८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

देशभर चिसो बढ्यो

काठमाडौं – कात्तिकको सुरुवातसँगै चिसो बढ्न सुरु भएको छ। अरब सागरको पूर्वीमध्य भागमा विकसित भएको न्यून चापीय प्रणाली र बंगालको खाडीमा उत्पत्ति भएको न्यूनचापीय प्रणालीको कारण मध्य, पूर्व पहाडी तथा पश्चिमको आधा भागमा बदली भएको मौसमविद्ले जनाएका छन्।

‘दिउँसो बदली भएपछि स्वाभाविकरूपमा चिसो बढ्न सुरु हुन्छ। अब यो क्रम जारी रहन्छ,’ मौसमविद् मिनकुमानर अर्यालले भने। अर्यालका अनुसार कात्तिकको सुरुवातसँगै दिन छोटो हुने र रात लामो हुने क्रम पनि सुरु भएको छ। ‘यसबाट नेपालको मौसम बदलिएको छ,’ उनले भने। पछिल्लो २४ घण्टा काठमाडौंको अधिकतम तापक्रम २६.३ र न्यूनतम तापक्रम १२.४ पुगेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहीबार देशका मध्य तथा पूर्वी भू–भागमा सामान्य बदली रही बाँकीमा आंशिक बदली रहनेछ। यसैगरी मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमी पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।

यसैगरी शुक्रबार देशका मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। यसैगरी मध्य र पूर्वी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। शुक्रबार उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०७६ ०१:५८ बिहीबार

चिसो मौसम