काठमाडौं- निकुञ्ज तथा संरक्षित क्षेत्रका वन्यजन्तुलाई राजमार्ग क्षेत्र जोखिम बन्दै गएको छ। राजमार्गमा आवतजावत गर्ने सवारीसाधनको ठक्करबाट वन्यजन्तु घाइते र मर्ने क्रम बढिरहेको छ।
आर्थिक वर्ष २०७५/०७६ मा देशका विभिन्न निकुञ्ज तथा संरक्षित क्षेत्रहरुमा ४९९ वन्यजन्तुको मृत्यु भयो। त्यसमध्ये सडक दुर्घटनाबाट मात्रै ११९ वन्यजन्तु मरे।
त्यस्तै २०७३/०७४ मा मरेका ३२६ वन्यजन्तुमध्ये १३३ को मृत्युको कारण सडक दुर्घटना थियो। २०७४/०७५ मा ३९१ मध्ये १२४ सडक दुर्घटनाका कारण मरे।
सबैभन्दा बढी बँदेल, चित्तल र बाँदर सडक दुर्घटनाको उच्च जोखिममा छन्। गत आर्थिक वर्षमा एउटा पाटेबाघको समेत सडक दुर्घटनामा परी मृत्यु भयो। चित्तल २९, बँदेल २४, बाँदर २२, चितुवा २, जरायो ४, रतुवा १, स्याल ६, नीर बिरालो ४, नीलगाई २, चौका ३, दुम्सी ५, खरायो २, अजिंगर १, गोहोरो २, न्याउरी मुसा १, लोखर्के १, अन्य ९ को सडक दुर्घटनामा परी मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णु श्रेष्ठले जानकारी दिए।
आर्थिक वर्ष २०७५/०७६ मा सवारीसाधनको ठक्करबाट मात्रै ११९ वन्यजन्तु मरेका छन्।
सडक दुर्घटनाको जोखिम बाँके, बर्दिया, शुक्लाफाँटा र चितवन राष्ट्रिय निकुञ्जमा बढी छ। बाँकेको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर–सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग छ। राजमार्गले घेरिएका कारण पनि निकुञ्जका वन्यजन्तुलाई राजमार्ग क्षेत्र जोखिम बनेको हो। तीव्र गतिमा आउने सवारीसाधनको ठक्करबाट वन्यजन्तु घाइते र मर्ने गरेका छन्।
बाँके निकुञ्ज सुक्खा निकुञ्ज भएकाले पनि पानीका लागि वन्यजन्तु सडक वारपार गरिरहन्छन्। दुर्घटनाको अवस्था हेर्दा सुक्खा मौसममा अझ बढी वन्यजन्तु दुर्घटनामा पर्ने गरेको बाँके निकुञ्जले जनाएको छ।
पानी नहुँदा निकुञ्जबाट जनावरहरू बाहिर निस्कने भएकाले मानवीय क्षति हुने तथा मानिसले प्रतिकार गर्दा जनावर मारिने घटना पनि हुने गरेका छन्।
वन्यजन्तुविद् डा. भगवानराज दाहालले वन्यजन्तुको सहज आवतजावतका लागि वैकल्पिक मार्ग आवश्यक भएको बताउँछन्। ‘वन्यजन्तु वारपार गर्नका लागि राजमार्गमा अण्डरपास र ओभरपासको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘अन्य मुलुकमा यस किसिमका अभ्यासहरु भएका छन्, यहाँ सम्भव नहुने भन्ने छैन।’
राजमार्ग माथिबाट वन्यजन्तु हिँड्ने बाटोलाई ‘ओभर पास’ र तलबाट हिँड्ने बाटोलाई ‘अण्डर पास’ भनिन्छ। नेपालमा यस किसिमका अभ्यासले खासै प्राथमिकता पाएको छैन।
‘सबैभन्दा बढी सडक दुर्घटनाकै कारण वन्यजन्तुमा क्षति पुग्ने गरेको देखिन्छ,’ उनले भने, ‘यसमा गहिरिएर अध्ययनअनुसन्धान गर्दै अण्डरपास र ओभरपासको व्यवस्था गर्न सकियो भने जैविक विविधतामा ठूलो टेवा पुग्छ।’
अन्य कारणले वन्यजन्तु मर्दा हो–हल्ला धेरै हुने तर, सडक दुर्घटनालाई भवितव्य मान्ने कारणले गर्दा पनि समस्या देखिएको हो। अहिले भने वैकल्पिक मार्गका विषयमा योजना बनाउन थालिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा. रामचन्द्र कँडेलले बताए।
बर्दियामा सडक दुर्घटना न्यूनीकरणका लागि टाइमकार्ड लागू गरिएको छ। बाँकेमा पनि त्यस किसिमको अभ्यास गरिएको थियो। तर, त्यो सफल भएन।
बाँकेमा ‘क्रसिङ’ झोलुंगे किसिमको डोरी बनाउन थालिएको छ। ‘बाँदरबाट सुरुवात गर्न थालिएको छ,’ कँडेल भन्छन्, ‘डोरीको सहायताले बाटो वारपार गर्न सकून् भन्ने उद्देश्यले योजना बनाइएको हो।’ त्यस्तै विभिन्न क्षेत्रमा सिसि क्यामरा राखेर निगरानी पनि गर्ने गरिएको उनको भनाइ छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा दुईवटा अण्डर पास बनाइएको छ। अन्य क्षेत्रमा पनि ओभरपास र अण्डरपासको व्यवस्था गर्ने तयारी भइरहेको छ। त्यस्तै पथरैया–हेटौडा–नारायणगढ र नारायणगढ–मुग्लिन सडक खण्डमा ओभरपास र अण्डरपासको व्यवस्थाका लागि योजना बनाइएको वन्यजन्तु संरक्षण विभागले जनाएको छ।
‘सिँचाइ र सडक आयोजनाको काम गर्दा वन्यजन्तुमैत्री बनाउने विषयमा पनि समन्वय भएको छ,’ उपमहानिर्देशक कँडेल भन्छन्, ‘साथै वन्यजन्तुका लागि गाइड फ्रेम बनाउने र अण्डरपास, ओभरपासको व्यवस्था गर्ने योजना बनेको छ।’
प्रकाशित: १७ श्रावण २०७६ ०७:१६ शुक्रबार