४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

यस्तो बन्दैछ बुटवलमा थारु संग्रहालय

बुटवल– बुटवलमा थारु संग्राहलय बन्ने भएको छ। बुटवल उपमहानगरपालिकाले मोतिपुर सौरहियामा थारु समुदायको कला, संस्कृति झल्कने संग्रहालय निर्माण गर्न लागेको हो।

संग्रहालय निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन थालिएको छ। थारू जातिको इतिहास तथा संस्कृति बचाउने र नयाँ पुस्ताका लागि थारु संस्कृतिको पहिचान जोगाइराख्ने उद्देश्यले संग्रहालय निर्माण गर्न लागिएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताए।

मोतिपुर सौरहिया नजिकै नदी उकास क्षेत्रको करिब पाँच बिगाहा क्षेत्रफलमा संग्राहलय निर्माण हुनेछ। बुटवलको मोतिपुर थारु समुदाय बाहुल्य क्षेत्र भएकाले सोही क्षेत्रमा संग्राहलय निर्माण गर्न लागिएको मेयर सुवेदीले बताए।

संग्रहालयमा थारू कला संस्कृति झल्किने चित्र, मूर्ति, नक्सा, थारु भेषभूषा, गहना तथा प्रयोग हुने परम्परागत सामग्रीहरु राखिनेछ। संग्राहलय निर्माणका लागि डिपिआर नयाँ बनाउन परामर्शदाता कम्पनी छनोट भइसकेको छ।

डिपिआर बनाइरहेको परामर्शदाता कम्पनी रिप्पल ट्रेनिङ एण्ड कन्सल्टेन्ट सर्भिसेस प्रालि काठमाडौंका प्राविधिक र बुटवल उपमहानगरपालिका प्रमुख उपप्रमुख र प्राविधिकसहितको टोलीले आइतबार स्थानीय समुदायसँग सुझाव संकलनसमेत गरेको छ।

डिपिआरको पहिलो चरणको काम सकेर मस्यौदासहित प्रस्तावित  स्थानीय समुदायको सुझाव संकलन गरिएको र महत्वपूर्ण सुझावहरुले संग्रहालयको डिपिआरलाई अन्तिम रुप दिन सहयोग पुग्ने नगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताइन्।

थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्कने चित्रले संग्राहलयका भित्तामा सजाइनेछ।  थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता घर, थारू समुदायका पुराना गहना र कपडा संकलन गरेर राखिनेछ।

संग्रहालयमा बडघर, इनार, डिउहार, बगैँचा, माछापोखरी, कृषिका परम्परागत उपकरण, सांस्कृतिक झल्को दिने प्रदर्शनी कक्षसहितको  डिजाइन बनाउन प्राविधिकलाई सुझाव दिइएको पनि उपप्रमुख आचार्यले बताइन्।

नयाँनयाँ प्रविधिको विकास सँगै लोप हँुदै जान थालेका पुराना लोक संस्कृतिहरू नयाँ पुस्तामाझ पुस्तान्तरण गर्नका लागि थारु संग्राहलय स्थापनाको अवधारणा ल्याइएको नगरपालिकाले जनाएको छ।

प्रकाशित: २० श्रावण २०७६ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App