चितवन - विश्व दुर्लभ वन्यजन्तु सूचीमा रहेको एकसिंगे गैंडा कहिले वरपरका बस्तीमा जाने र धनजनको क्षति गर्ने, कहिले गाउँले तथा तस्करहरू जंगल जाने र गैंडा मार्ने हुँदै आएको थियो। यस्तो अनपेक्षित र आपराधिक व्यवहार रोक्ने तथा दुर्लभ एकसिंगे गैंडासहित अन्य वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले २०३० सालमा चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरियो।
चुरे पहाड, राप्ती, नारायणी र रिउ नदीका मुख्य क्षेत्र समेटेर स्थापना गरिएको चितवन राष्ट्रिय निकुञ्ज नौ सय ५२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। वन्यजन्तु संरक्षणको कामलाई अझ प्रभावकारी बनाउन २०५३ मा निकुञ्ज वरपरको सात सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा निकुञ्ज स्थापनाअघिदेखि नै रहेका बस्ती समेटेर मध्यवर्ती क्षेत्र घोषणा गरियो।
निकुञ्ज स्थापना र संरक्षणको प्रयास भए पनि निकुञ्जका वन्यजन्तु निस्केर मध्यवर्ती क्षेत्रका बस्तीमा धनजनको क्षति गर्ने क्रम रोकिएको थिएन। तर पछिल्लो समय भने चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तु बस्तीमा जाने क्रम घटेको छ। विगत वर्षहरूको तुलनामा वनबाट वन्यजन्तु निस्केर बस्ती र खेतबारीमा पुग्ने क्रम घटेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताउँछन्। बालीनाली र सम्पत्ति क्षति भएको भन्दै राहत दाबी गर्दै निवेदन दिने संख्यासमेत घटेको उनले बताए।
‘वन्यजन्तुनिस्केर बस्तीमा जाने घटना कमी भएको छ,’ उनी भन्छन्, ‘गैंडासँगै साना वन्यजन्तु पनि वनबाट सजिलै निस्कदैनन्। ’ आर्थिक वर्ष २०७४/०७५ मा वन्यजन्तुका कारण भएको क्षतिका एक हजार ३४ वटा घटना निकुञ्जमा दर्ता भएका थिए। गत आर्थिक वर्ष २०७५/०७६ मा दुई सय ५६ वटा घटनामात्र दर्ता भएर राहतको माग भएको प्रमुख संरक्षण अधिकृत ढकालले जानकारी दिए। निकुञ्जमा दर्ता भएका दुई सय ५६ घटनामा मानिस मृत्युको १२ र मानिस घाइते भएको ४५ वटा घटना छन् भने घरगोठ क्षतिका १२, भण्डारण गरेको अन्न क्षतिका सात, पशुधन क्षतिका ८० र बालीनाली क्षतिका एक सय घटना छन्।
अघिल्लो वर्ष मानव मृत्युका पाँच, मानिस घाइतेका ३२ घटना भएका थिए भने घरगोठ क्षतिका ९२, भण्डारण गरेको अन्न क्षतिका १९, पशुधन क्षतिका एक सय २० र बालीनाली क्षतिका सात सय ६६ घटना भएका थिए। अघिल्लो वर्षको तुलनामा मानव मृत्यु र घाइतेको घटना बढे पनि अन्य घटनामा भने कमी आएको छ। वन्यजन्तुले मानिसलाई आक्रमण गर्ने, घाइते बनाउने घटना भने मध्यवर्ती क्षेत्र तथा वन क्षेत्रमा धेरै भएको ढकाल बताउँछन्।
‘यो तथ्यांकले पनि वन्यजन्तु वनबाहिर निस्केर बस्तीमा जाने घटनामा धेरै कमी आएको देखाउँछ,’ उनी भन्छन्, ‘खेतबारीमै पुगेर बालीनाली नोक्सानी गर्ने क्रम पनि घटेको देखिन्छ। ’ चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा २२ वटा समिति क्रियाशील छन्। चितवनमा १२ नवलपरासीमा आठ, मकवानपुरमा एक र पर्सामा एकवटा मध्यवर्तीका इकाई समिति रहेका छन्।
पहिलेपहिले बस्तीमा वन्यजन्तु आउन नदिन जंगलक्षेत्रको बाहिरपट्टि खनक (खाडल) खनिन्थ्यो। पछि काँडे तारबार हुँदै विद्युतीय झड्का दिने तारबार (इलेक्ट्रिक फेन्स) निर्माण पनि गरियो। तर विद्युतीय तारबार पनि बिग्रने, झड्का नदिने भएपछि वन्यजन्तु वनबाट बाहिर निस्कने क्रम रोकिएको थिएन। ‘वन्यजन्तुलाई बस्तीमा जान रोक्ने उपाय स्वरूप अहिले केही स्थानमा कंक्रिटको पर्खाल नै बनाउने काम भएको छ,’ चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्लले भने, ‘यस्तै, मेस वायर (जमिनबाट तीन फिट पर्खाल लगाएर माथिबाट जाली लगाउने) पनि बनाउन थालिएको छ। ’
ठूला तथा वन्यजन्तुलाई रोक्न मेस वायर प्रभावकारी देखिएको छ। सौराहापूर्व मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा कंक्रिटका पर्खाल पनि लगाइएका छन्। यसले पहिलेपहिलेको तुलनमा मध्यवर्ती क्षेत्रमा वन्यजन्तु आउने क्रम घटेको मल्ल बताउँछन्। ‘हामीलाई मुख्य समस्या भनेको जंगली हात्ती हुन्,’ उनले भने, ‘तर अहिलेसम्म हात्ती रोकथाम हुनेगरी काम भने गर्न सकिएको छैन। ’
बस्तीमा हात्ती आए समूहमा जम्मा भएर लखेट्ने, दौडाउने, ढ्यांग्र्रो–टिन ठटाएर लखेट्ने हुँदै आएका छ। मानिसलाई जोगाउन हात्ती बस्तीमा आउन लागेको जानकारी दिने साइरन मेसिन पनि केही स्थानमा प्रयोग भइराखेको छ। मध्यवर्ती क्षोत्रमा पहिलेको तुलनामा वन्यजन्तु आतंक केही कम भएको उल्लेख गर्दै उनले भने, ‘बस्ती र बारीमा पसेर धेरै दुःख दिनेमा गैंडा पथ्र्यो, बारीमा आएर धानबाली, सागसब्जी खाइदिन्थ्यो, विद्युतीय तारबारले गैंडालाई वनमै रोक्ने काम ग-यो। ’
साना वन्यजन्तु हरिण, चित्तल, बँदेल आएर खाने चलनलाई जालीले कम भएको उनले बताए। वन्यजन्तुले बढी दुःख दिनेमा चितवनका माडीका चारवटा सामुदायिक वन, मेघौली, पटिहानी र सौराहा क्षेत्र रहेका छन्। अहिले यी सबै स्थानमा वन्यजन्तु निस्कन नदिन विद्युतीय तारबार र मेस वायरलाई प्राथमिकता दिएर पूर्वाधार बनाउने काम अघि बढेको छ।
प्रकाशित: २० श्रावण २०७६ ०२:०१ सोमबार