२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मूलपानीमा हिंसामा परेका महिलालाई आश्रय स्थल

काठमाडौं - लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानका अवसरमा हिंसामा परेका महिलाका लागि मूलपानीमा आश्रय स्थल (सेफ हाउस) सञ्चालन गरिएको छ। एपेरियन नामक गैरसरकारी संस्थाले डेढ रोपनी क्षेत्रफलमा सात करोड रूपैयाँको लागतमा आश्रय स्थल निर्माण गरेको हो।

आश्रय स्थलको उद्घाटन राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले गरिन्। सो अवसरमा अन्सारीले आर्थिक रूपमा कमजोर महिला बढी हिंसामा पर्ने बताइन्। आश्रय लिइरहेका महिला कुनै पहिचान नै नभएको अवस्थामा रहेको बताउँदै उनले भनिन्, ‘लैंगिक हिंसामा पर्नु कसैलाई जरुरी छैन। तर, हिंसामा परेका विरुद्ध आवाज उठाउनु सबैलाई जरुरी छ।’ भवनमा आएका महिला प्रायः बलात्कृत, श्रीमानबाट विछोडिएका र वैदेशिक रोजगारमा गएर हिंसामा परेका बढी रहेको उनको भनाइ छ।

लैंगिक हिंसामा परेका महिला बालबालिकालाई गाँस, बास, कपास र मनोसामाजिक एंव कानूनी परामर्श उपलब्ध गराउने लक्ष्यले आश्रय स्थल सञ्चालन गरिएको मनोसामाजिक परामर्शदाता रेनु शाहले बताइन्। उनले आफ्नो संस्थामार्फत् हालसम्म चार सयभन्दा बढी महिलालाई दीर्घकालीन आश्रय दिएको बताइन्। सुरुवाती चरणमा घरेलु हिंसाबाट पीडित महिला आश्रयस्थलमा आउने गरे पनि हाल भने बहुविवाह, बलात्कृत बालिका र अविवाहित गर्भवती बालिका बढी आउने गरेको उनले जानकारी दिइन्। उनका अनुसार आश्रयस्थलमा आएका महिलालाई निःशुल्क मेडिकल सेवा, बच्चालाई आवश्यक शिक्षा, रोजगारी र छुट्टिएका परिवारसँग मिलनसमेत गराउने गरिन्छ।

भवनमा हाल १८ महिला र १२ बच्चाले आश्रय लिइरहेका छन्। बच्चाका लागि भवनको एक कोठामा प्रारम्भिक बालविकास केन्द्र (इडिपी) समेत उपलब्ध छ। भवन निर्माणपछिको १६ दिने अभियानमा बोल्दै एपेरियनकी प्रमुख कार्यकारी अधिकृत प्रज्ञा राईले हिंसामा परेका महिलालाई राख्नका लागि भवन निर्माण गरेको बताइन्। उनका अनुसार निर्मित भवनमा २० महिला र १२ बालिका सहजै बस्न सक्छन्।

काठमाडौंमा आश्रय स्थल भए पनि सिन्धुपाल्चोक, काभ्रे लगायतका जिल्लाका महिला बढी छन्। उनीहरू जिल्लाबाट वा गाउँपालिका÷ नगरपालिकाबाट सिफारिस लिएर त्यहाँ आउने गर्छन्। भवनमा महिला र बालिकालाई आश्रय दिए पनि सुस्तमनस्थिति भएका महिलालाई भने राखिँदैन। हाल अछाम, बझाङ, बाजुरा, बैतडी, ओखलढुंगा, सिन्धुली र उदयपुरमा पनि आश्रय स्थल सञ्चालनमा ल्याइएको छ। ‘समानताको पुस्ता, बलात्कारविरुद्ध एक्येबद्धता’ नारासहित १६ दिने अभियान आइतबार सुरु भएको छ।

प्रकाशित: १० मंसिर २०७६ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App