१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बर्खामा खोला, हिउँदमा अँध्यारो

जाइकाले बनाएको विद्यालय भवन। तस्बिर/हिमनाथ

रसुवा - दिन छोटो भएको छ। चाँडै रात पर्छ। साढे ५ बज्दा अँध्यारो भइसकेको हुन्छ। यसकारण नुवाकोटको तादी गाउँपालिका–१, उर्लेनीकी सुनिता गुरुङलाई विद्यालय छुट्टी हुनासाथ घर पुग्न हतारो हुन्छ। उनी प्रायः आपूmसँग गाउँ फर्कने साथी खोज्दै हुन्छिन्।

उनी कक्षा ४ देखि नै रसुवाको नौकुण्ड गाउँपालिका–४, सरमथलीमा रहेको निर्कुभूमे माविमा पढ्दै आएकी छिन्। उनको घरबाट सो विद्यालय पुग्न करिब दुई घण्टा लाग्छ। ६ वर्षदेखि उनको विद्यालय जीवन यसैगरी चलिरहेको छ। ३ कक्षासम्म उनले गाउँकै विद्यालयमा पढिन्। गाउँमा पढ्दापढ्दै उनी काठमाडौं गइन्। काठमाडौं गएर कक्षा ३ मै भर्ना भएर एक वर्ष पढिन्। त्यसपछि फेरि गाउँ फर्किइन्। गाउँ फर्किएपछि उनी सो विद्यालयमा पढ्न थालेकी हुन्। अहिले उनी कक्षा १० मा पढ्छिन्। ‘जान आउनै गाह्रो छ,’ उनले भनिन्, ‘बर्खाको समयमा खोलाले थुन्छ अहिले चाँडै रात पर्छ।’

उर्लेनीकै सुवास पाठक क्षेत्रीले एक महिनाअघि विद्यालयनजिकै कोठा लिए। कक्षा ९ मा पढिरहेका उनले ट्युसन पढ्न हिँडेर आउन सम्भव नभएपछि गाउँमै कोठा लिएका हुन्। २ कक्षादेखि उनले यही विद्यालयमा पढिरहेका छन्। ‘एक महिनाअघिसम्म त म पनि हिँडेरै आउने जाने गर्थें,’ उनले भने, ‘तर अहिले बिहान पनि पढ्ने भएपछि आउनजान गाह्रो भयो।’ उनी मात्र होइन, कोचिङ तथा ट्युसन पढ्ने विद्यार्थीले गाउँमा कोठा लिइसकेका छन्।

विद्यालयका अनुसार तीनघण्टा यात्रा गरेर आउने विद्यार्थी धेरै छन्। तीमध्ये ५० भन्दा बढीले गाउँमा कोठा लिएका छन्। डेढ घण्टादेखि तीन घण्टासम्म हिँडेर आउने विद्यार्थी २ सयको हाराहारीमा छन्। टाढाबाट आउने विद्यार्थीले बोकेका झोलामा पाठ्यपुस्तकका साथै टर्च लाइट पनि रहेको हुन्छ। तर गाउँमा कोठा लिएर बस्दा होहल्ला हुने समस्याले पढाइमा असर पु-याउने विद्यार्थी बताउँछन्।

यसको विकल्पका लागि छात्रवास बनाउनुुपर्नेमा विद्यार्थी तथा शिक्षक एकमत छन्। विद्यालयसँग योजना पनि छ तर स्रोत छैन। छात्राबास बनाउन लामो समयदेखि पहल गर्दै आएको भए पनि यसको समाधान हुन नसकेको प्रधानाध्यापक डिलबहादुर धितालले बताए।

भवन बन्यो तर कक्षाकोठा साना

भूकम्प गएको साढे ४ वर्षपछि विद्यालय भवन तयार भएको छ। कक्षाकोठा साना छन्। यो विद्यालयमा ५ सय ४१ विद्यार्थी अध्ययनरत छन्। एउटा कक्षामा ९० जनासम्म विद्यार्थी छन्। भवन बनेको भए पनि ठूलो विद्यार्थी संख्या भएकाले कक्षा नयाँ भवनमा सार्ने अवस्था छैन। ‘हामीले सुरुमै ठुलो साइजका कक्षाकोठा बनाउन आग्रह गरेका थियौं,’ प्रअ धितालले भने, ‘उहाँहरूको नम्सअनुसार बनाउँदा अहिले समस्या सिर्जना भएको छ।’ भवनको माथिल्लो तलामा कार्यालय, कम्प्युटर ल्याब र साइन्स ल्याब राख्ने र बाँकी कोठामा थोरै विद्यार्थी भएका कक्षा सार्ने तयारी छ।

ठूला कक्षालाई पुरानै अस्थायी सिकाइ केन्द्र (टिएलसी) मा राखेर अध्ययन गराइने उनले बताए। उनका अनुसार विद्यालयमा रहेको बाल क्लब, इको क्लब, जुनियर रेडक्रस सर्कल, स्काउटको कार्यालय खडा गर्न, कार्यालयको प्रयोजन तथा ल्याबको व्यवस्थापनका लागि थप १२ वटा कोठा आवश्यक छन्।

प्रकाशित: २२ मंसिर २०७६ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App