१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विकराल बन्दै पाठेघर समस्या

रोल्पा– सदरमुकाम नजिकै धवाङगाउँकी २८ वर्षीया कुमारी विकको पाठेघर झरेको करिब आठ वर्ष भयो। पाठेघरको समस्या भोग्दै आएकी उनलाई हिजोआज बस्न समेत असहज हुन्छ।

स्थानीय स्वास्थ्यकर्मीका अनुसार उनको पाठेघर बाहिर निस्किएको छ। रिङ हालेर पनि काम गर्ने अवस्थामा छैन। अप्रेशन गर्नैपर्छ। स्थानीय महिला स्वास्थ्य स्वयसेविका भीमला डाँगी भन्छिन्, ‘दुई वर्ष यता कुमारीको पाठेघर बाहिरै झुण्डिएको छ। जिल्ला अस्पतालले बाहिरी सुविधासम्पन्न अस्पताल लैजाने भनेर रिफर गरेको छ। तर, पैसा नभएकाले समस्या प-यो।’

चरम गरिबीमा रहेको कुमारीको परिवारले थप उपचारका लागि उनलाई राम्रो अस्पताल लैजान सकेका छैनन्। आरनमा फलाम पिटेर गुजारा गर्ने कुमारीका ससुराको एक्लो आम्दानीले खान लाउनसमेत सकस पर्छ। ‘श्रीमानले कुनै काम गर्दैनन्, जाँड, रक्सी खाने मात्र हो। मातेर घर आउँछन् अनि काम नगरेको भन्दै मलाई पिट्छन्,’ कुमारीले भनिन्। उनका १२ वर्षीया छोरी र ८ वर्षीय छोरा छन्। उनका अनुसार दोस्रो सन्तान जन्मिए पछि समस्या सुरु भएको हो। ‘तेस्रो बच्चा बिग्रिएपछि साह्रै गाह्रो हुन थालेको छ,’ उनले भनिन्, ‘हिँड्ने बेलामा पनि दुख्छ। सक्ने भए त काम गरेर दुईचार पैसा कमाउने थिएँ। श्रीमानले जहिले पनि बसेर खान्छेस् भन्दै पिट्ने गर्छन्।’

गर्भवती समयमा स्वास्थ्य जाँच समेत नगराएकी उनले दुवै बच्चा घरमै जन्माएकी थिइन्। १५ वर्षमा बिहे गरेकी कुमारीको १६ वर्ष उमेर नपुग्दै छोरी जन्मिएको थियो। बालविवाह अनि सानैमा बच्चा जन्माएपछि पाठेघरको समस्या भोग्ने कुमारीजस्ता सयौँ रोल्पाली आमाहरू आज पनि पाठेघर झुण्डाएर नारकीय जीवन बिताइरहेका छन्।

रोल्पा जिल्ला अस्पतालमा स्त्रीरोग विशेषज्ञ डाक्टर र अप्रेशन सुविधा नहुँदा सयाैं महिला आर्थिक अभावमा रोग दबाएर बसिरहेका छन्। ‘रोल्पामा प्रजनन उमेर समूहका महिलामा पाठेघरको मुखको समस्या पनि बढी छ। त्यस्तै सानो उमेरमा बच्चा जन्माउने संख्या धेरै भएका कारण योनाङ्गको समस्या पनि उत्तिकै छ,’ जिल्ला अस्पतालका डा. अनिल केसी भन्छन्।

सानो उमेरमा बच्चा जन्माउनु, गर्भवती भएको समयमा गह्राैं भारी उचाल्नु, नियमित स्वास्थ्य जाँच नगराउनु र घरमै बच्चा जन्माउने गर्दा पाठेघरसम्बन्धी समस्या देखा पर्ने चिकित्सकहरू बताउँछन्।

प्रकाशित: १९ श्रावण २०७६ ११:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App