइने मेयर राईले बताए। नगरपालिका र निगमबीचमा दुई वर्षभित्र धर्मशाला निर्माणको काम पूरा गर्ने सम्झौता छ। ‘धर्मशाला भन्नेबित्तिकै केही नहुने वा नसक्नेले आश्रय लिने ठाउँका रूपमा बुझ्ने गरिन्छ,’ मेयर राईले भने, ‘हामीले बनाउन लागेको धर्मशालामा सामान्य नागरिकदेखि भिआइपीलाई समेत राख्न मिल्ने किसिमले बनाउन लागेका छौं।’

हलेसीमा यसअघि बनाइएका कतिपय धर्मशाला जीर्ण बनेको र कतिपय कामै नदिने अवस्थामा पुगिसकेको अवस्थामा अर्को सुविधा सम्पन्न धर्मशाला निर्माणको प्रक्रिया थालिएको हो। हलेसीको गुरुयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बेला हलेसीकै पर्यटन प्रवद्र्धनका लागि धर्मशाला निर्माणको काम अघि बढाइएको मेयर राईले बताए।

प्रकाशित: २८ मंसिर २०७६ ०२:२८ शनिबार

धर्मशाला हलेसी