७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

भिरबाट खसालेर ‘गौहत्या’

सुर्खेत - नेपालगञ्जबाट ल्याइएका छाडा चौपाया वीरेन्द्रनगरमा मृत भेटिएका छन्।  नेपालगञ्जको कान्जीहाउसबाट ल्याइएका दुई सय ९१ गाई मध्ये वीरेन्द्रनगर–८ स्थित कटकुवा जंगलमा २३ वटा मृत भेटिएका हुन्।  जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उदयसिंह सिजापतिका अनुसार आठ वटा ट्रकमा ल्याइएका गाइहरु शुक्रबार बिहान करिव साढे तीन बजेतिर कटकुवा जंगलमा छोडिएका थिए।

प्रहरीका अनुसार नौ वटा चौपायाहरुलाई भिरबाट खसालेर मारेको पाइएको छ।  कटकुवा जंगलमा फेला परेका मध्ये एक सय ५० भन्दाबढी चौपायाहरु घाइते छन्।  ‘बिहीबार राति साढे १२ बजेतिर चौपाया बोकेका आठ वटा ट्रक सुब्बाकुना प्रहरी चौकीमा इन्ट्री भएको देखिन्छ’ प्रहरी निरीक्षक सिजापतिले भने, ‘शुक्रबार बिहान साढे तीनदेखि चार बजेको समयमा कटकुवा जंगलमा लगेर छोडेको देखिन्छ। ’

स्थानीयहरुले सामुहिक गौहत्या गरिएको आरोप लगाएका छन्।  स्थानीय कृष्णप्रसाद खरेलका अनुसार नेपालगञ्जबाट ल्याइएका चौपाया गाडीबाट सिधै भिरमा खसालेको पाइएको छ।  प्रहरीले मृतक चौपायाको तथ्याङ्क संकलन गरिरहेको छ।  ‘करिव तीन किलोमिटरको दूरीमा चौपायाहरु छन्, भिरमा खसालेको अवस्थामा पनि मृतक चौपायाहरु फेला परेका छन्’ प्रहरी निरीक्षक सिजापतिले भने, ‘जिल्ला प्रहरी कार्यालयले मुचुल्का उठाइरहेकाले मृतक चौपायाहरुको संख्या अझै बढ्न सक्छ। ’ प्रहरीले चौपाया छोडेर नेपालगञ्ज फर्कँदै गरेका पाँच वटा ट्रकलाई बबईबाट नियन्त्रणमा लिएको छ।

प्रकाशित: १३ भाद्र २०७६ ०६:२६ शुक्रबार

गौहत्या चौपाया