११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

महिला हिंसाविरूद्ध आवाज उठाउने सुनिता साह रिहा

राजविराज – चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा प्रदर्शन गर्नसक्ने आशंकामा पक्राउ परेकी महिला अधिकारकर्मी रिहा भएकी छन्।

अन्तरपार्टी महिला संजाल सप्तरीकी जिल्ला अध्यक्षसमेत रहेकी सुनिता साह रिहा भएकी हुन् । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले साहलाई ५ हजार धरौटीमा रिहा गरेको हो ।

राजविराज–६, खरसालटोलस्थित निवासबाटै असोज २४ गते पक्राउ परेकी साह विरुद्ध प्रहरीको कमलपोखरी वृत्तले अभद्र ब्यवहारको मुद्दा चलाएको थियो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा भदौ २३ गते भएको प्रदर्शनमा नाम जोडेर साहलाई पक्राउ गरीएको थियो ।

समाजवादी पार्टीवाट संजालमा नेतृत्व गरिरहेकी साह पक्राउ परेपछि पार्टीका जिल्ला अध्यक्ष केदार यादवले भोलिपल्टै (शनिबार) प्रेस विज्ञप्ति जारी गरी उनी पार्टीको सदस्य नै नरहेको दाबी गरेका थिए ।

गत बैसाख १४ गते भएको तत्कालीन संघीय समाजवादी फोरम नेपाललको प्रदेश अधिवेशनमा प्रदेश सदस्यका लागि उम्मेदवारी दिएकी र प्रदेश सभा सदस्यको समानुपातिक सुचिमा समेत नाम रहेकी साहलाई पार्टीको सदस्य नै नभएको विज्ञप्ति जारी भएपछि पार्टीका नेता/कार्यकर्ता तथा स्थानीयवासी आश्चर्य चकित भएका छन् ।

आफनै पार्टीको जुझारु महिला नेतृलाई सदस्य नै नभएको विज्ञप्ति जारी गरेको विषयलाई स्थानीयवासीले अर्थपुर्ण रुपमा लिएका छन् ।

प्रकाशित: २ कार्तिक २०७६ ०३:२६ शनिबार

चिनियाँ_राष्ट्रपति_सी_चिनफिङ