पुरानो साथीलाई स्वीस सरकारका तीन उपहार
दोलखा– स्वीस सरकारले भुइँचालोमा नराम्ररी थलिएको आफ्नो ६६ बर्षदेखिको पुरानो मित्रलाई सम्झना वापत ३ उपहार छाडेको छ।
दोलखामा ५ दशकसम्म लगानी गरेर १० बर्षअघि फर्किएको स्वीस सरकारले भूकम्पपछि भत्किएका दुई सांस्कृतिक सम्पदा, एउटा शिक्षालय र हिडँडुल गर्ने बाटो गरेर ३ थरी संरचनामा २९ करोड लगानी गरेको छ।
उसले लगानी गरेका तीन क्षेत्रका चार संरचनामध्ये तीन वटाको काम सम्पन्न भइसकेको छ भने मानिससँगै पर्यटक आउजाउ गर्ने एउटा पैदल मार्गको काम अन्तिम चरणमा पुगेको छ। २०१० सालदेखि दोलखामा लगानी गरेको स्वीसले २०६६ सालमा दोलखा छाडेको थियो। भूकम्पपछि भत्किएका संरचनामा लगानी गर्न फर्किएको उसले प्राचिन नगरी दोलखा शहरमा दुई ओटा ऐतिहासिक मन्दिर, देशकै पुरानो मध्येको जिरी प्राविधिक शिक्षालय र रोल्वालिङ पदमार्गको पुनर्निर्माणमा २९ करोड खर्च गरेको हो।
दोलखा शहरका प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिर, तलेजु भवानी मन्दिर र पर्यटकीय नगरी जिरीस्थित जिरी प्राविधिक एक महिना अघि पुनर्निर्माण सकिएको छ। पुनर्निर्माण सकिएका यी संरचनाहरु नेपालका लागि स्वीजरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापलरले भिमेश्वर नगरपालिका र जिरी नगरपालिकालाई हस्तान्तरण गरिसकेकी छिन्। यस्तै पर्यटकीय क्षेत्र रोल्वालिङ उपत्यका साथै च्छोरोल्पा हिमतालसम्म पुग्ने पैदल मार्ग निर्माणको काम समेत अन्तिम चरणमा पुगेको छ।
पहिलेकै परम्परागत स्वरुपमा निर्माण भएको त्रिपुरासुन्दरी र तलेजु को मन्दिरको पुनर्निर्माणका लागि स्वीस सरकारले करिब ८ करोड रुपैंया खर्च गरेको थियो। यस्तै जिरी प्राविधिक शिक्षालयका लागि १२ करोड र रोल्वालिङ पदमार्गका लागि ९ करोड रुपैंया लगानी भएको स्वीस दूतावासका अधिकारीहरुले बताएका छन्।
जिरी प्राविधिक शिक्षालय ३६ बर्षअघि स्वीस सरकारले नै स्थापना गरिदिएको थियो। भुइँचालोमा शिक्षालयका ५० वटै भवन भत्कियो। स्थानीयले स्वीस दूतावासमा पुनर्निर्माणका लागि आग्रह गरे। स्वीस सरकारले आफूले विस २०१० सालदेखि लगानी गरेको ठाउँलाई पुनः सम्झियो र पुनर्निर्माणमा हात हाल्यो। हाल १२ करोड लगानीमा ८ वटा ठूला भवन निर्माण भएका छन्। १० हेक्टर जमिन रहेको शिक्षालयमा ५० वटा भवन बनाउने गुरुयोजना समेत स्वीस सरकारले बनाएको थियो। त्यसका लागि एक अर्ब लागत चाहिने अनुमान गरिएको थियो। तर पहिलो चरणमा भन्दै १२ करोड रुपैंयाको लागतमा भवन बनाउने सम्झौता स्वीस सरकारले शिक्षा मन्त्रालयसँग गरेको थियो। देशकै अब्बल प्राविधिक शिक्षालयका रुपमा विकास गर्नका लागि उक्त गुरुयोजना अनुसार स्वीस सरकारले यो शिक्षालयलाई थप सहयोग गर्नेमा स्थानीय ढुक्क छन्।
अनि पुरानो मित्र सम्झियो...
दोलखामा स्वीस सरकारले विस २०१० सालदेखि लगानी गरेको थियो। यसको सुत्राधार थिए स्वीजरल्याण्डका भुगर्वविद टोनी हेगन। राणा शासनदेखि नै नेपालमा खानीहरुको अध्ययन गर्न आएका हेगन जिरी पुगेपछि जिरी उपत्यकाको उक्त भुगोल स्वीजरल्याण्डको ज्युरिच सहरसँग मिल्दुजुल्दो देखेपछि यहाँको सम्भावनाबारे आफ्नो देशको सरकारलाई रिपोर्ट बुझाएका थिए। लगत्तै तत्कालिन राजा महेन्द्रले स्वीजरल्याण्ड सरकारलाई जिरीको विकासका निम्ति सहयोग गर्न सरकारको तर्फबाट औपचारिक प्रस्ताव पठाएपछि २०१० सालमा जिरीमा स्वीस सरकारको सहयोगमा चिज कारखाना खुलेको थियो। जिरी बहुमुखी क्याम्पसका प्रमुखसमेत रहेका दोलखा १ का पूर्व निर्वाचित सांसद ईन्द्रबहादुर खड्काका अनुसार चिज कारखाना लगत्तै २०१५ सालमा स्वीसकै लगानीमा पशु विकास फार्म खुल्यो। ‘त्यसपछि यो क्षेत्रको विकास र सम्वर्द्धनका लागि सहयोगहरु धमाधम ओइरिए’, खड्काले भने। जिरी बहुउद्देश्यीय विकास परियोजना नै बनाएर जिरी आसपासमा सहयोग सुरु भयो। स्वीसकै लगानीमा २०४० सालमा लामोसाँघु–जिरी सडक बन्यो।
जिरीलाई आफ्नै देशको भौगोलिक बनावटसँग मिल्दोजुल्दो देखेपछि मन पराएको स्वीस त्यसपछि सिङ्गै जिल्लासंग आकर्षित बन्न पुग्यो र धमाधम लगानी ओइर्यायो। २०३२ सालमा सघन पहाडी विकास परियोजना (आईएचडीपी) लागु गरेर जिल्लाभर शिक्षा, खानेपानी र स्वास्थ्यमा लगानी बढायो। २०४७ सालबाट ग्रामीण स्वास्थ्य विकास परियोजना र सामुदायिक वन परियोजनाजस्ता ठूला आयोजना जिल्लामा चले।
यसरी दोलखामा पूर्वाधार विकासमा काम गर्दै आएको स्वीस सरकारको कार्यशैलीसँग विस्तारै जिल्लाको राजनीतिक नेतृत्वले असन्तोष प्रकट गर्न थाल्यो। प्रतिफल नदेखिएका स–साना काममा सहयोग गरेको र अन्य परियोजना भित्रिन अवरोध पुर्याएको आरोप लाग्न थालेपछि स्वीस सरकारले २०६४ मा दोलखाबाट फर्किने निधो गर्यो। अन्य कारण भए पनि उसले दोलखा जिल्ला आर्थिक उन्नतितिर लम्किँदै गरेको, अन्य आयोजना, विकास पूर्वाधारसमेत धमाधम भित्रिदै गरेको भन्दै ५६ बर्ष काम गरेको दोलखा जिल्लाबाट फर्किने निधो गर्यो। दुई बर्षपछि २०६६ मा दोलखा छाडेर फर्कियो।
त्यसयता दोलखा नफर्किएको स्वीस सरकारले भुइँचालो लगत्तै दोलखा आएर तीन वटा उपहार छाडेको छ। स्वीस विकास नियोग र दूतावासमा सुशासन अधिकृत पदमा बसेर २६ बर्ष काम गरेका बलराम श्रेष्ठका अनुसार आफ्नो पुरानो सम्बन्धलाई निरन्तरता दिने उद्देश्यले स्वीसले भूकम्पलगत्तै दोलखा फर्किएको थियो। ‘युनेस्कोको रिपोर्टमा भत्किएका सम्पदाको सूचीमा दोलखा शहरका मठ मन्दिर समेत देखिएपछि तलेजु भवानी र त्रिपुरासुन्दरी निर्माण गर्ने निर्णयमा दुतावास पुगेको थियो’, उनले भने, ‘यस्तै आफूले काम गरेको जिल्लाका भूकम्प पीडित नागरिकलाई रोजगारी होस भनेर रोल्वालिङ पदमार्ग बनाइएको थियो।’